विचार

पवन चाम्लिङबाट हाम्रा नेताले सिक्नुपर्ने केही कुरा
SHARES

चैत १८, २०७४

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलनमा गत साता सिक्किम पुग्ने अवसर जुर्‍यो। कार्यक्रममा प्रमुख अतिथि सिक्किम प्रान्तका मुख्यमन्त्री पवन चाम्लिङको तीन घन्टा लामो धारा प्रवाह भाषणले धेरै नै तान्यो। म उनका प्रत्येक अभिव्यक्तिसित आफ्नो मुलुकलाई दाँज्न पुग्थेँ। 

    उनले आफ्नो प्रान्तमा महिलाहरूको सुरक्षाका बारेमा भने, ‘तपाईंहरू जुनसुकै समयमा जहाँसुकै जान सक्नुहुन्छ। मध्यरातमा पनि एक्लै महिला जहाँ पनि जान सक्छिन्।’ उनले यसो भनिरहँदा मैले आफ्नो देशमा भर्खरै मात्र सामूहिक बलात्कारमा परेर अस्पतालको शैयामा जीवन र मृत्युसित जुधिरहेकी सात वर्षीया बालिकालाई सम्झिएँ। आँखा अगाडि आए अखबारमा दिनहुँजसो समाचार बनेर आउने बलात्कारका समाचारहरू, जसमा पीडित महिला छ वर्षिया बालिकादेखि हजुरआमासम्म छन् भने पीडकमा आफ्नै बाबु, काका, दाजु, सुरक्षाको जिम्मा लिएर बसेको प्रहरी र उज्ज्वल भविष्य बनाउने जिम्मा लिएर बसेको शिक्षक। उफ! कस्तो परिवेश! हामी कहाँ छौँ सुरक्षित? के हाम्रा नेताहरूले पवन चाम्लिङले जस्तो अभिव्यक्ति दिन सक्ने दिन आउला? 

    साहित्यिक कार्यक्रममा आएका चाम्लिङले त्यहाँ साहित्यकारको संख्या कम, हलको पछिल्ला तीन, चार दीर्घामा बसेका विद्यार्थी संख्या बढी देखिरहेका थिए। उनको झण्डै तीन घन्टाको भाषणको समय तिनै विद्यार्थीलाई सम्बोधन गर्दैमा बितेको थियो। 

    ‘तिमीहरू भोलिको सिक्किमको मेरुदण्ड हौ। तिमीहरूले अहिलेदेखि मुलुकका लागि सकारात्मक पक्षबाट के गर्ने भनेर जुझारु भएर अगाडि बढ्न सिक्नुपर्छ। राम्ररी पढ, तिमीहरूको पछाडि सिंगो प्रान्तीय सरकार छ।’ उनले डिप्लोमासम्मका लागि सरकारले निःशुल्क पढाएको र त्यसपछि उच्च शिक्षाका लागि उनीहरूले विश्वको नाम कहलिएका विश्वविद्यालयहरूमा नाम निकाले भने सम्पुर्ण पढाइमा लागेको खर्च सरकारले व्यहोरिदिने बताइरहेका थिए। ‘यदि तिमी उच्च शिक्षामा जान चाहँदैनौ र काम गर्न चाहन्छौ भने तिमीले सिक्किम छोडेर कतै जानुपर्दैन। सिक्किममा जागिरको पहिलो प्राथमिकतामा यहीँका नागरिक पर्नेछन्’, उनी भन्दै थिए। एक घर एक रोजगार अनिवार्य रूपमै भएको देखिन्छ भने शिक्षित बेरोजगारको संख्या शून्यमा पुर्‍याउन सफल बनेका मुख्यमन्त्री चाम्लिङको ओहो कस्तो अभिव्यक्ति! 

    हाम्रो मुलुकमा  विद्यालय शिक्षा निःशुल्क त भनिएको छ तर यथार्थमा हो र? भन्नुपर्ने अवस्थामा हामी छौँ। उच्च शिक्षा हासिल गरिसकेका जनशक्तिलाई खाडीको तातो बालुवामा उँट चराउन र अरू खालका श्रम गराउन पठाउँदा मख्ख पर्छन् हाम्रा नेता– रेमिट्यान्स मुलुकमा भित्रिन्छ भन्दै। 

    हामी सबैको इच्छा अनिवार्य निःशुल्क आधारभूत शिक्षा भन्ने आदर्श वाक्यसहित आगामी शैक्षिक सत्र २०७५ भर्ना कार्यक्रम शिक्षा विभागले ल्याएको छ। स्वयम् प्रधानमन्त्रीले पनि एक बालिकालाई विद्यालय भर्ना गर्न पुग्ने उद्घोष गरिसक्नुभएको छ। सबैले एक जना भर्ना गरौँ भन्ने उहाँको अभिव्यक्ति पनि आइरहेको छ। २०७३ सालमा प्राथमिक तहमा भर्नादर औसतमा ९६.९ प्रतिशत थियो भने २०७४ मा ९७.२ प्रतिशत भएको थियो। यही तथ्यांकलाई हेर्दा पनि २.८ प्रतिशत नानीहरू अर्थात् ८८ हजार २०७ केटाकेटी त हाम्रा विद्यालयका गेटबाहिरै छन् अझै। 

    आधारभूत तहमा २०७४ मा ९२.३ प्रतिशत अर्थात् ७.७ प्रतिशत केटाकेटी विद्यालयको ढोकासम्म पुग्न पाएका छैनन्। संख्यात्मक रूपमा हेर्दा तीन लाख १३ हजार २८९ हाम्रा नानीहरू विद्यालयबाहिर छन्। यस पटकको प्रधानमन्त्रीको अभिव्यक्तिले के यी नानीहरूलाई समेट्न सक्छ त? भन्ने कौतूहल जगाएको अवस्था विद्यमान छ। सिक्किमका नानीहरूका लागि उच्च शिक्षाका लागि सरकारले पनि जिम्मा लिन सक्छ भन्ने मुख्यमन्त्रीको उद्घोष आउँदा हामी हाम्रा नानीलाई स्कुल हाताभित्र कसरी पुर्‍याउने भन्ने सोचमा छौँ। स्कुलभित्र पुगेका विद्यार्थीको हातमा पाठ्यपुस्तक र विषयगत शिक्षकको व्यवस्था कसरी मिलाउने अर्को समस्यामा हामी अहिले पनि रुमलिरहेका छौँ। 

    खोलानालाको पानीको उपयोग गर्दै निकालिएको बिजुलीले सिक्किमको डाँडालाई मात्र उज्यालो बनाएका छैन कि अरू प्रान्तलाई पनि बिजुली बेचेको रहेछ। हामी पानीका लागि धनी मुलुकका जनता अहिले पनि अल्लोको उज्यालोमा रात बिताउन बाध्य छौँ। 

    साहित्यिक कार्यक्रमका प्रमुख अतिथि चाम्लिङले विद्यार्थीलाई सम्बोधन गरिरहेका बेला म हाम्रा नेताहरूलाई सम्झिरहेकी थिएँ। के हाम्रा नेताले विद्यार्थीकै लागि भनेर कुनै दिन पनि भाषण गरेका होलान् त? विद्यालयको कार्यक्रममा नेता पुगिहाले पनि राजनीतिक भाषण गर्न पछि पर्दैनन्। चाम्लिङले आफूहरूलाई सम्बोधन गरेको सुनेर चार लाइन मात्र बसेका विद्यार्थीको तालीले त्यो हल नै गुन्जायमान हुनपुग्थ्यो भने हाम्रा नेताको भाषण सुनेर गद्गद् हुँदै कुनै पनि विद्यार्थीले यसरी आत्मादेखि समर्थनमा ताली बजाउन पाएको मैले देखेकी छैन। 

    सिक्किमका कुनै पनि कार्यक्रममा सुरुमा तीनवटा नृत्य देखाइनेरहेछ। ती तीन नृत्यले लेप्चा, भुटिया र नेपाली (बाहुन, क्षेत्री र जनजाति)को प्रतिनिधित्व गर्दारहेछन्। जातीय भेदभाव नहोस् भन्नका लागि सिक्किममा स्थायी बसोवास गर्ने यी तीन समुदायको प्रस्तुति गरिने कुरा नियममै उल्लेख गरिएको सुन्दा आश्चर्यचकित  बन्न पुगेँ। हामी सबै एक हौँ र समान अधिकार पनि पाएका छौँ भन्ने छाप छोड्न सफल भएका छन् चाम्लिङ। तर हाम्रा नेताहरू सकेसम्म जोड्न होइन, तोड्न किन रुचाउँछन्? अर्को मनमा प्रश्न उब्जियो। 

    अर्को विषय थियो, महिला अधिकार। हामी अहिले पनि नियम कानुनअनुसार महिलाले आरक्षण पाएनन् भन्ने सुन्न छाडेका छैनौँ तर चाम्लिङले छाती चौडा पार्दै भने, ‘हामीसित महिलाले आरक्षण भनेर बोल्नु वा माग्नुपरेको छैन। हामीले महिलालाई पुरुषसरह शिक्षा, बाबुआमाको सम्पत्तिमा छोराछोरीको समान अधिकार दिएका छौँ।’ यहाँ दहेज प्रतिबन्ध छ, कसैले लिए वा दिएको पाइएमा सिधै जेल चलान हुन्छ। दोस्रो विवाह गरेमा जेल चलान। अचल सम्पत्ति किनबेच गर्नुपरेमा श्रीमान मात्र भएर नहुने, श्रीमती साथै हुनुपर्ने। महिलाको आर्थिक हैसियत बढाउन सरकारले नै प्रत्येक महिलाको बैंक खाता खोलिदिएको छ। जुनसुकै क्षेत्रमा महिलाको उपस्थिति पुरुष बराबर नै छ। 

    धर्म, संस्कृतिको क्षेत्रबाट चिहाउँदा पनि एउटा डाँडामा चार धाम निर्माण गरिएको छ भने अर्को डाँडामा पद्म सम्भव (जसलाई लेप्चा र भुटियाले मान्छन्) स्थापित गराउनुले प्रष्ट पारेको छ। बुद्ध धर्मको पुल मानिन्छ, नेपाल। बुद्ध जन्मेको ठाउँ लुम्बिनीलाई माथि उचालेर सगरमाथासरह बनाउन हाम्रा नेता किन चुक्दै छन्? आफ्नै देशमा जन्मिएका बुद्धलाई विश्वसामु प्रमाणित गर्न भनेर हस्ताक्षर संकलन गर्ने नाटक किन गर्नुपरिरहेको छ? उत्तर नपाएको मन कौतूहलमै छ।

    खोलानालाको पानीको उपयोग गर्दै निकालिएको बिजुलीले सिक्किमको डाँडालाई मात्र उज्यालो बनाएका छैन कि अरू प्रान्तलाई पनि बिजुली बेचेको रहेछ। हामी पानीका लागि धनी मुलुकका जनता अहिले पनि अल्लोको उज्यालोमा रात बिताउन बाध्य छौँ। 

    आफ्नो प्रान्तलाई शत प्रतिशत अग्र्यानिक बनाउन सफल भएर विश्वमै चर्चित बनेका छन्, चाम्लिङ। हामी भने अग्र्यानिक त के, त्यो ठाउँमा छोरी दिनुहुन्न, त्यहाँ त तरकारीमा बिषादी धेरै छरेर त्यसको असरले महिलाहरूको मृत्युदर दिनानुदिन बढिरहेको छ भन्ने सुन्दासुन्दै पनि त्यहीँबाट ल्याएको बिषादी मिसिएको हरियो तरकारी खाएर स्वस्थ हुने प्रयासमा छौँ।

    प्रान्तीय जनताको मुटुभित्र बस्न सफल बनेका चाम्लिङ छिमेकी मुलुक भारतको सबैभन्दा बढी समय मुख्यमन्त्री बनेका व्यक्ति हुन्। पाँच पटकसम्म अत्यधिक बहुमतले विजयी हुँदै आएका चाम्लिङ जस्ता नेता हामीले किन पाउन सक्दैनौँ। हामीले हाम्रो गाउँठाउँको विकास होस् भनेर चुनिएर पठाएका नेताहरूको पछाडि ‘कुखुरा चोर’ र ‘जँड्याहा’ उपनामहरू थपिएर मिडियामा आएको देख्दा मनबाटै भन्न मन लाग्छ, के हाम्रो मुलुकलाई हाँक्न सक्ने कुनै चाम्लिङ जन्मिएकै छैनन् त?

सरिता अर्याल

सरिता अर्याल पत्रकारिता र अधिकारका क्षेत्रमा सक्रिय छन्!

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]