|

दार्चुला : गृह मन्त्रालयले चैत मसान्तबाट सुरु हुने कुञ्चा सार्न महाकाली नदीमाथि नेपाल र भारत जोड्ने अस्थायी काठेपुल निर्माण गर्न स्वीकृति दिएको छ। गृहले शुक्रवार जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गरी व्यास गाँउपालिका–१ का वासिन्दा र भारतीय पक्षको मागलाई सम्बोधन गरेको हो।

भारतीय पक्षले जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारसँग लखनपुर, नजंग र छंकनमा अस्थायी काठेपुल राख्न स्वीकृति मागेको थियो। ती ठाउँबाट नेपालतर्फको तम्बाकु, थिइको भीर र दोपाखे क्षेत्र जोडिन्छ। भारतको पिथौरागढस्थित डिएम कार्यालयले यसबारे केही हप्ताअघि लिखित अनुरोध गरेको थियो। व्यास गाँउपालिका–१ छाङरु र तिंकरका स्थानीयले पनि कुन्चा सर्नका लागि तम्बाकु र थिइको भीरमा अस्थायी काठेपुल राख्न माग गरेका थिए।

गृह मन्त्रालयबाट पठाइएको स्वीकृति पत्र शुक्रबार प्राप्त भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए। नेपाल र भारत दुवैतर्फको अधिकारीबीच समन्वय गरी अस्थायी काठेपुल राख्न गृहले स्वीकृति दिएको उनले बताए। केही दिनभित्रै जिल्ला सुरक्षा समितिको बैठक बसी आवश्यक तयारीसहित काठेपुलको निर्माण प्रक्रिया अगाडि बढाइने छ।

नेपाल र भारत दुवैतर्फबाट स्थानीयको कुन्चा सार्न र कैलाश मानसरोवर यात्राका लागि मात्रै अस्थायी काठेपुल राख्न स्वीकृति मिलेको हो। काठेपुल यस वर्ष मात्रै राखिनेछ। कैलाश मानसरोवर यात्रा र शौका जातिको बसाइँसराइ सकिनासाथ काठेपुल हटाइने प्रमुख जिल्ला अधिकारी गौतमले बताएका छन्। काठेपुल भएर आवतजावत गर्ने व्यक्तिको निगरानी र अभिलेख राख्ने कार्य गरिने दार्चुला प्रहरी प्रमुख डिएसपी जनकवहादुर शाहीले बताए। 

दुम्लिङमा पनि अस्थायी काठेपुल 

भारतीय पक्षको आग्रहमा नेपाल सरकारले महाकालीमा तीनवटा अस्थायी काठेपुल राख्न स्वीकृति दिएपछि नेपाली पक्षको मागअनुसार भारतले पनि राप्लाको दुम्लिङमा काठेपुल राख्न दिने भएको छ।

भारतीय अधिकारीले नेपाली सुरक्षा अधिकारीसँग यसबारे अनौपचारिक जानकारी गराएका छन्। भारतीय पक्षबाट दुम्लिङ र घटियाबगड जोड्ने स्थानमा काठेपुल राख्न स्वीकृति प्राप्त भइनसके पनि स्थानीयको आवश्यकताअनुसार तत्काल पुल राख्न दिने बताइएको छ। यसबारे अन्तिम टुंगो केही दिनभित्रै लाग्ने बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.