कारबाही रकम ५० हजार पुर्‍याउनुपर्छ : प्रहरी

|

काठमाडौं : मादक पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउनेमाथिको कारबाही प्रभावकारी हुँदै गएको ट्राफिक प्रहरी महाशाखाको तथ्यांकले देखाएको छ। मापसे चेकजाँचले गर्दा सवारी दुर्घटनामा कमी मात्र होइन, राजस्व संकलनमा समेत उलेख्य वृद्धि भएको देखिएको छ। 

मापसे गरेर सवारीसाधन चलाउँदा दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीले १७ मंसिर ०६८  देखि मापसे चेकजाँच अभियान सुरु गरेका हो। मापसे गरेर सवारी चलाउनेलाई एक हजार रुपैयाँ जरिवानादेखि सवारी चालक अनुमितपत्र (लाइसेन्स) प्वाल पारेर खारेजसम्मको सजाय हुने व्यवस्था रहेको छ।

मापसे कारबाही एक हजार होइन ५० हजारसम्म राख्‍नुपर्छ

नेपालको सडकको अवस्था कमजोर भएको त्यस अवस्थामा मापसे गरेर सवारी साधन चलाउँदा दुर्घटनाको सम्भावना झन् बढ्ने ट्राफिक प्रहरीको भनाइ छ।यद्यपी प्रहरीले मापसेमा आफूले कारबाही गर्ने नभएर सवारी चालकको सुरक्षा गर्ने बताएको छ। 

ट्राफिक महाशाखाका सहप्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) मुकुन्द मरासैनी मापसे गरेर सवारी चलाउन नहुने बताउछन्। उनी मापसे गरेर सवारी चलाउनेलाई कारबाही गर्नुलाई प्रहरीले आफ्नो सुरक्षा गरेको रुपमा बुझ्नुपर्ने बताउछन्। डिएसपी मरासैनीका अनुसार मापसे गर्नेलाई अहिले गरिएको जरिवाना कम भएको छ। उनी यसलाई बढाउनुपर्ने, चालकलाई शिक्षा दिनुपर्ने, ट्राफिक नियमबारे व्यापक जानकारी दिनुपर्ने, जनचेतनाका कार्यक्रम अगाडि बढाउनुपर्ने बताउछन्। 

मापसेमा गरिने जरिवाना बढाउनुपर्ने र कारबाहीमा वृद्धि गर्नुपर्ने प्रहरीको भनाइ छ। हाल ट्राफिक प्रहरीले मापसे गर्नेलाई एक हजार जरिवाना, सवारी चालक अनुमतिपत्र (लाइसेन्स)मा प्वाल पार्ने र एक घण्टा प्रशिक्षणमुलक कक्षा लिने गरेको छ। मापसे गरेर दुर्घटना गराउनेको भने सवारी चालक अनुमतिपत्र खारेज गर्नेसम्मको कारबाही गरिन्छ।

यो कारबाही पर्याप्त नभएको प्रहरीको बुझाइ छ। पर्याप्त नभएकै कारण मापसे चेकजाँचको तथ्यांक वर्षेनी थोरैले मात्र कम भएको पाइन्छ। यसमा व्यापक परिवर्तन गरेर कारबाहीको दर बढाएमा कमी आउने प्रहरीको आंकलन छ। 'मापसे गर्नेहरूको संख्या सवारी थपिएको तुलनामा घटेको छ, तर नियन्त्रित भएको छैन। यति ठूलो अभियान चलाउँदा पनि वार्षिक २५ हजार भन्दा बढी मापसेमा परिरहने गरेका छन्', डिएसपी मरासिनी भन्छन्, 'मापसे नियन्त्रण गर्ने हो भने जरिवाना थोरै भएको छ, यसलाई बढाएर एक हजार रुपैयाँ लिने ठाउँमा २५ हजार अथावा ५० हजार को दरमा जरिवाना गरेमात्र मापसे नियन्त्रण गर्न सहज हुन्छ। त्यसका लागि प्रहरीले पहल गरिरहेको छ।'

अहिलेसम्म ट्राफिक प्रहरीले मापसे सेवन गरेर सवारी चलाउने २ लाख ५९ हजार ६१२ जना पुरुष र १ हजार ५३८ जना महिला गरी जम्मा २ लाख ६२ हजार १५० जना कारबाहीमा परिसकेको ट्राफिक प्रहरीको तथ्‍यांक छ। मापसे गरेर सवारी चलाउनेहरूबाट २३ करोड ७२ लाख ८१ हजार राजस्व संकलन भएको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ। 

कारबाहीमा परेका २३ हजार ८६९ जना भने जरिवाना बुझाउन नआएको तथ्यांकमा उल्लेख छ। उनीहरूका कागजपत्र ट्राफिक प्रहरी महाशाखा बग्गीखानामा रहेका छन्। 

यस्तो छ, मापसे गरेर सवारी चलाउनेको तथ्यांक

मापसे चेकजाँच सुरु गरिएको आर्थिक वर्ष ०६८/६९ मा ३९ हजार ४८० पुरुष र १८७ महिला रहेका छन्। त्यस्तै, आर्थिक वर्ष ०६९/७० मा मापसे गर्नेहरूको संख्या ५१ हजार ९९३ पुरुष र २८७ महिला छ। आर्थिक वर्ष ०७०/७१ मा ५४ हजार १६० पुरुष र ३७५ महिला मापसेको कारबाहीमा परेका थिए। मापसे गरेर सवारी चलाएर बर्सेनि कारबाहीको संख्यामा बढ्दै गएको बेला आर्थिक वर्ष ०७१/७२ देखि भने मापसे कारबाहीको संख्यामा कमी आएको देखिन्छ।

उक्त आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा घटेर ३५ हजार ७५६ पुरुष र ३०९ महिला कारबाहीमा परेका थिए। यस्तै, आर्थिक वर्ष ०७३/७४ मा घटेर २८ हजार ७९९ पुरुष र ९७ महिला रहेका छन्।

चालू आर्थिक वर्ष ०७४/ ७५ को फागुन महिनासम्मको तथ्‍यांकअनुसार २० हजार ४३६ पुरुष र ४९ महिला मापसे गरेर सवारी चलाएकामा कारबाहीमा परिसेका छन्। मापसेमा पछिल्लो वर्षहरूमा कमी आउनुमा चालकमा आएको जनचेतना भएको ट्राफिकको बुझाइ छ।

विगतमा ट्राफिक प्रहरीले जरिवाना उठाएवापत १५ प्रतिशत कमिसन पाउँदै आएका थिए। कतिपय सवारीचालकहरूले १५ प्रतिशत कमिसनकै नाममा जथाभावी दुःख दिने गरेको गुनासो गरेपछि तत्कालिन सरकारले सरकारले ०७३ साल जेठ महिनादेखि उक्त सुविधा हटाएको थियो। यसले गर्दा ट्राफिक प्रहरीको चेकजाँचमा कमी आएको कतिपय सवारी चालकको भनाइ छ। तर, डिएसपी मरासिनी भने यसले कुनै असर नगरेको बताउँछन्। 

'सवारी चालकले नियम मिच्दा ट्राफिकले चिट काट्यो भनेपनि कामिशन खान पाइन्छ भनेर काट्यो भन्ने र चिट काटेन भने कमिशन नपाइने भयो भनेर काटेन भन्ने दुइटै धारणा गलत हो र सधैँभरी गलत हो', मरासिनी भन्छन्, 'नेपाल प्रहरीले आफ्नो दायित्वसँग सरोकार राख्छ, केही पाउने र दिनेसँग सरोकार राख्दैन। हामी के भन्छौँ भने अहिले जति आर्थिक कारोबार भइरहेका छन् ट्रफिक प्रहरीसँग क्यास(नगद)मा हुँदैन।'

उनले प्रहरीले मापसे गर्नेलाई कारबाही गरेको रकम बैंकमा जम्मा हुने र त्यो रकम सिधै राजश्वमा जाने बताए। प्रहरीले कमिशन खान नपाउने भनेर कारबाही गर्दैन भन्ने बुझाइ तथ्यांकले पनि गलत पुष्टी गर्ने उनको भनाइ छ।  उनी भन्छन्, 'गतवर्ष २८ हजार कारबाहीमा परेका छन् करिब २० हजार यो वर्ष कारबाहीमा परेका छन्। यो तथ्यांकले नै बोल्छ। हामीले सकरात्मक सोच राख्नुपर्ने हुन्छ।'

मापसे  कारबाहीमा पुरुषको बाहुल्यता, न्यून महिला

ट्राफिक प्रहरीको तथ्यांकअनुसार मापसे चेकजाँच सुरु भएदेखि अहिलेसम्म २ लाख ६२ हजार १५० चालक कारबाहीमा परेका छन्। कारबाही पर्ने समय भने राति रहेको प्रहरीको भनाइ छ। दिउँसो पनि चेकजाँच हुने भए पनि मापसे गर्ने भने राति मात्रै पक्राउ पर्ने प्रहरीले जानकारी दिएको छ।

यो तथ्यांक हेर्दा पुरुषको संख्या अत्याधिक छ। तथ्यांकअनुसार एक हजार ५ सय ३८ महिला मापसे गरेको कारबाहीमा परेका छन्।

शुक्रबार मापसे गर्ने धेरै

ट्राफिक प्रहरीको तथ्यांक अनुसार मापसे गरेर सवारी साधन चलाउनेहरू मध्ये शुक्रबार धेरै भएको उल्लेख छ। त्यस्तै, सार्वजनिक विदा भएको अघिल्लो दिन र विदाका दिनहरूमा बढी कारबाहीमा पर्ने गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.