|
अन्नपूर्णपोस्ट

प्युठान : प्युठान नगरपालिका–३, विजयनगर डाँडागाउँ कुमालबस्तीका मिठुलाल कुमाल दुई छोरालाई माथिल्लो कक्षासम्म पढाउन चाहन्थे। गाउँमा अगुवाका रूपमा चिनिएका उनले दुई वर्ष अन्तरका जीवन र प्रकाशलाई दाखाक्वाडीको पब्लिक आवासीय बोर्डिङ स्कुलमा भर्ना गराए। तर, छोराहरूले उनको सपना साकार पार्न सकेनन्।

दुवैले पढ्दापढ्दै विद्यालय छाडे र मजदुरी गर्न थाले। जीवन २१ र प्रकाश १९ वर्षका भइसके। दाजुभाइ नै ‘ड्राइभर’ भइसकेका छन्। उनीहरूले पहिला ट्र्याक्टरमा सहयोगीका रूपमा काम गरे। अहिले जीवन प्युठान–काठमाडौं हायस र प्रकाश बिजुवारमा भ्यान चलाउँछन्। ‘छोराहरूलाई राम्रोसँग पढाउने धोको थियो’, मिठुलालले भने,  ‘तर चाहना पूरा हुन दिएनन्। दुःख लागेको छ।’

उनी मात्र होइन, गाउँभरिका बालबालिका नै यातायात मजदुरीमा लागेका छन्। गाउँमा १० कक्षासम्म पढेका विद्यार्थी भेट्टाउनै मुस्किल पर्छ। केही वर्षअघि दुई चार युवाले १० कक्षासम्म पढे पनि हिजोआज बालबालिका बीचमै पढाइ छाडेर यातायात मजदुरीमा लाग्ने गरेका छन्। ट्र्याक्टर, जिप र ट्रकमा मजदुरी गर्नेहरूको गाउँभरि बाक्लो संख्या छ। प्रायः घरमा यातायात मजदुरीमा नलागेका बालबालिका भेट्टाउनै मुस्किल हुने गरेको छ। वडा ३ को बाँझबारीदेखि बतासेडाँडासम्म झन्डै एक सय ५० घरधुरी कुमाल बस्तीकै छ। गाउँका करिब ४५ बढी बालबालिका तथा युवा यातायात मजदुरीमा लागेको स्थानीयको भनाइ छ।

कुमाल बस्तीका बालबालिकालाई विद्यालयमा टिकाउनै हम्मेहम्मे परिरहेको बालमन्दिर प्राथमिक विद्यालय विजयनगरका प्रधानाध्यापक लोकबहादुर विष्टको भनाइ छ। ‘आधाभन्दा धेरै विद्यार्थी कुमालबस्तीकै छन्’, विष्टले भने, ‘चार पाँच कक्षामा पुगेपछि छाडिहाल्छन्।’ विद्यार्थी परीक्षाको अवधिसम्म रहे पनि नतिजा राम्रो नहुने गरेको उनको भनाइ छ। नियमित विद्यालय उपस्थित नहुने, घरबाट निस्के पनि विद्यालयसम्म नआउने, कक्षाकोठामा राम्रोसँग पढाइमा ध्यान नदिनेजस्ता समस्या कुमाल बस्तीका बालबालिकामा देखिने गरेको उनको भनाइ छ। विद्यालयले कुमाल बस्तीकै घररघरमा पुगेर सचेतनाका कार्यक्रम गरिरहे पनि प्रभावकारी बन्न नसकेको उनी सुनाउँछन्।

अघिल्लो शैक्षिक सत्रमा विद्यालय छाडेका १४ बालबालिका सबै कुमालबस्तीकै रहेको विद्यालयले जनाएको छ। ‘विद्यार्थी टिकाउन लक्षित वर्गका कार्यक्रम सञ्चालन भइरहेका छन्’, विष्ट भन्छन्, ‘धेरै प्रयास गर्दा पनि परीक्षाको अवधिसम्म विद्यार्थीलाई टिकाउन मुस्किल पर्छ।’ छात्रा सानै उमेरमा विवाह गर्ने र छात्रहरू यातायात क्षेत्रमै मजदुरी गर्ने प्रचलन धेरै बढ्दै गएको उनले बताए। धेरैजसो अभिभावककै हेलचेक्र्याइँका कारण पनि यस्तो समस्या बढ्दै गएको उनको बुझाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.