बिहान ९ र अपराह्न ४ बजे टिप्छ नेटवर्क

|

  • हेमन्त केसी

जाजरकोट : वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले चुनावताका भोट माग्दै बारेकोट पुगेका थिए। त्यो समय उनको मोबाइलमा नेटवर्क टिपेन। नेटवर्क नआएपछि उनले त्यस क्षेत्रमा टेलिफोन सेवा सुधार गर्ने घोषणा गरेका थिए। त्यस्तै, उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता राजिवविक्रम शाहले पनि जिल्लाको सञ्चार सेवा भरपर्दो बनाउने भन्दै चुनाव लडेको थिए। बस्नेतले चुनाव जितेर मन्त्री भए भने राजिव चुनावमा पराजित भएपछि जाजरकोट फर्केका छैनन्। तर, फोन सेवा पहिले जस्तो थियो अहिले पनि त्यस्तै छ।

बारेकोट गाउँपालिका–५ का प्रेम शाही फोन गर्नका लागि घडी सुई हेरेर कुर्ने गरेको बताउँछन्। बिहान ९ बजे उनको मोबाइलमा नेपाल टेलिकमको स्काइको नेटवर्क देखिन्छ। ९ बजे आएको नेटवर्कले करिब एक घण्टासम्म मात्र काम गर्ने उनले बताए। त्यसपछि अपराह्न ४ देखि ६ बजेसम्म पुनः मोबाइल फोनले काम गर्ने उनले बताए। 

मोबाइल फोनमा नेटवर्क नभएर हैरान हुनेमा शाही मात्र एक जना होइनन्। वीरेन्द्र एश्वर्य मावि लिम्साका शिक्षक कालीप्रसाद थापा पनि नेटवर्कले काम नगर्दा हैरान छन्। विद्यालयको कामका लागि फोन गर्नुपर्ने भएपनि नेटवर्क नहुँदा मर्कामा परेको उनले बताए। फोन सेवा सुधारका लागि जिल्ला, प्रदेश, केन्द्रसम्म धाएपनि कसैले ध्यान नदिएको थापाको भनाइ छ। फोन गर्नकै लागि एक दिन हिँडेर सक्लासम्म जानु परेको  बारेकोटेवासीको गुनासो छ। यस क्षेत्रका करिब आठ हजारभन्दा बढी बासिन्दा मोबाइल फोनको नेटवर्कले काम नगर्दा मर्कामा परेका छन्। बिरामी हुँदा, कार्यालयको काम गर्दा, कुनै घटनाबारे प्रहरीलाई सूचना दिन समस्या भएको छ। 

यहाँका नागरिकले यस क्षेत्रका जनप्रतिनिधिलाई टेलिफोनको समस्या कहिले समाधान हुन्छ भनी कयौं पटक प्रश्न गर्दा पनि समस्या समाधानका लागि पहल नगरेको बारेकोट गाउँपालिका–७ का हरिबहादुर पुनले गुनासो पोखे। बारेकोटको रतनकोटमा नेपाल टलिकमको स्काइ प्रविधिको टावर भएपनि त्यसले काम नगर्दा स्थानीयवासी मर्कामा परेका छन्। 

मोबाइल फोनको नेटवर्कमा आएको समस्याबारे नेपाल टेलिकम जाजरकोट शाखाका प्रमुख लोकेन्द्र भण्डारीसँग जानकारी लिँदा उनले टावरमा समस्या आएकाले यस्तो भएको बताए। उनले बिग्रिएको सामग्री पठाउने तयारी भइरहेकाले समस्या चाँडै समाधान हुने बताए। यसका साथै सोही ठाउँमा नयाँ टावर राख्ने काम केही समयमै सुरु हुने आश्वासन दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.