|

लहान : सिरहाको ग्रामीण क्षेत्रका बासिन्दाहरु चन्दा उठाएर पुर्ख्याैली सम्पदाको पुनर्निर्माणमा जुटेका छन्। चुरे क्षेत्रसँग जोडिएको धनगढीमाई नगरपालिका–१३ डावर गाउँका बासिन्दा पुर्खाहरुले संरक्षण गरेर पुज्दै आएको करिब ३०० वर्ष पुरानो डिहीवार कोइला धमिनी स्थानको पुनर्निर्माणमा जुटेका हुन्।

स्थानीय अगुवा अर्जुन ठकुरीका अनुसार स्थानीयले आफ्नो गच्छेअनुसार ५०० देखि दुई हजार रुपैयाँसम्म चन्दा जुटाएर ५० हजार रुपैयाँको लागतमा धमिनीस्थान पुनर्निर्माण गरेका हुन्। स्थानीय समाजसेवी महेश्वर श्रेष्ठले भने, ‘नगरपालिकासँग समन्वय गर्दा पनि थोरबहुत बजेट आउँथ्यो, तर हाम्रो पुर्खाले संरक्षण गरेको सम्पदाको पुनर्निर्माण गर्न नगरपालिकाको आश गर्नुभन्दा चन्दा उठाएरै पुनर्निर्माण थालेका हौं।’ चन्दा उठाएको रकमले गिट्टी, बालुवा, सिमेन्ट, रड खरिद गरी  श्रमदान समेत गरेको श्रेष्ठले बताए। 

करिब एक बिघा क्षेत्रफलमा फैलिएको धमिनीस्थान परिसरमा पुनर्निर्माणसँगै स्थानीयले पातपतिङ्गर, झाडी, बुट्यान समेत सरसफाइ गरेका छन्। मन्दिर पुनर्निर्माणपछि मानसिक सन्तुष्टिका लागि पूजाआजा गरिने योजना रहेको ठकुरीले बताए। विकास अनुदानको रकम पर्खिंदै आफ्नै घरअगाडिको सडकको सानो खाल्डो समेत नपुर्नेहरुकोका लागि यो गतिलो उदाहरण हो।   

धमिनीस्थान अगाध आस्था   

पुर्खाहरुले संरक्षण गरेर राखेको धमिनीस्थानप्रति स्थानीयको अगाढ आस्था रहेको छ। पुजारी बलराम ज्यू ठकुरीका अनुसार करिब ६४ वर्षअघि माघमा धमिनी स्थान परिसरको सालको रुख काटेका भक्तबहादुर खत्रीको सुतेकै ठाउँमा निधन भएको थियो। स्थानीय बयोबृद्ध बिहारी यादवले सुनाए, ‘त्यतिबेला गाउँ नजिकै रहेको ज‌ंगलमा बाघ, भालु जस्ता हिंस्रक जंगली जनावर देख्ने बित्तिकै धमिनीलाई सम्झिँदा पनि बाघ भालु आफ्नो बाटो लाग्थे।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.