|

नागरिकता के हो? नागरिकता परिचय मात्र होइन, अधिकार र कर्तव्यको बोध गराउने पत्र पनि हो।

एउटा नागरिक १६ वर्ष उमेर पुगेपछि नागरिकता प्राप्त गर्न योग्य हुन्छ। नेपालको संविधानमा १६ वर्ष पूरा गरेको व्यक्तिले सजिलै नागरिकता पाउने प्रावधानको व्यवस्था छ।

नागरिकता गृहमन्त्रालयअन्तर्गतको जिल्ला प्रशासन कार्यालयले वितरण गर्छ। सरकारी सेवामा प्रवेश गर्न, घर जग्गा खरिद गर्न, चुनावमा भोट हाल्न मात्र होइन, बैंक खाता खोल्नलगायतका हामीले गर्ने धेरै नियमित काममा नागरिकता वा त्यसको प्रतिलिपि अनिवार्य हुन्छ।

हामी सानो किताब, कापीलाई गाता हालेर सुरक्षित गर्छौं तर कर्तव्य र अधिकारको बोध गराउने नागरिकतालाई भने त्यति धेरै जतन गरेका हुँदैनौँ। जतन नगर्नुको अर्थ हुन्छ- यसको महत्त्व नबुझ्नु।

तथ्यांकले नयाँ नागरिकताको हाराहारीमा प्रतिलिपि नागरिकता जारी भएको देखाउँछ। प्रतिलिपि लिन आउनेहरूमा सबैभन्दा नागरिकता हराएर आउनेहरूको संख्या बढी छ।

हामीले गर्ने महत्त्वपूर्ण कामको प्रयोजनका लागि चाहिने नागरिकताको प्रमाणपत्र झण्डै ५० प्रतिशतले हराउँछन्, च्यात्छन् वा जतन गर्दैनन्।

जिल्ला प्रशासन कार्यालय लमजुङको पछिल्लो तथ्यांकअनुसार फागुन महिनामा मात्र ३४० नयाँ नागरिकता जारी भए भने ३०६ प्रतिलिपी नागरिकता जारी भए। यो तथ्यांकले नयाँ नागरिकताको हाराहारीमा प्रतिलिपि नागरिकता जारी भएको देखाउँछ। प्रतिलिपि लिन आउनेहरूमा सबैभन्दा नागरिकता हराएर आउनेहरूको संख्या बढी छ।

केही नागरिकता पानीमा भिजेका कारण बिग्रिएका थिए। कतिको फोटो बिग्रिएको थियो भने अधिकांश प्रतिलिपि लिन आउनेहरूले नागरिकता हराएको बताएका छन्।

चैत १९ गते मात्र जिल्ला प्रशासन कार्यालय लमजुङले १४ वटा नयाँ नागरिकता जारी गर्‍यो भने १९ प्रतिलिपि नागरिकता जारी भए। नागरिकता हरायो र च्यातियो भन्दै पुनः बनाउन आउनेको संख्या दैनिक २० देखि २५ पुग्छ।

नागरिकता हरायो भन्नेहरूमा बुढापाका भन्दा पनि युवाहरू बढी देखिएका छन्। यात्रा गर्दा हराएको, पर्ससँगै हराएको, च्यातिएको भन्दै प्रतिलिपि नागरिकता लिन आउने युवाहरूको लर्को हुने गर्दछ।

प्रतिलिपि नागरिकता प्राप्त गर्ने आधारहरू

नागरिकता हराउने व्यक्तिले हराएको पुरानो नागरिकताको फोटोकपीसहित तोकिएको फारम भरी गाउँपालिका/नगरपालिकाका वडा कार्यालयका अध्यक्षको सिफारिसपत्रसहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्छ।

 प्रशासनले आफ्नो रेकर्डका आधारमा प्रतिलिपि नागरिकता प्रदान गर्छ। नागरिकता नम्बर थाहा भएमा जिल्ला प्रशासन कार्यालयले करिव एक घण्टामा प्रतिलिपि नागरिकता प्रदान गर्छ।

नागरिकताको प्रतिलिपि सहज तरिकाले पाउने भएका कारण पनि मानिसहरू नागरिकता हराएमा खोज्नभन्दा पनि प्रतिलिपि बनाउन लागेका भेटिन्छ। सजिलै प्रतिलिपि पाउने भएका कारण पनि मानिसहरूले नागरिकतालाई जतन गरेका हुँदैनन्। यसलाई रोक्न नेपाल सरकारले प्रतिलिपि नागरिकता फारमको वडा सिफारिसको मूल्य वृद्धि गर्न आवश्यक छ।

नागरिकताको सुरक्षा कसरी गर्ने?

जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्राप्त गरिसकेपछि नागरिकतामा प्लास्टिकको कभर राख्ने गरे पानीबाट वा च्यातिनबाट जोगाउन सकिन्छ।

नागरिकताको फोटोकपी एकै पटकमा धेरै गरेमा धेरै ठाँउ फोटोकपीले काम चल्छ। तसर्थ सक्कल नागिरकता बोकिरहनुपर्दैन र बोक्दा हराउने संभावना कम हुन्छ।

फोटोकपी भए पुग्ने प्रयोजनका लागि सक्कली नागरिकता नबोक्ने र नागरिकता सधैँ पर्समा नबोक्ने गर्दा थप सुरक्षित हुन्छ।

बच्चाबच्चीले भेट्ने ठाउँमा नागरिकतालगायत महत्त्वपूर्ण डकुमेन्ट नराख्नु राम्रो हो। नागरिकतालाई स्क्यान गरेर कम्प्युटर, ईमेलमा राख्ने बानी बसाल्यौँ भने सुरक्षित रहन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.