|

काठमाडौं : पहिलो पटक राजधानी काठमाडौंमा अन्तर्राष्ट्रिय छन्दउत्सव हुने भएको छ। छन्दकवितालाई विश्वव्यापी बनाउने अभियानमा जुटेको 'छन्द-अलङ्कार'को आयोजनामा चैत २४ गते हुन लागेको उत्सवमा अमेरिका, बेलायत, जापान, भारत र नेपालका नेपाली कविको सहभागिता रहने आयोजकले जनाएको छ।

कार्यक्रममा छन्दकविद्वय एवम् छन्द अभियन्ता डा. रामप्रसाद ज्ञवाली र डा. देवी नेपालले 'छन्दकविता लेखन : अबको गन्तव्य' विषयमा अवधारणापत्र प्रस्तुत गर्नेछन्। उक्त अवधारणापत्रमाथि सामूहिक छलफल गराइने डा. नेपालले जानकारी दिए। 

कार्यक्रममा पहिलो पटक आयोजना गरिएको विश्वव्यापी छन्दकविता भिडियो प्रतियोगितामा विजयी कविहरूलाई पुरस्कार प्रदान पनि गरिने बताइएको छ। प्रतियोगितामा मोरङकी मेनुका चापागाईं प्रथम भएकी थिइन्। उनको ‘यही स्वर्ग मेरो’ शीर्षक कविता प्रतियोगितामा प्रथम भएको थियो। अंग्रेजी नयाँ वर्ष जनवरी १ मा घोषणा गरिएको नतिजाअनुसार जापानमा रहेकी स्रष्टा सविना रेग्मी द्वितीय भएकी थिइन् भने तनहुँका स्रष्टा गोविन्द गोपाल खतिवडाले तृतीय स्थान लिन सफल भएका थिए।

अमेरिकामा दर्ता भएको नेपाली साहित्यकारहरूको संस्था ‘छन्द–अलङ्कार’द्वारा आयोजित विश्वव्यापी छन्दकविता भिडियो प्रतियोगिता- २०१७ मा मोरङका स्रष्टा रोहित पराई र उदयपुरका स्रष्टा भवानी खतिवडाले सान्त्वना प्राप्त गरेका थिए। प्रतियोगिताको मूल्याङ्कनका लागि डा. देवी नेपालको संयोजकत्वमा दुर्गा रिजाल (अमेरिका) र नारायण गाउँले (बेलायत) गरी तीन जनाको निर्णायक समिति तथा पुरानाघरे (अमेरिका) र ज्ञानु विद्रोही (नेपाल) गरी दुई जनाको कार्यकारी निर्णायक समिति निर्माण गरिएको थियो। प्रतियोगितामा विश्वभरिबाट १०२ वटा छन्दकविताहरूको सहभागिता रहेको आयोजक छन्द–अलङ्कारका कार्यकारी निर्देशक भोला शिवाकोटी (पुरानाघरे)ले जानकारी दिए।

प्रतियोगितामा प्रथम हुनेले ३०१ अमेरिकी डलर प्राप्त गर्नेछन् भने द्वितीयले २०१, तृतीयले १०१ अमेरिकी डलर प्राप्त गर्नेछन्। सान्त्वना प्राप्त गर्नेले ५१/५१ अमेरिकी डलर प्राप्त गर्ने आयोजकले बताएको छ। आगामी चैत २४ गते शनिबार काठमाडौंस्थित घोस्ट राइटिङको कुञ्ज नाटकघरमा आयोजित विशेष कार्यक्रममा पुरस्कार वितरण गरिने कार्यकारी निर्देशक पुरानाघरेले जानकारी दिए।

उक्त कार्यक्रममा दुर्गा रिजालद्वारा लिखित कविताकृति 'पातालको ताल'को विमोचनसमेत गरिने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.