|

  • हेमन्त केसी

जाजरकोट : नलगाड नगरपालिका ८ का हरिबहादुर खत्रीको घरमा चार मुरी मकै बाँकी छ। उनको घरमा मकै खरिद गर्न कोही पनि आएको छैन। सस्तो रकममा दिन खोज्दा पनि मकै बिक्री नहुँने समस्याले गर्दा दुख खेर गएको हो कि भन्ने उनलाई कहिलेकाँही चिन्ता लाग्ने गर्छ।

गाउँनजिक रहेको रुकुमको राडी बजारबाट चामल ल्याएर स्थानीयवासीहरू खाने गर्दछन्। तर स्थानीय रुपमा उत्पादन गरेको मकैले बजार नपाउँदा हरिबहादुर चिन्तित भएको पीडा सुनाउँछन्।

उनको जस्तै अवस्था अर्का किसान कालीबहादुर सिंहको घरमा पनि छ। उनकोमा अझै एक भकारी मकै छ। सानो परिवार भएका कालीबहादुरको परिवारले उपभोग गरेर बचेको हो। बिक्रीका लागि उनले धेरै पसलमा कुरा गरेको भए पनि कसैले लिन नमानेको उनको पीडा छ। आयातीत वर्षौं पुरानो चामल किन्न स्थानीयवासीहरू लुछाचुडी गर्छन् तर स्थानीय अर्गानिक मकै किन्नका लागि कसैको ध्यान जाँदैन सिंहले दुखेसो सुनाए।

यहाँका ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको स्थानीय उत्पादनलाई बाहिरबाट आयातीत चामलले बिस्थापित गर्दा समस्या भएको बारेकोट गाउँपालिका ५ का जनकबहादुर शाहीले बताए। पहिले,पहिले घोडा,खच्चडद्वारा सवै वस्तु ढुवानी हुँने समयमा मकै बिक्री हुन्थ्यो,अहिले घोडा, खच्चड चल्न छाडेसंँगै मकै बिक्री हुन छाडेको शाहीले बताए।

जाजरकोटका गाउँगाउँमा अझै दुई वर्ष पुरानो अन्न बाँकी रहे पनि बिक्री नहुँदा किसानहरू निरास छन्। खाद्यान्न अभाव भन्ने तर स्थानीय उत्पादन किनेर खान मन नपराउने बानीका कारण समस्या भएको स्थानीयहरूको भनाइ छ। 

जाजरकोटका ७ वटा स्थानीय तहमा खाद्यान्न होइन, चामलको अभाव छ।

स्थानीय स्तरमा उत्पादन गरिएको वस्तुहरूले उचित रुपमा वजार पाएमा स्थानीयको जीवनमा उन्नति हुने नलगाड नगरपालिकाका नगरप्रमुख टेकवहादुर रावलले बताए।

कर्णाली प्रदेशका सबै ठाउँको यो साझा समस्या भएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको भनाइ छ। स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै आयतीत बस्तुहरू आवश्यकता अनुसार प्रयोग गर्न सकियो भने कर्णाली प्रदेशको खाद्यान्न उत्पादन ,बजारीकरण सवैमा राम्रो हुने मुख्यमन्त्री शाही बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.