पार्टी एकताप्रति एमालेमा दुई धार

|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतामा समान हैसियत खोजेपछि एमाले–माओवादी एकता जटिल बन्दै गएको छ।

यही कारण प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको भारत भ्रमणअघि पार्टी एकता लगभग टरेको स्रोतको दाबी छ। तर पार्टी एकता भने कुनै हालतमा नरोकिने माओवादी स्रोतले बतायो।

माओवादी अध्यक्ष प्रचण्डले केही दिनअघि पार्टीको भ्रातृ संगठन अखिल क्रान्तिकारीको प्रशिक्षण कार्यक्रममा पार्टी एकताका क्रममा सम्मानजनक एकता हुने बताएका थिए। 'उनको भनाइको आसय एकतामा माओवादीले एमालेसँग समान हैसियत खोजेको बुझ्न सकिन्छ', अखिल क्रान्तिकारीका एक नेताले भने।

तर एमालेले भने आफूहरू निर्वाचनपछि पहिलो पार्टी भएको र माओवादी तेस्रो पार्टी भएकाले समान हैसियतमा एकता गर्न नमानेको स्रोतको दाबी छ। माओवादीका नेताले भने सम्मानजनक एकता भनेको एउटा सानो र एउटा ठूलो भन्ने नभई बराबरी भएर गर्नुपर्ने बताउँदै आएका छन्।

सांगठनिक प्रतिवेदन मस्यौदा समितिमा पनि एमालेतर्फका नेताहरूले चुनाव चिह्न सूर्य राख्नुपर्ने अडान राखेका थिए। सूर्य चिह्न जनताको मनमनमा बस्न सफल भएको भन्दै कार्यदलमा सम्मिलित एमाले नेताहरूले सूर्य चिह्न नै चुनाव चिह्न राख्नुपर्ने अडान राखेका छन्।

तर माओवादी नेताहरूले भने हँसिया-हथौडा र सूर्य नभई नयाँ चिह्न राख्नुपर्ने प्रस्ताव राखेका थिए। यस्तै, पार्टीको दस्तावेजमा माओवादीको १० वर्षे सशस्त्र युद्धलाई ‘जनयुद्ध’ भनेर राख्नुपर्ने प्रस्ताव गरेका थिए। यसमा एमालेका नेताहरू सहमत देखिएनन्। यस कारण एमालेले एकता नचाहेको हो कि भन्नेमा माओवादी सशंकित भएको स्रोतले बतायो। तर यी विषयलाई एकता संयोजन समितिको बैठकमा लगेर टुंगो लगाइने बताइएको छ।

यी विषयमा एमाले सहमत हुने सम्भावना न्यून रहेको माओवादी केन्द्रका एक केन्द्रीय कार्यालय सदस्यले जानकारी दिए। उनले एकता भनेको कुनै पार्टीमा विलय हुनु नभई पार्टी नयाँ बन्ने प्रक्रिया भएकाले दुवै पार्टीबाट समान सहभागितामा एकता हुनुपर्ने बताए। त्यही आधारमा प्रचण्डले पनि एकता ५०/५० प्रतिशतको आधारमा हुनुपर्ने उल्लेख गरेको ती नेताले बताए।

उनले भने, ‘पार्टी एकत भनेको सम्मानजनक नै हुनुपर्छ। एकताको मन्यता नै सम्मानजनक हो। एउटा सानो र एउटा ठूलो र अर्को सानो भनेको सम्मानजनक हुँदैन।’ उनले एकता भनेको प्रविधिक हल नभएको बताए। भने, ‘एकता भनेको प्रविधिक हल होइन, गठबन्धन गर्दा प्रविधिक हल खोज्नुपर्छ। एकता भनेको सैद्धान्तिक वैचारिक एकरूपता हो। त्यसमा संख्या गनिँदैन।’

पार्टी एकता हचुवाको भरमा गर्न नहुने पनि माओवादीभित्र यतिबेला बहस चल्न थालेको बताइएको छ। सम्मानजनक एकता भएमा मात्र एकता प्रक्रियामा सहभागी हुन माओवादीका कार्यकर्ताले नेतृत्व तहमा दबाब दिन थालेको स्रोतले बतायो। माओवादीको गहनाका रूपमा रहेको जनयुद्धलाई स्वीकार्न नसके एकताबाट पछि हट्न नेतृत्वमाथि माओवादीमा दबाब बढ्न थालेको छ।

माओवादी नेताहरूले चुनाव चिह्नका विषयमा खासै सौदाबाजी गर्नुपर्ने ठाउँ नभएको बताएको माओवादीका एक प्रभावशाली नेताले बताए। ‘चुनाव चिह्नमा खासै असन्तुष्टि राख्नुपर्ने ठाउँ छैन तर पनि नयाँ पार्टी बन्ने हुँदा चुनाव चिह्न पनि फरक नै हुनुपर्छ भन्ने हाम्रो कुरा हो', उनले भने, 'यसमा खासै विवाद नझिके हुन्छ। एकता गर्दा वैचारिक स्पष्टता भने हुनुपर्छ अनि मात्र एकता लामो समयसम्म टिक्छ।’

तर पार्टी एकता गर्दा एमालेले भने चुनावी गठबन्धनमा जस्तै ६०/४० चाहेको स्पष्ट रहेको माओवादी नेताहरू बताउँछन्। एमाले नेताहरूले भने प्रचण्डको प्रतिक्रियालाई कार्यकर्तालाई आश्वस्त पार्न बोलिएको रूपमा लिएका छन्।

माओवादी नेता देव गुरुङले भने प्रचण्डले भनेजस्तै सम्मानजनक एकता हुने दाबी गरे। उनले भने, ‘पहिला नै समान सहभागितामा एकता हुने गरी सहमति भएको छ। यसमा अनावश्यक बहस जरुरी छैन।’

पार्टी एकतामा ५०/५० प्रतिशत हुनुपर्ने अडानका कारण आएको विवाद समान्य रहेको माओवादी नेता अग्नि सापकोटा बताउँछन्। उनी भन्छन्, ‘एकता सम्मानजनक गर्नुपर्ने हाम्रो माग हो। तर यो विषय खासै विवादको विषय होइन। यो छलफलबाट मिलाइन्छ। एकतामा यसले खासै असर पार्दैन।’

तर प्रधानमन्त्रीको भारत भ्रमणअघि एकता घोषणाको सम्भावना न्यून रहेको उनले बताए। ‘आज राजनीतिक प्रतिवेदन मस्यौदा कार्यदलले रातीसम्म लगाएर भए पनि प्रतिवेदनको अन्तिम टुंगो लगाउँछ। त्यसपछि भोलि एकता संयोजन समितिको बैठक बस्छ', उनले भने, 'सकेसम्म हामी प्रधानमन्त्रीको भारत भ्रमणअघि नै एकता गर्ने कोसिस गर्छौं नभए उहाँ आएपछि गर्छौं।’

पार्टी एकताप्रति एमालेमा दुई धार

एमालेमा लामो समयदेखि गुटगत राजनीति चल्दै आएको छ। एमालेमा उपगुट पनि धेरै नै छन्। तर एमाले र माओवादीको एकताका बारेमा भने दुई गुट देखापरेका माओवादीका एक केन्द्रीय कार्यालय सदस्यले बताए। उनका अनुसार एमालेमा आफूहरू ठूलो पार्टी भन्दै घमण्ड गरेर ५०/५० प्रतिशतको आधारमा एकता नचाहने र अर्को पक्ष माओवादीसँग कुनै पनि हालतमा एकता गर्नुपर्छ भन्ने पक्ष रहेको ती नेताले बताए।

उनका अनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली समूहमा केही नेताले एमाले–माओवादी एकता माओवादीमा विलय हुनु सम्झेको र ओली समूहकै केही नेता भने माओवादीसँग कुनै पनि हालतमा एकता गर्नुपर्ने पक्षमा रहेका छन्।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेताहरू भने माओवादीसँग कुनै पनि हालतमा पार्टी एकता गर्नै पर्छ भन्ने पक्षमा रहेका छन्। माओवादीका ती नेताले भने, ‘पार्टी एकताका सन्दर्भमा एमालेभित्र दुई तप्का छन्। एउटाले एकता चाहन्छ, अर्कोले माओवादी एमालेमा विलय भएको सम्झन्छ। तर हामी एमालेमा विलय हुन जाने होइन। गठबन्धन जस्तो भागबन्डा पनि गर्दैनौँ।’

एमालेमा रहेको एकतामा नकारात्मक देखिएको त्यो पक्ष भने अहंकारी र घमण्डी रहेको उनले दाबी गरे। ‘एमालेभित्र रहेको एउटा गुटले धेरै घमण्ड गर्छ। त्यहाँ अहंकारी तत्त्व छ। उसले आफू पहिलो पार्टी हो भन्ने घमण्ड गरिरहन्छ तर आफू के कारणले पहिलो भएँ भन्नेचाहिँ सोच्दैन। अर्को पक्षले यही सोचेर एकतालाई तत्काल टुंग्याउन खोजिरहेको छ’, ती नेताले भने, ‘चुनावी गठबन्धन गर्दा एकताको नारा नलगाएको भए एमाले दोस्रो नै हुन्थ्यो, पहिलो पार्टी त कांग्रेस नै हुन्थ्यो भन्ने त्यो पक्षले बुझेकै छैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.