|

दार्चुला : महाकाली नदीमा भारतले एकतर्फी लगाएका पुल र त्यसलाई लिएर नेपालका स्थानीयले जनाएको प्रतिक्रियाले पछिल्लो समय स्थानीयमा त्रास पैदा भएको छ। पुलबारे भारत सरकार र नेपालका स्थानीयबीच बढेको विवादले व्याँस गाउँपालिका १ का स्थानीयलाई मर्का पर्न सक्ने त्रासको वातावरण उत्पन्न भएको वडाध्यक्ष अशोकसिंह बोहराले बताएका छन्।

समयमै पुल नबन्ने हो र विवाद रहिरहने हो भने स्थानीयले दुःख पाउन सक्ने मोति महिला संघ आधारभूत विद्यालय तिंकरका प्रधानाध्यापक चमकसिंह तिंकरीले बताए।

सीमा नदीमाथि लगाइएका पुलको कारण भएका विवादका कारण स्थानीयले समस्या भोग्नु पर्ने स्थिति आउन सक्ने स्थानीय बताउछन्। भारतीय बाटो भएर बसाइँ सर्नुपर्ने भएकाले मात्रै नभएर भारतबाट नेपाल तर्न पुल नबन्ने हो भने पनि कुञ्चा सर्ने बेला स्थानीयले दुःख पाउने  स्थानीयको भनाइ छ।

सीमा विवाद बढ्दा भारतीय पक्षबाट सीमा सुरक्षामा बसेका सीमा सुरक्षा बल (एसएसबी) लगायत अर्ध सैन्य दस्ताले नेपालीलाई चेकजाँचका नाममा अनावश्यक दुःख दिने गर्छन्। बेला बेला हुने विवादमा भारतीय अर्धसैन्य दस्ताले नेपालीलाई दिने दुःख दोहोरिने हो कि भन्ने त्रासमा पनि नेपालीहरू छन्।

भारतले पुल लगाउने र नेपालका स्थानीयले भत्काउने कार्यले निकट भविष्यमा हुन लागेको व्याँसी सौका समुदायको बसाइँ सराईमा असर पर्न सक्ने भन्दै सरोकारवालाहरू गम्भीर हुनु पर्ने अध्यक्ष बोहराले बताए।

तल्काल दुम्लिङ, नजाङ, घाटीबगड, लखनपुल क्षेत्रमा अस्थायी काठे पुल निर्माण गर्न अनुमती दिई स्थानीयलाई सहज आवत जावतको वातावरण सिर्जना गर्न नेपाल सरकारले आवश्यक कदम चाल्नुपर्ने प्रधानाध्यापक तिंकरीको भनाइ छ।

गृह मन्त्रालयले सकेसम्म चाँडो पुल बनाउने स्वीकृति दिएर स्थानीयलाई सहजताका साथ आवतजावत गर्न सक्ने वातावरण सिर्जना गर्नतिर सबै सरोकारवाला लाग्नुपर्ने अध्यक्ष बोहराको भनाइ छ।

वर्षाका छ महिना व्याँस गाउँपालिका १ छाङ्रु र तिंकरमा बस्ने सौका समुदाय हिउँदका छ महिना दार्चुला सदरमुकाम खलंगामा बस्ने गर्छन्। छाङ्रु र तिंकर जाने समय नजिकिदै गएको र समस्या समाधान हुन नसकेकाले स्थानीयमा सहज आवतजावत हुन नसक्ने हो कि भन्ने डर समेत रहेको अध्यक्ष बोहराको भनाइ छ।

प्रत्येक वर्षको उभौली (कुञ्चा खलंगाबाट छाङ्रु र तिंकर जाने) चैत्र महिनाको अन्तिम सातादेखि सुरु हुन्छ भने उधौली (कुञ्चा छाङ्रु र तिंकरबाट खलंगा झर्ने) मंसिरमा हुन्छ। कुञ्चा सर्न भारतीय बाटो मात्रै प्रयोग गर्नु पर्दैन भारतीय प्रशासनबाट समेत बहुयात्रा अनुमति पत्रलिई स्वीकृति समेत लिनु पर्ने बाध्यता छ।

नेपालतिर बाटो नबनेसम्म यस्तो समस्या वर्षेनि आइराख्ने हुँदा तत्कालको समस्या अस्थायी पुलमार्फत समाधान गरेर चाडोभन्दा चाँडो दार्चुला-तिंकर सडक बन्नु पर्ने स्थानीयको माग छ। ‘जबसम्म नेपाल भएर व्याँससम्म पुगिन्न तबसम्म दुःख मात्रै पाइने हुँदा सडक निर्माण आवश्यक छ’, प्रधानाध्यापक तिंकरीको भनाइ छ।

पढ्नुहोस् :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.