|

काठमाडौं : लोक सेवा आयोगको परीक्षामा होस् या स्कुलको हाजिरी जवाफ प्रतियोगितामा, विद्यार्थीलाई सोधिने प्रश्न हो- नेपालमा कुन राजाको पालादेखि मुद्राको प्रचलन सुरु भयो? हरेक विद्यार्थीले यसको जवाफ सजिलै दिन्छन्, मानदेव। तर यसको स्वरूप कस्तो थियो? अधिकांश बेखबर छन्। 

नेपालमा मुद्राको उत्पत्ति र प्रयोग हुनुपूर्व कुनै वस्तु प्राप्त गर्न आफूसँग भएको वस्तुसँग चाहेको वस्तु साट्नुपर्ने चलन थियो। यो इतिहास भयो। वर्तमानमा भन्ने हो भने अचेल हरेक कुरा पैसासँग विनिमय हुन थालेको छ। नयाँ पुस्तालाई पुराना मुद्राको बारे कुनै जानकारी लिन मन लागे सजिलो माध्यम संग्रहालय मात्र बाँकी छ। तर काठमाडौं उपत्यकामा यस्तो पनि ठाउँ छ, जहाँ तपाईंले पुराना सिक्का खरिद गर्न सक्नुहुन्छ।

नोट(नगद)मा पुराना पैसा बेच्ने पेसा सुन्दा अचम्म लाग्न सक्छ तर यो वास्तविकता हो। वसन्तपुरको छेउमा अवस्थित लक्ष्मीनारायण मन्दिरको कुनामा सिक्काको व्यापार गर्दै आएका  ६५ वर्षिय गम्भीरध्वज जोशी यो पेसा आफ्ना बाबुले सुरु गरेको बताउँछन्। उनी भन्छन्, 'नेपालमा बैंक खुल्नुभन्दा पहिले यो पेसा मेरा बुबा (सिद्धिध्वज जोशी)लगायतका मान्छेले सुरु गरेका थिए।' नेपाली युवा विदेशबाट फर्कंदा उनीकहाँ पैसा साट्न आउँथे तर विस्तारै देशमा बैंक खुल्न थालेपछि अरूले यो पेसा छाडे तर उनका बाबुले यो पेसा छोडेनन्। बाबुको पेसा अँगाल्न उनी स्वयम् कसरी आइपुगे त?

उमेरले ६५ वर्ष नाघेका जोशी शंकरदेव क्याम्पसबाट बीकम गरेको बताउँछन्। पढाइ सकेका सुरुवात चरणमा उनले शिक्षण पेसा अँगाले। तर पढाउने पेसा उनलाई एकदम झन्झट लाग्यो। शिक्षण पेसा केही महिनामा बिट मारेर फोटो स्टुडियो खोले उनले कालीमाटीमा। 'फोटोसम्बन्धी थोरबहुत ज्ञान छ मलाई' भन्दै यसको प्रमाण पेस गर्न प्रयास गरे उनले- मेरो हातमा रहेको क्यामराबाट दुईवटा फोटो क्लिक पारेर। 'म अलि विन्दास टाइपको मान्छे हुँ। मलाई बच्चादेखि नै घुमघाम र पुराना पैसा संकलन गर्ने शोख थियो। मेरो शोख र बाबुले गरेको कामको प्रकृति उस्तै रहेकाले पनि म यतातिर आकर्षित भएको हुँ।'

कसैको 'अन्डर'मा बसेर काम गर्न नसक्ने भएकाले पनि बाबुको कामलाई निरन्तरता दिँदै पुन: यही काममा फर्किएको बताउँछन् उनी। उनी यस पेसालाई व्यापार मात्र ठान्दैनन्, यो एक सामाजिक सेवा पनि हो भन्ने तर्क छ उनको। पुराना सिक्कालाई  विभिन्न संग्रहालयमा पुर्‍याएको बताउँछन् उनी। भन्छन्, 'दार्जिलिङसम्म मैले यस्ता सिक्का पुर्‍याएको छु।'

कसले किन्छन् उनका सिक्का?

वसन्तपुर आफैँमा बाह्रै महिना आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्ने ठाउँ हो। उसै नेवार सभ्यतामा वसन्तपुर आफैँमा एेतिहासिक स्थल हो। बाह्य पर्यटकले रमाइलोका लागि, नेपाली मुद्रासम्बन्धी ज्ञान लिनुपरे लैजाने हुन् नत्र देशका विभिन्न भूभागबाट घुम्न आउने आन्तरिक पर्यटकले घरमा धार्मिक कार्यका लागि लैजान्छन्। उनी भन्छन्, 'नेवार सभ्यतामा पुराना पैसाको महत्त्व रहेकाले नेवारी समुदायले माग बढी गर्छन्।'

यस्ता छन् भूकम्पअघि र पछिका रोचक अनुभव

२०७२ बैशाख १२ गते शनिबार उनी आफ्नो घर कुपण्डोल ललितपुरमा थिए। भूकम्पले उनको परिवारलाई खासै असर गरेन तर उनको व्यापार दुई महिना ठप्प भयो। भूकम्प आउनुअघिको एउटा घटना सुनाए उनले।

उनी लक्ष्मीनारायण  मन्दिरमुनि सिक्का व्यापार गर्दै थिए। एउटा विदेशी आएर भनेछन्। 'मेरो साथी नेपाल घुम्न आउँदा तपाईंले सिक्का बेचेको देखेको रहेछ। पैसा बेचेको देखेर ऊ बढो अचम्भित भएछ। उसले मलाई यो किस्सा सुनायो। तपाईंले पैसा बेचेको हेर्न म नेपाल आएको हुँ।' उनले चस्मा मिलाउँदै भूकम्प गएको चार महिनापछिको अर्को एउटा घटना पनि सुनाउन भ्याए। 'एउटा अस्ट्रेलियन मलाई भेट्न आएको थियो । केही महिनाअघि त्यो टुरिष्टले मबाट सिक्का किनेको थियो रे!', उनले सम्झिने प्रयास गर्दै भने, 'भूकम्पले मलाई केही भयो कि भन्दै खोज्दै आएको रे ऊ!' सुन्दा सामान्य लाग्ने घटना भए पनि यसले जोशीको जीवनमा ठूलो अर्थ राख्छ।

 

कहाँबाट ल्याउँछन् सिक्का, कतिमा बेच्छन्?

उनी भन्छन्, 'बाबु ज्योतिष हुनुहुन्थ्यो त्यसैले घरमा सिक्काको अभाव हुँदैनथ्यो। तिनै पैसालाई ल्याएर यहाँ साट्ने काम गर्थें म।' सुरुवातमा रहरको काम भए पनि यस पेसामा रस पस्न थाल्यो उनलाई। यो पेसा गर्न थालेको कति भयो यकिन मिति उनलाई थाहा छैन। 'पहिले त याद थियो, अचेल भने बुढ्यौली लाग्यो, स्मरण शक्ति पनि अलि कम भयो', उनले सुनका दाँत टिलिक्क टल्काए।

लिच्छविकालीन तथा मल्लकालीन मुद्राको तुलना गर्दा अहिलेका मुद्रामा धेरै भिन्नता रहेको उनी बताउँछन्। पहिलेका मुद्रामा नेपालको कला संस्कृतिलाई झल्काउने खालका थिए। ती मुद्रा आजका मुद्राभन्दा बढी आकर्षक र कलात्मक भेटिन्थे। 'अहिलेका मुद्रामा न कलात्मकता छ, न त नेपाली परम्परा झल्काउने खालका नै छन्, बनावटी मात्र', उनको तिक्तता पोखियो।

सुरुसुरुमा उनले  एउटा सिक्काको चार पैसा लिन गर्थे तर समयान्तरसँगै पुराना सिक्काको महत्त्व बढ्दै जाँदा अचेल भने उनले पुराना सिक्काको पाँच रुपैयाँ लिने गरेको बताए। नयाँ पैसा साट्नुपर्‍यो भने सयको दश रुपैयाँ लिन्छन् उनी। कहाँबाट ल्याउनुहुन्छ पुराना पैसा? भन्ने प्रश्नमा उनले भने, 'काठमाडौं, ललितपुर, भक्तपुरका समुदायसँग यस्ता पुराना पैसा जम्मा गर्ने प्रचलन पुरानो हो। उनीहरू नै कहिलेकाहीँ पुराना पैसा बोकेर म कहाँ आइपुग्छन् र मैले किन्छु।'

समयअनुकूल भए दैनिक २० हजार रुपैयाँसम्म कारोवार गर्छनउनी। सधैँचाहिँ होइन, कहिले भने शून्य हुन्छ कारोवार। ‌‍‍‌अौसत कति कमाइ हुन्छ भनेरचाहिँ उनले बताउन चाहेनन्। पुरुषको कमाइ सोध्नु हुँदैन भन्ने भनाइ रहेकाले पनि होला, सोध्ने चेष्टा गर्न सकिएन। फुर्सदको बेला धार्मिक किताब पढेर बिताउने उनी आजसम्म अविवाहित छन्। सानासाना कुरामा सन्तुष्ट हुन सके र धैर्य भए जुनसुकै काम गर्दा पनि सफलता मिल्ने उनको निचोड थियो। यही व्यापारमा जीवन सुम्पेका उनी अबको बाँकी जीवन यसै व्यापारमा समर्पित गर्न चाहन्छन्। भन्छन्, 'यतिका वर्ष यही गरियो, अब त बूढेसकाल पनि लाग्यो, यसबाहेक के नै गरिएला र!'

हेर्नुहोस् फोटो :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.