भूकम्पीय सुरक्षाको दृष्टिले सुरक्षित र सिमेन्टेड घरभन्दा बस्‍न सहज

|

पाँचथर : पूर्वी पहाडी जिल्ला पाँचथरमा काठै काठको प्रयोगबाट निर्माण गरिने धुरे घरप्रति स्थानीयको मोह बढ्दै गएको छ। फिदिम नगरपालिकाको लालिखर्क, रानिटार, इथुङ,फाल्गुनन्द गाउँपालिकाको गुम्बाडाँडा र हिलिहाङ गाउँपालिकाको चतुरे बजार क्षेत्रका नागरिकमा धुरे घरप्रति मोह बढेको हो। 

सदरमुकाम फिदिमको गढी क्षेत्रमा पनि एकाध यस्ता खालका घर निर्माण गरिएका छन्। ढुङ्गा, माटो, इँटालगायतका निर्माण सामग्रीको प्रयोगबिना काठै काठबाट धुरे घर निर्माण गरिन्छ। घरको छाना र बेराको लागि भने जस्तापाताको प्रयोग गरिन्छ। करिब पाँच वर्षयता धुरे घर जिल्लाको लेकाली क्षेत्रको गाउँ र बजारमा निर्माण थालिएको हो। यस्ता घरहरु बसाईको दृष्टिले सहज मानिन्छन्। घरघरमा कोठैकोठा निकालिएको हुन्छ। 

नयाँ सहर आयोजनाको कार्यालय पाँचथरका इञ्जिनियर रामप्रसाद सापकोटाले भूकम्पीय सुरक्षाको दृष्टिले काठै काठको प्रयोगबाट निर्मित घरहरु जोखिम कम र बसाई उपयुक्त हुने बताए। हिउ वा तुसारो छानामा परे चाँडै झर्ने, बाहिरको तापक्रमलाई नियन्त्रण गर्ने र सिमेन्टेड घरभन्दा न्यानो हुने उनको भनाइ छ।

‘घरको धुरी बढी चुच्चो हुन्छ, यसले गर्दा धेरै बेर हिउ वा तुसारो अडिन्न, झरिहाल्छ’ उनले भने, ‘काठले भित्र र बाहिरको तापक्रमलाई पनि नियन्त्रण गर्छ र यसले गर्दा घर न्यानो हुन्छ।’ यस खालका घरलाई क्रस ग्याबेल्ड रुफ भएको घर भनिन्छ। तर, बढी धुरी निकालिने भएकोले स्थानीय बोलिचालीमा धुरे घर भनिएको हो। एउटै घरमा कम्तीमा चारवटा धुरी निकाल्ने गरिन्छ।

वि.स.२०७० सालमा गएको विनाशकारी भूकम्पपछि धुरे घर निर्माणले व्यापकता पाएको हो। चिटिक्क र आकर्षक पनि देखिने भएकोले जिल्लाको लेकाली क्षेत्रमा बढी र वेँशी क्षेत्रमा पनि छिटफुट निर्माण गरिएको देख्न सकिन्छ। 

फिदिमको गढीमा दुई वर्षअघि आकर्षक धुरे घर बनाएका डेविट श्रेष्ठले घरसँग सौन्दर्यता हुनुपर्ने बताउँछन्। उनले सुन्दर घरले मनोवैज्ञानिक रुपमा सकारात्मक असर गर्ने पनि बताए। ‘घरसँग सौन्दर्यता पनि हुनुपर्छ,आवासका लागि मात्रै भन्ने पनि बुझ्नुहुँदैन’ उनले भने, ‘सुन्दर घरले मानसिक रुपमा प्रफुल्लित तुल्याउँछ।’ 
घरायसी वातवरणले कुनै प्रकारले मानवीय सोच, चिन्तनदेखि लिएर व्यवहारमा पनि प्रभाव पार्ने भएकोले आवासीय सुविधाका लागि मात्रै सोच्न नहुने उनको भनाइ छ। धुरे घर विशेषत दुईतले निर्माण गरिन्छ। 

लेकाली क्षेत्रमा पर्याप्त र सस्तो मूल्यमा बालुवासहितका निर्माण सामग्रीहरू नपाइने भएकोले पनि धुरे घर निर्माणले व्यापकता पाउन थालेको हो। यससँगै भूकम्पीय सुरक्षाको दृष्टिले अन्य घरहरुभन्दा बढी सुरक्षित पनि मानिन्छ। यद्यपि, एक दशकयता मात्रै पाँचथरसहित इलामको माइपोखरी क्षेत्रमा यस्ता घर निर्माण थालिएको हो। संयुक्त राज्य अमेरिकामा भने सन् १९२० तिरै यस्ता खालका घर निर्माण भएको इञ्जिनियर सापकोटाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.