|

कालीकोट : पूर्वाधार विकासमा ध्यान नदिई कर्णाली प्रदेश सरकारले २०७५ साललाई कर्णाली–रारा पर्यटन वर्ष घोषणा गरेकामा स्थानीयले अापत्ति जनाएका छन्। पर्यटन वर्ष सुरु हुनै लाग्दा सुर्खेतदेखि रारासम्मको सडक, संचार र पर्यटक वासस्थान जस्ता पूर्वाधारमा समस्या देखिएको हो। सुर्खेतदेखि मुगुको रारासम्म जाने सडक, पर्यटक वासस्थानको पूर्वाधारमा कमी रहेको मुगु रारा छायानाथ नगरपालिका- ५ पिनाका स्थानीय नवराज बुढाले बताए। ‘कर्णाली पर्यटन वर्ष मनाउने सरकारको निर्णय स्वागतयोग्य छ’, उनले भने, ‘तर पूर्वाधार विकासमा भने सरकारले ध्यान दिएको पाइँदैन।’

सडकको समस्या

कर्णाली प्रदेश राजधानी सुर्खेतदेखि मुगुको रारासम्मको ३०० किलोमिटर कर्णाली सडक खणड स्तरोन्नति गर्न आवश्यक छ। 'सडकमा खाल्डाखुल्डी परेका छन्। वर्षायाममा आएको पहिरो अझै पन्छाएकाे छैन। विना पूर्वाधार सरकारले कर्णाली पर्यटन वर्ष मनाउन लागेकाे देखिन्छ', सडक डिभिजनका निमित्त कार्यालय प्रमुख माधव अधिकारीले बताए। प्रमुख अधिकारीले भने, ‘सरकारले सडक, पर्यटकलाई वासलगायतका पूर्वाधार विकासमा भने ध्यान दिन सकेन।' अहिलेसम्म बजेटकाे व्यवस्था नगरेको र बजेटका अभावमा सडकको स्तरोन्नति नभएको उनको भनाइ छ। 

सडक पूर्वाधार विकास नभएका कारणले रारा आउने पर्यटकलाई केही समस्या हुने स्थानीय कालीकोटका स्थानीय राजबहादुर शाहीले बताए। ‘रारा पर्यटन वर्षको आयोजना गरिएको छ’, उनले भने, ‘यसबीचमा कर्णाली राजमार्गको स्तरोन्नति नगरे पर्यटकलाई सास्ती हुनेछ।’

रारा आसपासका होटेलमा वास पाउन गाह्रो

रारा ताल हेर्न आउने आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएपछि रारामा रहेको एक मात्र डाँफे होटल र मुगुको ताल्चा विमानस्थलका होटलहरू भरिभराउ हुन थालेका छन्। रारा घुम्न हवाई तथा स्थलमार्गबाट सहज भएर आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएपछि होटलहरू भरिभराउ भएका हुन्।

 

रारा ताल घुम्न दिनहुँ हवाई तथा सडकमार्ग भएर ३०० बढी आन्तरिक पर्यटक आउने गरेको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ। रारा घुम्न आउने पर्यटकको संख्या पछिल्ला दिनमा निकै बढेको र त्यसकाे चाप मुगुका होटलहरूले थाम्न नसकेको तथा रारा घुम्न आउने पर्यटकले न्यानो कपडा र अन्य बन्दोवस्तीका सामान आफैँ ल्याउने गरेको ‘भिजिट कर्णाली टुर्स एन्ड ट्राभल्स’का संचालक राजु कार्कीले बताए।

‘रारा घुम्न आउने आन्तरिक पर्यटकको चाप निकै बढेको छ’, उनले भने, ‘वास नपाउने समस्या पनि हुन सक्ने भएकाले रारा घुम्न आउने पर्यटकले न्यानो कपडा तथा आवश्यक औषधि साथमा ल्याउनका लागि आग्रह गरेका छौँ।’

हवाईजहाज, बस, जीप र मोटरसाइकलमा आन्तरिक पर्यटक घुम्न आउने गरेका पर्यटकलाई वासस्थानको समेत समस्या हुने गरेको ताल्चा विमानस्थलका होटल व्यवसायी पूर्णादेवी बमले बताइन्। ‘एक्कासि पर्यटकको चाप निकै बढ्यो’, उनले भनिन्, ‘पूर्व तयारीविना पर्यटकको चाप एक्कासि बढ्दा हामीले सेवा सुविधा दिन सकिरहेका छैनौँ।’

रारा ताल छेउमै रहेको रारा राष्ट्रिय निकुञ्जको चमेनागृह, डाँफे होटल र रारा भिलेज रिसोर्टमा वास बस्न ठाउँ अपुग भएपछि पर्यटक डेढ घन्टा टाढाको ताल्चा विमानस्थल, सदरमुकाम गमगढी तथा माझघट्टका होटलमा वास बस्ने गरेका स्थानीय रामबहादुर बुढाले बताए। ‘रारा राष्ट्रिय निकुञ्जभित्र एक/दुईवटा मात्र होटल छन्’, उनले भने, ‘रारा घुमेर टाढाको होटलमा वास बस्न जानु पर्यटकको बाध्यता छ।’

रारा घुम्ने विदेशी पर्यटक कम

सुन्दर र रमणीय रारा तालमा विदेशी पर्यटकहरू कमै आउने गरेका छन्। रारामा उचित वासस्थान र सहज यातायात नहुँदा विदेशी पर्यटकको रोजाइमा रारा कम पर्ने गरेको छ। रारा राष्ट्रिय निकुञ्जको तथ्यांकअनुसार रारामा विगत पाँच वर्षदेखि विदेशी पर्यटक आगमन समान अवस्थामा देखिएको छ। आर्थिक वर्ष २०६२/०६३ देखि हालसम्म रारा आउने विदेशी पर्यटकको संख्या एकनासको देखिएको छ। 

रारा घुम्न आएका विदेशी पर्यटकको तथ्यांक सबैभन्दा बढी आर्थिक वर्ष २०६७/०६८ मा २०७ र सबैभन्दा कम आर्थिक वर्ष २०६३/०६४ मा चार जना रहेकामा आर्थिक वर्ष २०७२/०७३ मा १५७ जना र आर्थिक वर्ष २०७३/०७४ मा २०१ जना विदेशी पर्यटकले रारा भ्रमण गरेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले बताए। ‘४/५ वर्षयता रारा घुम्न आउने विदेशी पर्यटकको संख्या एकै नासको रहेको छ’, उनले भने, ‘धेरै समस्याका कारणले रारामा विदेशी पर्यटक कम आउने गरेका छन्।’

आन्तरिक पर्यटक भने धेरै 

विदेशी पर्यटकहरू रारामा कम आउने गरेको भए पनि आन्तरिक पर्यटकको संख्या भने निकै बढेको छ। आर्थिक वर्ष २०७२/०७३ मा २० हजार, आर्थिक वर्ष २०७३/०७४ मा ६० हजारले रारा भ्रमण गरेको अधिकृत चौधरीले बताए। ‘रारा घुम्न आउने पर्यटकका लागि उचित खान, बस्न तथा मनोरंजनको व्यवस्था हुन नसकेका कारण रारा आउने पर्यटकको संख्या वृद्धि हुन नसकेको हो’, उनले भने, ‘पर्यटकलाई समेत रारा र आसपासका मध्यवर्ती क्षेत्रमा रहेका केही होटलले धान्न सकेका छैनन्।'

रारा पुग्दा भुल्ने नहुने छायानाथ मन्दिर र चंखेली हिमाल

रारा ताल घुम्न जाने पर्यटकहरूले मुगुकै चैन गाउँमा रहेको छायानाथ मन्दिरमा भ्रमण गर्न सक्छन्। रारा तालको जति प्रचार भएको छ, त्यत्तिकै छायानाथ मन्दिर पश्चिम नेपालमा चर्चामा रहेको छ।  

साविक गाविस डोल्पुमा रहेको छायानाथ मन्दिरमा साउनको जनै पूर्णिमामा मेला लाग्ने गर्छ। जुम्लाको ठाकुरज्यूको गाथ पुजारीका साथ बाजागाजा र सुरक्षाकर्मीसहित डोल्पुमा रहेको छायानाथ मन्दिरबाट छायानाथ तीर्थयात्रा सुरु हुन्छ। ठाकुरज्यूको गाथ जनै पूर्णिमासम्म छायानाथ मन्दिरमा रहने र दर्शनका लागि सेती, महाकाली, राप्ती र कर्णाली अंचलबाट महिला पुरुष धामीझाँक्रीसहित तीर्थालुको लर्को लाग्ने गरेको छ।  

जनै पूर्णिमामा छायानाथमा पाँच दिनसम्म पूजापाठ, होम-ब्रत हुने र त्यसमा वरदान माग्न १५ जिल्लाबाट तीर्थालुको ओइरो लाग्ने गरेको छायानाथ मन्दिरका पुजारी लक्ष्मीप्रसाद चौलागाईंले बताए। ‘पश्चिम नेपालका प्रायः मानिस यहाँ पूजा गर्न आउने गरेका छन्’, उनले भने, ‘यो मन्दिर बद्री केदारनाथको धाम नै हो।’ छायानाथ मन्दिरमा जाने तीर्थालुहरूले पिण्डदान, गौदान, ब्रतबन्ध गरेर र आफूले चिताएको वरदान मागेर फिर्ता हुने गरेका छन्। छायानाथ शिवजी शक्तिपीठको रूपमा परिचित छ। 

हिन्दुका तीनवटा शक्तिपीठमध्ये बद्रीनाथ, केदारनाथ भारतमा पर्ने र छायानाथ मुगुमा पर्ने पुजारीको भनाइ छ। समुद्री सतहदेखि करिव चार हजार ५०० मिटर उचाइको हिमरेखामा रहेको छायानाथ मन्दिरभन्दा माथि शिव, पार्वती र विष्णुको मूर्ति अंकित गुफा रहेका छन्।

चंखेली हिमाल

मुगुको रारातालको भ्रमणमा रहँदा एउटा भुल्नै नहुने हिमालका रूपमा चंखेली हिमाल रहेको छ। नेपाली एक रुपैयाँको नोटमा चित्रित चंखेली हिमाल ओझेलमा रहेको छ। कतिलाई त थाहा नै छैन कि एक रुपैयाँको नोटमा अंकित चित्र चंखेली हिमालको हो भनेर। 

मुगु जिल्लाको रुगा गाविसमा रहेको चंखेली हिमाल संरक्षणको अभावमा ओझेलमा परेको छ। पछिल्लो समय चंखेली हिमाल संरक्षणमा कसैले चासो नदिँंदा ओझेलमा परेको हो। रारा छायानाथ र चंखेली हिमाल रहेको मुगुमा भएका पर्यटकीय सम्भावना बोकेका यस्ता प्राकृतिक स्रोतको संरक्षण गरी प्रचार प्रसार र प्रवर्द्धन गर्न सके राम्रो आम्दानी गर्ने ठाउँ भए पनि नसकिएको स्थानीय विश्वराज बुढाले बताए। ‘अन्नबाली उत्पादन कम हुने भए पनि पर्यटकीय अन्य सम्भावना छ’, उनले भने, ‘प्रचार प्रसारको अभावले अझै यी क्षेत्रहरू ओझेलमा पर्ने गरेका छन्।’

यो हिमाल आसपासका क्षेत्रमा पनि प्राकृतिक सौन्दर्य र मनोरम दृश्यसँगै बहुमूल्य जडिबुटी कटुकी, चिराइतो, भुल्त्या, सिलाजितलगायत पनि पाइन्छ। चंखेली हिमाल हुम्ला र मुगुको सिमानामा पर्छ।

प्रधानमन्त्रीले राराबाट राष्ट्रका नाममा सम्बोधन गर्ने

पर्यटन वर्षको उद्घाटन प्रधामन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन्। वर्षभरि नै पर्यटन प्रवर्द्धनका गतिविधिहरू संचालन गर्न कर्णाली प्रदेश सरकारले बैशाख १ गते रारा तालमा पर्यटन वर्षको उद्घाटन गर्न लागेको हो। उद्घाटनस्थल रारा तालबाटै प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यतालिका छ।

प्रदेशको बलियो आधार पर्यटन क्षेत्र भएकाले सरकारले आगामी वर्षलाई पर्यटन वर्षका रूपमा मनाउन लागेको बताइएको छ। कर्णाली प्रदेशको पर्यटन क्षेत्रलाई प्रचार प्रसार गर्न प्रदेश सरकारले रारातालमा कर्णाली–रारा पर्यटन वर्षको शुभारम्भ गर्दै छ।

भौतिक पूर्वाधारका कामहरू सम्पन्न भएपछि मात्रै पर्यटन विकास गर्न सकिने भएकाले आगामी वर्षलाई पर्यटन वर्षको रूपमा मनाउन लागेको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए। ‘यहाँको मुख्य आधार भनेकै पर्यटन क्षेत्र हो’, शाहीले भने, ‘प्रदेशभित्रका सबै पर्यटन क्षेत्रमा पर्यटकहरूलाई सहज रूपमा पुर्‍याउन हामी कटिवद्ध छौँ।’ 

कर्णालीको विकासमा पर्यटन दरिलो आधार भएकाले शुभारम्भ रारा तालबाट गर्न लागेको मुख्यमन्त्री शाहीले जानकारी दिए। मुख्यमन्त्री शाहीले सुर्खेतदेखि हुम्ला र कालीकोटदेखि पश्चिम रुकुमका पर्यटन क्षेत्रहरूको विकास गर्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छन्। पर्यटनको खानी रहेको कर्णाली प्रदेशले आन्तरिक र बाह्य पर्यटक भित्र्याउनमा सरकारले प्याकेज नै घोषणा गर्न लागेको बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.