रिपोर्टर्स क्लब नेपालद्वारा पुरस्कार घोषणा

|

काठमाडौं : रिपोर्टर्स क्लव नेपालले यस वर्षको गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर पब्लिकेशनको साप्ताहिकका प्रधानसम्पादक सुवास ढकाललाई प्रदान गर्ने निर्णय गरेको छ। पूर्वप्रधानमन्त्री तथा कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापित उक्त पुरस्कार तीन दशक बढी पत्रकारितामा सक्रिय पत्रकार ढकाललाई प्रदान गर्ने निर्णय गरिएको हो। 

शुक्रबार क्लवको पुरस्कार छनोट समितिको बैठकले व्यावसायिक पत्रकारिताका पक्षमा छापा माध्यमबाट योगदान पुर्‍याएबापत एक लाख रुपैयाँ राशिको उक्त पुरस्कार ढकाललाई प्रदान गर्ने निर्णय गरेको हो। यसअघि यो पुरस्कार वरिष्ठ पत्रकार हरिहर विरही, अमीत ढकाल, कविर राणा र गुणराज लुइँटेललाई प्रदान गरिएको थियो। यस वर्षको गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार पाउने ढकाल नारी मासिकका संस्थापक सम्पादकसमेत हुन्। ०३७ सालदेखि पत्रकारितामा प्रवेश गरेका ढकालले यसअघि देशान्तर साप्ताहिकका पूर्वाञ्चल प्रतिनिधि (२०४१), सुरुचि साप्ताहिकका विशेष प्रतिनिधि (२०४७), स्वतन्त्रता साप्ताहिकको वरिष्ठ सम्पादक (२०४८), जनस्वतन्त्रता साप्ताहिकको सम्पादक (२०५०) र सर्वोत्तम मासिकको सम्पादक (२०५२) भएर काम गरिसकेका छन्। 

मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार श्रेष्ठलाई    

यसैगरी यस वर्षको मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार दृष्टि साप्ताहिकका प्रकाशक एवम् संस्थापक सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिने निर्णय गरेको छ। 
नेपाली राजनीतिका चर्चित हस्ती, जनताको बहुदलीय जनवादका प्रणेता, विचारक एवं कुशल वक्ता एमालेका पूर्व महासचिव मदनकुमार भण्डारीको स्मृतिमा स्थापित यस पुरस्कारको राशि एक लाख रुपैयाँ छ। श्रेष्ठ विगत चार दशकअघिदेखि पत्रकारितामा सक्रिय छन्। क्लबले पहिलो पटक यो पुरस्कार वितरण गर्ने भएको हो। 

वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार राजधानी सम्पादक आचार्यलाई

त्यसैगरी यस वर्षको वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार राजधानी दैनिकका कार्यकारी सम्पादक डिल्ली आचार्यलाई प्रदान गरिने भएको छ। आचार्यलाई प्रदान गरिने पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ।

आचार्य विगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन्। उनी राजधानी दैनिकमा प्रमुख सम्वाददाता हुँदै अहिले कार्यकारी सम्पादकको रूपमा कार्यरत छन्। यसैगरी यस वर्षको कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघका उपाध्यक्ष एवम् नेपाल टेलिभिजनका सम्वाददाता दिलीप थापामगरलाई प्रदान गरिने भएको छ। विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय थापालाई दिइने यस पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ।

यसैगरी कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार द हिमालयन टाइम्सका विशेष सम्वाददाता रेवती सापकोटालाई प्रदान गर्ने निर्णय गरिएको छ। यस पुरस्कारको राशि २० हजार रुपैयाँ छ। सापकोटा लामो समयदेखि पत्रकारितमा सक्रिय छन्। यसैगरी यस वर्षको रिपोर्टर्स क्लब नेपाल सर्वोत्कृष्ट युवा पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्ट दैनिकका वरिष्ठ सम्वाददाता नरेन्द्र साउदलाई प्रदान गरिने भएको छ। साउदलाई प्रदान गरिने यस पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ। साउद लामो समयदेखि पत्रकारितामा सक्रिय छन्। 

बाबुछिरी फोटो पत्रकारिता पुरस्कार विजय राईलाई

यसरी नै यस वर्षको बाबुछिरी फोटो पत्रकारिता पुरस्कार नागरिक दैनिकका फोटो पत्रकार विजय राईलाई प्रदान गरिने निर्णय गरिएको छ। राजनीतिक संक्रमणकाल, भूकम्पलगायतका कठिन घडीमा साहसपूर्वक फोटो पत्रकारिता गरिरहेका पत्रकार राईलाई दिइने यस पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ। यसैगरी यस वर्षको उमा सिंह स्मृति पत्रकारिता पुरस्कार देशसञ्चार डटकमकी संवाददाता (संयोजक) दीपा दाहाललाई प्रदान गर्ने निर्णय गरिएको छ।

नारी साप्ताहिक, रेडियो कान्तिपुर र अन्नपूर्ण पोस्ट दैनिकलगायतका पत्रिकामा काम गरिसकेकी दाहाललाई दिइने यस पुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको छ।

यस वर्षको उत्कृष्ट युवा पत्रकारिता पुरस्कार गोरखापत्र दैनिकका समाचारदाता भउचप्रसाद यादवलाई प्रदान गरिने भएको छ। यस पुरस्कारको राशि १० हजार रुपैयाँ छ। यादव विगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन्।

यी पुरस्कार क्लवको बीसौँ वार्षिकोत्सवका अवसरमा भोलि (शनिबार) काठमाडौंमा प्रदान गरिने जनाइएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.