|

ताप्लेजुङ : अघिल्लो दिन नै प्रश्नपत्र बाहिरिएपछि कक्षा ८ को पेशा, व्यवसाय र प्रविधि विषयको जिल्लास्तरीय परीक्षा स्थगन भएको छ। सदरमुकाममा रहेको लिटल बुद्ध बोर्डिङ स्कुलले शुक्रबार गर्नुपर्ने परीक्षा बिहीबार नै गराएपछि जिल्लाभरिको परीक्षा प्रभावित भएको हो। 

स्थगित परीक्षा चैत्त २० गते बिहान ११ बजेदेखि सञ्चालन गरिने जिल्ला शिक्षा अधिकारी चैतन्यप्रसाद निरौलाले जानकारी दिए। सो विषयको प्रश्न पत्र शुक्रबार नै तयार पारेर जिल्लाका सबै विद्यालयमा पठाउने जिशिअ निरौलाले जानकारी दिए। प्रश्नपत्र सम्बन्धित विद्यालयमा पुर्‍याउन श्रोत शिक्षकहरुले सहजिकरण गर्ने उनको भनाई छ।

स्कुलका प्रधानाध्यापक युवराज गिरीले भने विद्यालयले नियतवस शुक्रबारको परीक्षा बिहीबार नगरेको बताए। झुक्किएर अघिल्लो दिन परीक्षा गराउन पुगेको उनको भनाइ छ। 

भौगालिक रूपले विकट रहेको ताप्लेजुङमा प्रश्नपत्र  पहिले नै बाहिरिएपछि पुनः परीक्षा सञ्चालन गर्नुपर्दा असहज भएको छ। कक्षा ८ को परीक्षामा जिल्लास्तरीय आधारभूत परीक्षा समितिले जिल्लाभरका विद्यालयका लागि एउटै प्रश्नपत्र तयार पार्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.