|

डडेल्धुरा :  एमालेका उपाध्यक्ष भीम रावलले एमाले र माओवादी केन्द्रबीचको एकताको तयारी अन्तिम चरणमा पुगेको बताएका छन्। शनिबार डडेल्धुरामा आयोजित एक कार्यक्रममा उपाध्यक्ष रावलले दुई वामबन्थीबीच छिट्टै पार्टी एकता हुने बताएका हुन्।

एकताको गृहकार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै रावलले छिट्टै एकता हुने जिकिर गरे। उनले छिट्टै केन्द्रीय संयोजन समितिको बैठक बसेर तयार पारिएका दस्तावेज पारित गरी एकता प्रक्रिया अगाडि बढाइने बताए। ‘पार्टी एकीकरणका लागि दुई वटा कार्य दल गठन भएका थिए।’ उनले भने, ‘दुई वटै कार्यदलले आ–आफ्नो काम सकिसकेका छन्। अब छिट्टै त्यसलाई अन्तिम रुप दिएर केन्द्रीय संयोजन समितिमा बुझाउन बाँकी छ।’

नेता रावलले दस्तावेजलाई अन्तिमरुप दिन ढिलाइ भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अगाडि एकता नहुने प्रस्ट पारे। पार्टी एकतामा कुनै बाधा–अड्चन नभएको उनको भनाइ थियो। ‘प्रधानमन्त्रीको भारत भ्रमण अगाडि पार्टी एकता गर्ने कुरा पनि उठेको हो।’

नेता रावलले भने, ‘तर दस्तावेजको काम अन्तिम बिन्दुमा पनि नपुगिसकेको र दुई ठूला पार्टीबीचको एकता प्रधानमन्त्री भारतमा जाने भनेर हतारहतारमा गर्‍याे भन्ने हुनाले अहिले नै पार्टी एकता नहुने भएको छ।’ उपाध्यक्ष रावलले बैशाख ९ गते कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा पार्टी एकता हुन सक्ने बताए।

फरक प्रसंगमा नेता रावलले देशमा रहेको बेरोजगारी समस्यालाई समाधान गर्नतिर वामबन्थी सरकारले काम गर्ने बताए। धेरै युवा रोजगारीका लागि अबरको खाडीमा पसिना बगाइरहेको उल्लेख गर्दै उपाध्यक्ष रावलले यसलाई परिवर्तन गर्नका लागि सानातिना स्वार्थभन्दा माथि उठेर काम गर्नु पर्ने समेत बताए। 

आजको प्रविधिको प्रयोग गरेर अन्तर्राष्ट्रिय शहरलाई समेत प्रयोग गरेर अन्य देशले ३० वर्षमा गरेको काम हामीले १० वर्षमा गर्नु पर्ने उनको भनाइ थियो। यो पाँच वर्षमा नेपालको सम्पूर्ण क्षेत्रमा भएका अनियमितता, कुशासनका प्रभावहरु हटाएर जनताको अपेक्षा अनुसार काम गर्नु पर्नेमा उनको जोड थियो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.