|

तनहुँ : जिल्ला कृषि विकास कार्यालय, तनहुँले अनुदानको २७ टन मकैको बीउ वितरण गरेको छ। कार्यालयले ५० प्रतिशत अनुदानमा बीउ वितरण गरेको हो। 

कार्यालयका अनुसार अभियानमुखी मकै कार्यक्रमअन्तर्गत कार्यालयबाट १४ टन र बाँकी जिल्लाका १० वटै स्थानीय तहका सेवा केन्द्र मार्फत बीउ वितरण गरिएको हो। वितरण गरिएका बीउ केही जिल्लामै उत्पादित र बाँकी चितवनबाट ल्याइएको हो।

जिल्लामा व्यवसायिक रुपमा कुखुरा पालन तथा पशुपालनतर्फ किसानको आकर्षण बढे पनि दाना र दैनिक आहारामा मकैको आवश्यकता पर्ने भएकाले मकैको बीउ अनुदानमा वितरण गरेको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीले बताए। जिल्लाको तल्लो समथर भूभागमा वर्णशंकर जात र पहाडी क्षेत्रका किसानले उन्नत जातको बीउ रोज्ने गरेको अधिकारीले बताए। 

प्रतिकिलो ८० रुपैयाँ पर्ने बीउलाई अनुदानमा वितरण गरेको बताइएको छ। तनहुँमा गत वर्ष ६४ हजार ४६५ टन मकै उत्पादन भएको थियो। सबै किसानले उन्नत जातको मकैको खेती गरे जिल्लामा करिब ९७ हजार टन उत्पादन हुने कार्यालयको अनुमान छ। जिल्लामा मकै खेती गर्ने जमिन घट्दै गएपनि उन्नत जातको बीउ प्रयोगले उत्पादनमा भने बढ्दै गएको कार्यालयको तथ्यांकले देखाएको छ।

केही वर्षअघिसमम किसानले धान, गहुँ, मकैको बीउ आफैं सञ्चय गर्ने र त्यही बीउ प्रयोग गर्ने भएपनि ३/४ वर्षदेखि उन्नत जातको बीउतर्फ आकर्षित हुँदै गएका छन्। तनहुँमा रामपुर कम्पोजिट, अरुण र मनकामना जातका मकैका खेती गर्ने गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.