|

जाजरकोट : उच्च लेकाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीे जाजरकोटका स्थानीय निकायबाटै अवैध चोरी निकासी बढ्न थालेको छ। सरकारको उदासीनताका कारण चोरी निकासी तीव्र रूपमा बढेको हो। जडीबुटीे सप्लायर्सले राजस्व छल्न अवैध तरिकाले निकासी गर्ने गरेका छन् तर नियामक निकायले बेवास्ता गर्दा लाखौँको राजस्व घाटा हुने गरेको हो।

जिल्लाको पूर्वी क्षेत्र बारेकोट गाउँपालिकाको चाखुरे, देउराली, साइकुवारी, सागबारी, बुराउसे, ठाकुरजी, रोल्पापाटन तथा जिल्लाका उच्च क्षेत्रमा पाइने बुकी फूल, कटुको, पाँचऔँले,समयो, गुच्चीच्याउ,पदमचाल,लटेचुक,भुत्ले, सतुवा,अतिस, सुनजरी,कुरिलो, काउलो, पाखनबेद, सुगन्धवाल, तितेपाती, जटामसी, चिराइतो, गुच्छी च्याउ, लौठ सल्ला, पाँचऔँले, सेतकचिनी र जरा, लगायत बहुमूल्य जडीबुटीको अवैध चोरी पैठारी बढेको बारेकोट-३ का महेन्द्र बोहोराले जानकारी दिए। 

खुला सिमानाका कारण तस्करहरूले लाखौँ मूल्यको जडीबुटी अबैध रूपमा निकासी गर्दै आएका छन्। चोरी निकासी बढ्न थालेपछि बारेकोटवासीले रोकथामका लागि पहल गरिदिन माग गरेका छन्। जथाभावी चोरी निकासी बढ्न थालेपछि मूल्यवान् जडीबुटी मासिँदै जाने खतरा रहेको छ। कति चोरी निकासी हुन्छ एकीन तथ्यांक नभए पनि बर्सेनी लाखौँको जडीबुटी अवैध रूपमा निकासी भइरहेको बारेकोट गाउँपालिका ४ का वडाध्यक्ष सिर्जना बस्नेतले बताए। 

जिल्ला वन कार्यालयले गरेको एक अध्ययन अनुसार प्रत्येक वर्ष जाजरकोटमा १७ लाख ६५ हजार ५५३ केजी जडीबुटी सङ्कलन गर्न सकिने उल्लेख छ।  तर गत वर्षमा दुई लाख ६९ हजार ७४३ केजी विभिन्न प्रजातिका जडीबुटी निकासी गरी १९ लाख ६७ हजार रुपियाँ मात्र राजस्व संकलन भएको थियो। सरकारले प्रतिबन्धित जडीबुटीको सूचीमा सूचीकृत जडीबुटीसमेत निकासी भइरहेको स्थानीयको भनाइ छ। चोरी निकासी रोकथामतर्फ कसैको चासो नदिएको स्थानीयको भनाइ छ।जडीबुटीको उचित संरक्षण नहुँदा पाटन नै रित्तिँदै गएका छन्।

चाखुरे नाकामा सरकारी उपस्थिति भएपछि मात्र बहुमूल्य जडीबुटीको चोरी निकासी रोकिने र संरक्षण हुने वडाध्यक्ष बस्नेतले बताए। खुला सिमानाका कारण चोरी निकासी रोक्न समस्या भएको हो तर अब चोरी निकासी रोक्नेतर्फ स्थानीय सरकारसँग सहकार्य गरेर आवश्यक पहल गर्ने जिल्ला वन अधिकृत उपेन्द्रप्रसाद पटेलले बताए।अवैध जडीबुटी निकासी रोक्न रेन्जपोस्टहरूलाई निर्देशन दिएको छु वन अधिकृत पटेलले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.