११ ठेकेदार कम्पनीलाई कारबाही गर्न सिफारिस

|

उदयपुर : सगरमाथा लोकमार्गको कदमाहा–गाईघाट सडकखण्डमा पर्ने उदयपुरको त्रियुगा नगरपालिका–६ बगाहास्थित फर्सेठ खोलामा छ वर्षअघि निर्माण सुरु गरिएको पुल अझै सम्पन्न भएको छैन। पाँच करोड आठ लाख दुई हजार ९०४ रुपैयाँको लागतको उक्त पुल बीपी/बहादुरथिङ जेभी काठमाडौंले तीन करोड ७० लाख २२ हजार २३८ रुपैयाँमा निर्माणका लागि ठेक्का लिएको हो।

०६८ असार ३१ मा निर्माणको ठेक्का लिएको उक्त पुल ०७० असार २० मा सम्पन्न गर्नुपर्ने सम्झौता थियो। पुल अनुगमनको जिम्मेवारी पाएको सडक डिभिजन कार्यालय, लाहानका इन्जिनियर शोभितलाल ठाकुरले दुई पटक म्याद थप हुँदा पनि निर्माण नभएको बताए। ‘पछिल्लो पटक ०७२ जेठ १५ सम्मका लागि म्याद थप गरी काम गर्न ठेकेदारलाई जिम्मा दिइएको थियो’, उनले भने, ‘तर, निर्धारित समयमा पुल नबनेपछि सडक डिभिजन कार्यालय, लाहानलाई आरोप लगाइएको छ।’

ठेकेदार कम्पनीमा विवाद भएकाले पुल बन्न नसकेको बताइएको छ। एक करोड ६० लाख रुपैयाँको विवादले पुल बन्न सकेको हो। जिल्ला सममन्वय समिति उदयपुर प्रमुख खड्ग परियारले भने, ‘सडक डिभिजन कार्यालय, लहान र ठेकेदारको लापरवाही देखिन्छ।’

सडक डिभिजन कार्यालय, लाहानअन्तर्गत निर्माण भइरहेको सिराहाको मैनावती खोलाको पुल पनि निर्धारित समयमा निर्माण पूरा हुन सकेको छैन। ०६७ माघ १० मा निर्माण सुरु भएको उक्त पुल ३६ महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो। निर्माणको जिम्मा पाएको नेपाल प्रगति/रायमाझी/लोकवीर एण्ड वेताली जेभीले कुल बजेटको ३२ दशमलब १२ प्रतिशत रकम लिइसकेको महालेखा प्रतिवेदनमा उल्लेख छ।

भ्याटबाहेक चार करोड १६ लाख रुपैयाँमा ठेक्का पाएको ठेकेदार कम्पनीले एक करोड ९२ लाख ३० हजार बुझिसकेको डिभिजन कार्यालयका लेखा अधिकृत टंकनाथ काफ्लेले जानकारी दिए। ‘पुरानो ठेक्का हो, के कति कारणले निर्माण सम्पन्न भएन इन्जिनियरले भन्नु हुन्छ।’ काफ्लेले भने, ‘प्राविधिक रिपोर्ट आएपछि भुक्तानी हुन्छ, यसअघि दिएको भुक्तानीबारे आफूलाई थाहा भएन।’ महालेखा प्रतिवेदनअनुसार काम नगर्ने ठेकेदारलाई कालो सुचीमा राख्ने प्रक्रिया अघि बढाइएको कार्यालले जनाएको छ।

निर्माण कार्य बीचैमा छाडिएका माथि दुई पुल उदाहरण मात्र हुन्। सडक डिभिजन कार्यालय लहानले सञ्चालन गरेका अधिकांश योजना अलपत्र छन्। कार्यालयका कर्मचारी र ठेकेदारको मिलेमतोमा सिराहा, सप्तरी र उदयपुरका सडक तथा पुलका आयोजना निर्धारित समयमा सम्पन्न हुन नसकेको जानकारीहरु बताउँछन्।

अलपत्र परेका अधिकांश योजनाहरु आर्थिक वर्ष २०६७/०६८ देखि ०७४ असारभित्र सम्पन्न भइसक्नु पर्ने महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ। महालेखाको ०७४ फागुनको ०७३/७४ को प्रतिवेदनमा १४ वटा आयोजना सम्पन्न नभएको उल्लेख छ। थप भएको म्यादभित्र समेत निर्माण सम्पन्न नगर्ने ११ वटा कम्पनीलाई कारबाही गर्न सिफारिस गरिएको छ।

सम्झौताअनुसार काम नसक्ने कम्पनीलाई महालेखाको सुझावअनुसार काराहीको प्रक्रिया सुरु गरिएको डिभिजन सडक कार्यालयले जनाएको छ। निर्माण कम्पनीको नाममा सार्वजनिक सूचना प्रकाशन गरी कालो सूचीमा राख्नु नपर्ने कारण भए सात दिनभित्र कार्यालयमा उपस्थित हुन आह्वान गरिएको डिभिजन प्रमुख रामकुमार देवले बताए। ‘हामीले सार्वजनिक सूचना निकालेपछि ठेकेदारले काम गर्न थालेका छन्।’ प्रमुख देवले भने, ‘जसरी भएपनि निर्माण कम्पनीलाई काम लगाएर छिट्टै सम्पन्न गर्ने गरी काम भइरहेको छ।’

महालेखा परीक्षक कार्यालयले सप्तरीको मुतनीधार खोला र सुमरी खोला पुल निर्माणको ठेकेदार कम्पनी नीलगिरी निर्माण सेवा काठमाडौं, नेपालटार सन्धाने काभ्रेपानी सडकको लामा/बाम्ती जेभी, राजविराज कुनौली सडकको जिम्मा पाएको पुष्पाञ्जली/जोया ब्रदर्स जेभीलाई कारबाही गर्न सुझाव दिएको छ।

त्यसैगरी भारतको सीमाना हुँदै छिन्नमस्ता फकिरा मलेकपर कटैया रुपनी गाईघाट सडक र कसमस सिमेन्ट उद्योग पहुँच मार्गको निर्माण जिम्मा पाएको विकास/केएम जेभी, तावाखोला पुल गाहिल सन्स् कम्पनी, भारतको सीमाना हुँदै छिन्नमस्ता फकिरा मलेकपर कटैया रुपनी गाईघाट सडक र माझखर्क जाँते लाफागाउँ सडकको ठेकेदार माँ पवित्रा निर्माण सेवा, कन्चनपुर मन्दिर सडकको राज कन्स्ट्रक्सन, महेन्द्र राजमार्ग बलान कमला सेक्टरको एनबी कन्स्ट्रक्सन र वलार्दह चाेकदेखि अर्दाहा बोची सडकको जिम्मा पाएको सुरुनुसुवा सत्यम् कन्स्ट्रक्सनलाई कारबाही गर्न महालेखाले सिफारिस गरेको छ।

लाहान सडक डिभिजन कार्यालयअन्तर्गत सञ्चालित अन्य साना योजनमा पनि निर्माण पूरा नहुँदै बीचै छाड्ने गरेको पाइएको छ। उदयपुर, सिरहा र सप्तरीमा पुल र सडक निर्माण सडक डिभिजन कार्यालय लाहानले नै हेर्दै आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.