|

काठमाडौं :  मगर साहित्यका आदिकवि जीतबहादुर सिञ्जाली मगरको नामबाट स्थापित जीबसिम भाषा साहित्य पुरस्कार स्याङ्जाका सन्देश मगर र बाग्लुङका लक्ष्मण घर्ती मगरलाई प्रदान गरिने भएको छ। जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानले मगर भाषा साहित्यमा उत्कृष्ट कृति, श्रष्टा र मगर समाजमा योगदान पुर्‍याउने व्यक्तिलाई वार्षिक रुपमा प्रदान गर्दै आएको जीबसिम साहित्य पुरस्कार–२०७३, चित्रेभञ्ज्याङ, स्याङ्जा निवासी सन्देस मगरलाई र जीबसिम नवप्रतिभा साहित्य पुरस्कार–२०७३, निसी–२, बागलुङ निवासी लक्ष्मण घर्ती मगरलाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष सञ्जोग लाफा मगरले जानकारी दिए।  

जीबसिम साहित्य पुरस्कार–२०७३ को पुरस्कार राशी ६० हजार रुपैयाँ रहेको छ। यस पुरस्कार हरेक वर्ष ५ हजार रुपैयाँले वृद्धि गर्दै लगिएको छ। सन्देश मगरले मगर भाषामा कविता संग्रह 'बिकोलेसा' (दुख्दो रहेछ–२०५६) र मुक्तक संग्रह 'आर्मिटमा' (सम्झना–२०६७) लेखेका छन्। जीबसिम नवप्रतिभा साहित्य पुरस्कार–२०७३ को राशी १० हजार रुपैयाँ  रहेको छ। लक्ष्मणले १८ कविता रहेको मगर खाम भाषाको कविता संग्रह 'रिहित्ला' (पैताला) लेखेका छन्। 

यसैगरी प्रतिष्ठानले जयबहादुर हितान मगर स्मृति पुरस्कार–२०७३, हिरासिंह थापा (सामेसेन) मगरलाई प्रदान गर्ने निर्णय गरेको छ। जसको राशी ३० हजार रुपैयाँ रहेको छ। नेपाल मगर संघ, जिल्ला समिति काठमाडौंको एकदशक नेतृत्व गरेका शब्दकोशकार हिरासिंह थापा (सामेसेन) मगर, मगर जातिको उत्थान र भाषा, संस्कृति, इतिहास सम्बन्धी अध्ययेता हुन्। चारदशक अनवरत लेखनपछि 'मगर (ढुट)–खस–अंग्रेजी आखर गोमहोक' (मगर (ढुट)–खस–अंग्रेजी शब्दकोश) मगर वृहत शब्दकोषका संकलक र लेखक हुन्।

आगामी चैत ३० गते काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिने प्रितष्ठानका अध्यक्ष लाफाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.