हिरासतसम्म निर्माता, तिराइयो ११ लाख

|

काठमाडौं : केही समययता फिल्म 'कृ'मा समावेश 'उकालीमा पछिपछि' बोलको गीत चोरी भएको र त्यसमा परेको मुद्दा चर्चाको विषय बनेको छ। शम्भु प्रधान निर्देशित फिल्म 'सम्झना'मा समावेश उक्त गीतलाई रिमेक गरी 'कृ'मा समावेश गरिएको थियो।

आफ्नो फिल्मको गीत विना अनुमति प्रयोग गरेको आरोपमा 'कृ' निर्मता सुवास गिरीसँग क्षतिपूर्तिको माग गर्दै निर्देशक प्रधानले फागुन २५ मा प्रहरी परिसरमा मुद्दा दर्ता गराए। निर्देशक प्रधानले फिल्मको कारोवारको ५० प्रतिशत क्षतिपूर्ति स्वरूप आफूलाई दिनुपर्ने माग अघि सारेका थिए।  

मुद्दा दर्ता गर्नका लागि संगीत सर्जक पनि चाहिने भएपछि शम्भु संगीत सर्जक रंजित गजमेरको साथ प्रहरीमा उजुरी दर्ता गराउन गए। उजुरी दर्तापछि पनि प्रहरीले उनीहरूलाई आपसी मेलमिलाप गरेर आउन सुझाए। तर उनीहरू दुवै पक्षले त्यस कुरामा सहमति गर्न सकेनन्।

निर्माता सुवास गिरी र भुवन केसी निर्देशक प्रधानले माग गरेको कुरामा सहमति हुन नसकेपछि फिल्म प्रदर्शनका लागि जापान गए।

जापानबाट फर्किएपछि गीत चोरीकै आरोपमा मंगलबार निर्माता सुवास गिरी प्रहरी नियन्त्रणमा परे। थप अनुसन्धानका लागि भनेर बोलाइएका सुवासलाई प्रहरीले जबर्जस्ती थुनामा राख्यो। १७ घण्टा हिरासतमा बसेका सुवास गिरी बुधबार दिउँसो हिसासतबाट बाहिर आइसकेका छन्।  

नसोधिनु नै गल्ती

फिल्म 'सम्झना'मा समावेश उक्त गीतमा भुवन केसी फिचरिङ थिए। उनले आफू अभिनित गीत आफैँले प्रयोग गर्दा फरक नपर्ने सोचसहित उक्त गीतलाई आफूले निर्माण गरेको फिल्म 'कृ'मा समावेश गराए। सोधेर मात्र प्रयोग गर्ने सोचले भुवन र सुवासले शम्भु प्रधानसँग सल्लाह गर्न खोजे तर समयको अभाव र अन्य केही कारण उनीहरूले प्रधानसँग सल्लाह गर्न सकेनन्।

सम्झना फिल्मको एक लाइन मात्र कृमा समावेश थियो। 'उकालीमा पछिपछि ओरालीमा अघिअघि'। यही शब्द र लयलाई प्रयोग गरी रिमेक गर्न संगीतकार अल्मोडा राना उप्रेतीलाई लगाइयो। उनले रिमेक गरे तर संगीतकारको नाममा आफ्नो नाम राखे। त्यही उनको गल्ती देखियो।

 हिरासतमा परे सुवास, बचे भुवन

फिल्मका निर्माता भुवन केसी पनि भए पनि गीत चोरीको मुद्दा सुवास गिरीमाथि परेको थियो। गीत चोरीको मुद्दा प्रहरीमा दर्ता भएपछि प्रहरीले निर्माताको नाम पत्ता लगाउन चलचित्र विकास बोर्डलाई एक पत्र लेख्यो। 'कृ' सुवास गिरीको नाममा दर्ता थियो। त्यसैले निर्माता सुवास गिरी मात्र रहेको उल्लेख गर्दै विकास बोर्डले पत्र फर्कायो।

प्रहरीले विकास बोर्डबाट उक्त पत्र पाएसँगै निर्माता सुवास गिरीलाई फलो गरेको थियो। फिल्मलाई जापानमा प्रदर्शनका लागि गएका सुवास जापानबाट फर्किएपछि प्रहरीको अनुसन्धानमा परे। उक्त उजुरीमा थप अनुसन्धानका लागि भन्दै सुवासलाई प्रहरी पसिसरमा डाकियो। ठाडो आदेश आएको भन्दै जबर्जस्ती हिरासतमा रखियो।

११ लाख तिरेर हिरासत मुक्त सुवास

हिरासतमा परेका सुवास ११ लाख क्षतिपूर्ति तिरेर बाहिरिएका छन्। निर्देशक शम्भु प्रधानले माग गरेअनुसारको क्षतिपूर्ति तिरेर उनी बाहिरिएका हुन्। क्षतिपूर्ति नतिरे उनलाई थप २४ दिन हिरासतमा राखेर अनुसन्धान गरिने भनेपछि सुवासले आफ्नो प्रतिष्ठाका लागि भए पनि ११ लाख रुपैयाँ तिरेर बाहिरिएको बताउँछन्।

पैसाको लागि शम्भुको खेल, गरियो यस्तो ब्ल्याकमेलिङ

सम्झना निर्देशक शम्भु प्रधानले आफ्नो गीत नसोधी प्रयोग गरेकाले उनीहरू सजाय दिने एक अन्तर्वार्तामा बताएका थिए। उनले भनेका थिए, 'मलाई एक रुपैयाँ चाहिँदैन तर गल्ती गर्नेले सजाय भोग्नुपर्छ।'

तर यहाँ ठीक उल्टो देखिएको छ। शम्भुले सुरुमा २१ लाख दिए मिल्ने र हिरासत मुक्त गर्ने बताए। पछि आन्तरिक सहमतिमा ११ लाखमा कुरा मिलाइयो। सुवास आफूले ११ लाख रुपैयाँ जबर्जस्ती तिरेको बताउँछन्।

सुवासलाई पैसा तिरे हिरासत मुक्त गरिने नत्र थप २४ दिन हिरासतमा नै राखिने दबाब दिइयो। सुवासले फिल्म सम्झनाको निर्माण संस्थाको नाममा चेक काटिदिने भन्दा पनि उनलाई त्यो कुरा गर्न दिइएन। शम्भु प्रधानको व्यक्तिगत नाममा चेक काट्नका लागि आफूलाई बारम्बार दबाब दिइएको निर्माता गिरी बताउँछन्।

सम्पर्कविहीन छन् अल्मोडा

अल्मोडा राना उप्रेती अहिले सम्पर्कमा छैनन्। धेरै गीत चोरीको आरोपमा परेका अल्मोडा यस गीतको संगीतकारको रूपमा रहेका छन्। निर्माण युनिटले उनीसँग सम्झौता गरेर यो गीत किनेको छ।

त्यसैले निर्माण युनिटले यस विषयमा अल्मोडासँग पनि समझदारी गर्न खोजिरहँदा अल्मोडा भने सम्पर्कविहीन छन्। निर्माता सुवास भन्छन्, 'हामीले अल्मोडालाई फोन गरिरहेका छौँ तर सम्पर्क हुन सकेको छैन।'

अब के?

आफू हिरासतमुक्त भएपछि बिहीबार निर्माता सुवास गिरीले पत्रकार सम्मेलन गरेका छन्। अन्यायमा परेको भन्दै उनी आफू न्यायका लागि लडिरहने बताउँछन्। भन्छन्, 'मलाई जबर्जस्ती हिरासतमा राखिएको छ। यसको न्याय मैले पाउनुपर्छ। न्यायको लागि म लडिरहनेछु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.