|

बारा :  प्रधानमन्त्री केपी शर्मा ओलीले देशकै दोस्रो विशेष आर्थिक क्षेत्र (सेज)को ‘ए’ ब्लकमा निर्माण गरिने गार्मेन्ट प्रशोधन केन्द्रको शिलान्यास गरेका छन्।

हेलिकोप्टर चढेर निर्धारित समयभन्दा दुई घण्टा ढिलो गरी आएका ओलीले धार्मिक विधिअनुसार केन्द्रको शिलान्यास गरी अनावरण गरेका थिए।

शिलन्यासपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले करिव एक घण्टा रमाइलो शैलीमा आर्थिक, राजनीतिक र शिक्षाको विषयमा नरोकिईकन बोलेका थिए।

भारत भ्रमण र सम्बन्ध

प्रधानमन्त्री ओलीले तीन दिनपछि भारत भ्रमण गर्न लागेको बताए। टोलीमा सहभागी हुने मन्त्री मातृकाप्रसाद यादव र रघुवीर महासेठसहित आएका ओलीले भारत नेपालको साथमा रहेको बताए। ‘कतिले विश्वास नै गरेका छैनन्’, प्रधानमन्त्री ओलीले भने, ‘भारतसँगको नेपालको सम्बन्ध नयाँ ढंगबाट अघि बढेको छ।’ भारत नेपालको विकासमा सहयोगी भूमिका निर्वाह गर्न इच्छुक भएको बताउँदै प्रधानमन्त्री ओलीले दुई मुलुकको सम्बन्ध नयाँ उचाइमा पुगेको दाबी गरे।

'देश अघि बढ्यो, ढुक्क हुनुहोस्'

प्रधानमन्त्री ओलीले देश अब अघि बढेको बताए। देश अब नयाँ युगमा प्रवेश गरेको भन्दै प्रधानमन्त्री ओलीले अब आधुनिक नेपाल बनाउने उद्‌घोषसमेत गरे। ‘अब देश अघि बढ्यो’, प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरू ढुक्क हुनुहोस्।’ अहिलेसम्म परीक्षण भएको भन्दै अब कार्यान्वयनतर्फ लाग्ने प्रधानमन्त्री ओलीले बताए।

आफूले 'इगो'का लागि लडेको नभई देशका लागि लडेको बताएका ओलीले देशको भूगोल, सर्वभौमसत्ताबाहेक सबै कुरा परिवर्तन हुने बताए। ओलीले जनताको हितका निम्ति काम गर्नका लागि सबै कुरा परिवर्तन गर्न सकिने धारणा राखे। जनताका लागि संविधान, कानुन र नियम तथा निर्णयहरू  परिवर्तन गर्न सकिने उनको भनाइ थियो।

कृषिमार्फत प्रदेश २ लाई समृद्ध बनाउन सकिने भन्दै प्रधानमन्त्री ओलीले सिँचाइको सुविधा पुर्‍याउन कमलामाई–मरिन–बागमती सिँचाइ आयोजना बनाउन आवश्यक रहेको बताए। उनले भने, ‘खेतखेतमा सोलार बोरिङ संचालन गर्न सकिन्छ।’ जमिनलाई टुक्र्याएर नभई एकजुट बनाएर सामूहिक खेती गर्न आवश्यक रहेको उनको भनाइ थियो। सहकारीमार्फत् सामूहिक खेती गर्न प्रधानमन्त्री ओलीले आह्वान पनि गरे।

'छुकछुक होइन, सलल बग्ने रेल'

प्रधानमन्त्री ओलीले तराईमा आधुनिक प्रविधिको रेल गुड्ने बताए। ‘मैले रेलको कुरा गर्दा कतिले हाँसोको विषय बनाए’, ओलीले भने, ‘छुकछुक पूर्व-पश्चिम रेलको गीत पनि बनेछ, त्यो पुरानो जमानाको रेल होइन, चुच्चो मुख भएको सलल बग्ने रेल कुद्छ।’ प्रधानमन्त्री ओलीले पहाड र हिमालको चुचुरोमा होइन, तराईको फाँटमा नै रेल गुड्ने बताए।

'मसान र खतरनाक भूत लगाइयोस्'

प्रधानमन्त्री ओलीले महिलाहरूलाई बोक्सी भनेर भइरहेको घटना गराउनेलाई कडा कारवाही गर्ने बताए। ‘बोक्सी र भूतको तन्त्रमन्त्र गर्नेलाई म भन्न चाहान्छु- मलाई मसान र खतरनाक भूत लगाइयोस्। गरिब र निमुखालाई यसको नाममा दुःख दिने कुरा सह्य हुँदैन।’ यसका विरुद्ध सचेतना जगाउनुपर्ने उनले बताए।

'प्रदेश सरकारलाई रिक्सा दिने त अवस्था छैन!'

प्रधानमन्त्री ओलीले हतारमा प्रदेश सरकार बनाउँदा मन्त्री बस्ने कोठा, गाडी नभएको बताए। ‘अहिले प्रदेश सरकारलाई गाडी होइन, रिक्सा दिने पनि अवस्था छैन’, ओलीले भने, 'मन्त्री बस्ने ठाउँ नभएर मन्त्रिपरिषद् नै सानो बनाइएको होला।’ ओलीले आफूले बनाएको तालिकाअनुसार चुनाव नभएका कारण प्रदेश सरकार अस्तव्यस्त भएकोतर्क गरेका थिए।  देशभर संघीय, प्रदेश र स्थानीय गरी ७६१ वटा सरकार रहेको बताए।

'चकचके बालिकालाई भर्ना गर्छु'

प्रधानमन्त्री ओलीले सरकारले बैशाख ५ गते विद्यालय भर्ना अभियानको हमला गर्ने बताए। ‘शिक्षामा पछि पर्नुमा अभाव भएर होइन’, प्रधानमन्त्री ओलीले भने, ‘इच्छाशक्ति नभएर हो।’ बैशाख ५ मा सप्तरी वा सिरहाको एक बालिकालाई आफैँले भर्ना गराउने बताउँदै प्रधानमन्त्री ओलीले सबै जनप्रतिनिधिले एक/एक जना बालबालिकालाई भर्ना गराउने बताए। ‘म आफैँ तराईका डोम, चमारका छोरीलाई औँला समातेर विद्यालय लगेर भर्ना गराउँछु’, प्रधानमन्त्री ओलीले भने, ‘त्यसका लागि मेरो शर्त भने बालिका एकदमै चकचके हुनुपर्नेछ।’

देशभरिका सबै जनप्रतिनिधिले बालबालिका भर्ना गराउने हो भने अर्को पटक भर्ना गर्न बालबालिका खोज्नुपर्ने अवस्था आउने विश्वास उनले व्यक्त गरे।

आसन गर्न पाइयो, शासन गर्न पाइएन : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आ;न गर्न पाइए पनि शासन गर्न नपाइएको बताएका छन्। मुख्यमन्त्री राउतले सुरक्षा संयन्त्र प्रदेश मातहत नहुँदा सुरक्षाको विषयमा कुनै काम गर्न नपाइएको गुनासो गरे। मुख्यमन्त्री राउतले वैदेशिक लगानी भित्र्याएर उद्योग स्थापना गरेर समृद्धि प्राप्त गर्न सकिने बताए।

प्रदेशसभा सदस्य सुन्दर विश्वकर्माले सरकारबाट बारामा प्रस्तावित आयोजना समयमै पूरा हुनेमा आशावादी रहेको बताए।

जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा. कृष्ण पौडेलले विशेष आर्थिक क्षेत्रभित्र १०औँ हजारको रोजगारी सिर्जना हुने भन्दै अस्पताल र एक्जिभिसन हल निर्माण गर्न आवश्यक रहेको बताए।

टांगियावस्तीबारे अनुरोधपत्र पेस

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका- १६ का वडा अध्यक्ष केदारनाथ बजागाईंले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित टाँगियावस्तीको न्यायोचित व्यवस्थापनका लागि प्रधानमन्त्री ओलीको ध्यानकर्षण गराउँदै अनुरोधपत्र पेस गरे। त्यस्तै, कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाए। वडा नम्बर- ४ का अध्यक्ष ईश्वर खत्रीले पनि सेज प्रभावितको विषयमा ज्ञापनपत्र बुझाएका थिए।

उद्योगमन्त्री मातृकाप्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा भौतिक तथा यातायात विकासमन्त्री रघुवीर महासेठ, प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थ, प्रतिनिधिसभा, प्रदेशसभाका सदस्यलगायतको उपस्थिति थियो।

औराहामा निर्माण हुन लागेको उक्त प्रशोधन केन्द्र ८४३ विगाह क्षेत्रफलमा फैलिएको छ। नेपाल सरकारको विशेष आर्थिक क्षेत्र प्राधिकरण कार्यक्रमअन्तर्गत करिव १० अर्ब रुपैयाँको लगानीमा उक्त केन्द्र निर्माण हुन लागेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.