|

काठमाडौं : सञ्चार, सूचना तथा प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले फोटो पत्रकारितालाई पनि राज्यले आफ्नो प्राथमिकता राख्ने बताएका छन्।

राष्ट्रिय फोटो पत्रकार समूहको ज्ञापनपत्र बुझ्दै उनले यसअघि राज्यले फोटो पत्रकारितालाई समेट्न नसकेको भन्दै फोटो पत्रकारितालाई राज्यले प्राथमिकतामा राख्ने बताएका हुन्।

फोटो पत्रकारले नेपालको पत्रकारितामा खेलेको भूमिकाको सराहना गर्दै उनले फोटो पत्रकारको रचनात्मक कार्यलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मन्त्री बाँस्कोटालाई समूहका सचिव प्रदीपराज वन्तले सात बुँदे ज्ञापनपत्र बुझाएका थिए।

ज्ञापनपत्रमा फोटो पत्रकारको जीविकोपार्जनका लागि न्यूनतम पारिश्रमिक निर्धारण राज्य पक्षबाट गराउनुपर्ने, फोटो पत्रकारले जोखिम भोलि कार्यसम्पादन गर्नुपर्ने भएकाले जीवन बीमाको साथै सञ्चार सामग्री (क्यामेरा)को पनि बीमाको व्यवस्था गर्नुपर्ने, नेपाल सरकारको राजकीय तथा अन्य उच्चस्तरीय विदेश भ्रमण हुँदा फोटो पत्रकारलाई संलग्न गराउनुपर्ने, लेख्ने पत्रकारसरह फोटो पत्रकारलाई पनि समान अवसर मिल्ने वातावरण बनाउनुपर्ने लगायतका माग रहेका छन्।

यसैगरी फोटो पत्रकारको हकहितका लागि ५० लाख रुपैयाँ बराबरको अक्षय कोषको स्थापना गर्नुपर्ने, ‘राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार’ का निम्ति राज्यबाट न्यूनतम २० लाख रुपैयाँ बराबरको अनुदान रकम हरेक वर्ष छुट्याउनुपर्ने लगायतका माग रहेका छन्।

यसैगरी समूहले आउँदो वैशाख १३ गते मनाउन लागेको फोटो पत्रकारिता दिवसका बारेमा पनि मन्त्री बाँस्कोटालाई जानकारी गराइएको समूहका सचिव वन्तले जानकारी दिए। समूहमा ३३ जिल्लाका ५०० फोटो पत्रकार आबद्ध छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.