|

काठमाडौं :  कीर्तिपुरस्थित नयाँ बजारमा माइक्रोले ब्रेक लगायो। कोही उक्लँदै थिए, कोही झर्दै। एउटा दृष्टिविहीन मान्छे लठ्ठीको सहारा लिँदै गाडीभित्र पसे। भीडले गर्दा बस्ने सिट हुने कुरा 'आकाशको फल, आँखा तरी मर' हुने भइहाल्यो। अघिल्लो लाइन महिला आरक्षण सिट भएकाले उनको बस्ने 'चान्स' भएन। दोस्रो लाइनमा ज्येष्ठ नागरिक नै थिए। एउटा सिटमा अपाङ्ग सिट सधैँझैँ कब्जा नै थियो।

भीड रहेकाले उनी पछाडि जान सकेनन्। उनी उभिए। सोचे, ऊ उभिएको देख्दा महिला सिट नै सही, कुनै महिलाले उनलाई बसाल्छन्, तर विडम्बना! त्यस्तो केही भएन। आरक्षणको अधिकार उनीहरूले भरपूर उपयोग गरे।

पुरुषसँग प्रतिस्पर्धा गर्न आँट राख्न सक्ने आजका हाम्रा दिदीबहिनीलाई राज्यले किन यति भाँती कमजोर ठानेको होला? गाडीमा समेत आरक्षण दिन्छ तर अशक्तले भने सम्मानजनक आरक्षण पाउनुपर्छ भन्ने लाग्यो। आरक्षणको प्रयोगको नाममा हामीभित्रको  मानवीयताले आत्महत्या गर्दै गइरहेको भान पछिल्लो क्रमका यस्तै घटनाले देखाइरहेको महसुस भयो पंक्तिकारलाई। 

केही बेरमा गाडी हुइँकियो। अन्तिम सिटमा बसेकी एक वृद्धाले उनलाई बसाल्न आफू उठ्न खोज्दै थिइन्। ती दृष्टिविहीन व्यक्तिले बोलिहाले, 'बस्नुस्, बस्नुस्,  जिन्दगीमा कस्ताकस्ता दु:ख भोगियो। एकछिन उभिन मलाई आपत्ति छैन।'

कुरै कुरामा उनले आफ्नो नाम गोविन्द आचार्य बताए। ढाका टोपीमा सजिएका उनी रत्नराज्यलक्ष्मी क्याम्पस (हाल मानविकी क्याम्पस) पढाउँदारहेछन्। बाहिरी आँखाले संसार नै अँध्यारो देख्ने त्यही व्यक्तिले हजारौँ विद्यार्थीको जिन्दगीलाई उज्यालो बनाउन लागिपरेको छ भन्दा अचम्म लाग्न सक्छ। त्यसभन्दा धेरै हरेक सांग व्यक्तिका लागि चुनौती साथसाथै अपांग व्यक्तिका लागि थप ऊर्जाको विषय हुन सक्छ। रत्नराज्यलक्ष्मी क्याम्पससम्म आइपुग्दा उनले  जिन्दगीमा कति कठिन यात्रा तय गरे होलान्? तिनै अतीतका केही दुखद् र केही सुखद् यात्राका कहानी सुन्न भोलिपल्ट म उनको निवास पुगेँ। उनले आफ्ना अतीतका तीता मीठा कहानीका एकएक पत्र खोल्न सुरु गरे।

वि.सं. २०२२ फागुन २२ गते अर्घाखाँचीको अर्घाअँधेरी भन्ने गाउँमा जन्मिएका उनी जन्मजात दृष्टिविहीन हुन्। संसार देखाउन प्रसव पीडा खपेकी आमाले आफ्नो धर्म निर्वाह गर्न त  सफल भइन्, तर अफसोच! छोरो जन्मजातै संसार देख्न नसक्ने भएर जन्मियो।

जन्मँदै दृष्टि गुमाएका उनलाई लाग्थ्यो, सबैको संसार मेरो जस्तै अँध्यारै होला। हरेक मान्छेलाई म के हुँ भन्न पनि कसैले भनिदिनुपर्छ। उनी भन्छन्, 'म जन्मँदै दृष्टिविहीन भएँ तर कसैले तँ यस्तो छस् भनेनन्।' गाउँका आफूसँगैका केटाकेटीहरू खेल्दा उनलाई पनि खेल्न मन लाग्थ्यो। घरमा आमाले तैँले यो नगर, त्यो मात्र गर भन्थिन्। उनी आज्ञाकारी छोरो भएर आमाको कुरा मान्थे। विस्तारै सँगैका साथीहरू स्कुल जान थाले, उनलाई घर पनि घर नभएर जेल लाग्न थाल्यो। एक दिन आमालाई उनले भनेछन्, 'आमा, म पनि स्कुल जान्छु।' आमाले भनिछन्, 'बाबू, तँ अन्धो छस्। बाटो अप्ठ्यारो छ, तँ सक्दैनस्।' उनलाई पहिलोचोटि आफू दृष्टिविहीन रहेछु भन्ने लाग्यो। अरूका लागि अर्घाअँधेरी उज्यालो ठाउँ भए तापनि उनका लागि शिक्षालगायत सबै क्षेत्र अँध्यारो हुन पुग्यो।

एउटा दृष्टिविहीन केटासँग के देखेर विहे गर्नु भयो? भन्ने प्रश्नमा आचार्य श्रीमतीले तत्कालै जवाफ दिइन्, 'जुन कुरा उहाँको यो दुनियाँले देख्न र बुझ्न आवश्यक ठानेन, मैले त्यही कुरा देखेँ।' अनुहारमा देखिएको हाँसोलाई नियन्त्रण गर्दै उनले आफ्नी छोरीतिर हेरिन्।

उनी  पण्डित (शिक्षित) परिवारमा जन्म लिए। तर उनको अपांगतालाई लिएर कसैले पनि पढाउनुपर्छ भनेर सोच्न सकेनन्। 'दृष्टिविहीनका लागि सपना देख्न बन्देज पो थियो कि!', उनी भन्छन्, 'घरका सबै जना शिक्षित भए पनि मलाई पढाउनुपर्छ भनेर उनीहरूले किन चासो लिएनन्, बढो अफसोचको कुरा छ।' उनले थपिहाले, 'सायद खाना लाउन अभाव भएपछि शिक्षा भन्ने कुरा गौण हुँदोरहेछ। उसै पनि म त आँखा देख्न सक्दिनथेँ। त्यसैले यस्तो अवस्थामा किन पढाएनन् भनेर चित्त दुखाउन आवश्यक रहेन।'

तर समय उस्तै रहेन। घरका मान्छेसँग विद्रोह गरेर सँगैका साथीसँग उनी पैदल हिँडेर स्कुल गए, शान्ति प्रा.वि.। बाटोमा यात्रीहरूले उनलाई डोहोर्‍याउनेलाई सोध्थे रे, 'यसलाई कहाँ लाने हो?' उनका साथीहरूले जवाफ दिन्थे, 'स्कुल।' यात्रीहरूले सोध्नु स्वाभाविक हो किनकि उनको साथमा न खरी हुन्थ्यो, न पाटी, न त झोला नै। उनी भन्छन्, 'दिनहुँ लड्दै पढ्दैको यात्रा उनीहरूका लागि नाटक लाग्दो हो, जहाँ रहस्यमय नाटक मंचन भइरहेको छ।' त्यसबेला यस्ताले पढेर के गर्छ? भन्नेहरू पनि थिए। उनी भन्छन्, 'यो अनुत्तरित प्रश्नको जवाफ तत्कालीन अवस्थामा जोसुकै व्यक्ति घोत्लिए पनि जवाफ पाउन सम्भव थिएन।'

त्यहाँको भौगोलिक कठिनाइले उनलाई साथ दिएन। बारम्बार सिस्नोको झ्याङमा खस्नु, खेतका कान्लाबाट पछारिनु, काँडाले कोतरेर रक्ताम्य हुनु, अरू बालबालिका जस्तै दौडिन नसक्दा गाई-गोरुले हान्नु उनको दैनिकी बन्यो। तर पनि उनले हिम्मत हारेनन्। उनी भन्छन्, 'स्कुल जाँदा मेरो खुट्टाबाट रगत बग्थ्यो र पनि मैले हिम्मत हारिनँ। यदि त्यो बेला दुखाइ सम्झेर हिँड्न छाडेको भए बगेको रगतको श्राप लाग्ने थियो।'  

उनी स्कुल जान्थे तर स्कुलमा ब्रेल लिपि उपलब्ध थिएन। उनले सरले बोलेको आधारमा बुझ्नुपर्ने हुन्थ्यो। यो एक कठिन कुरा रह्यो। सरले पढाएको भरमा उनले सबै कण्ठ पार्थे। 'मेरो कारणले कयौँ पटक भाइबैहिनीले पिटाइ खाएका छन्', उनले अतीतका ती रमाइला दिन सम्झँदै भने, 'यदि मसँग क्षमता हुन्नथ्यो भने कसरी कण्ठ गरे त? त्यसैले नदेख्नेभित्र पनि प्रतिभा हुन्छ। जीवनका उज्याला पक्ष छन्।'

उनले पढाइमा दिएको ध्यानले आफन्तको पनि मन पग्लियो। त्यसै बेला वाल्मीकि पढाउँदै गरेका उनका नजिकका दाइ बाबुराम पोख्रेलले सरकारले दृष्टिविहीनहरूलाई छात्रावासको व्यवस्थासहित काठमाडौंमा पढाउँदै छ भनेर आकाशवाणीको माध्यमबाट गाउँमा खबर पठाए। माघको चिसो बिहान आफ्नी फुपूको सहारामा अर्घाखाँचीको विकट गाउँबाट चार दिनको यात्रा तय गरेर उनी काठमाडौं आए।

ती दिन सम्झँदै उनी भन्छन्, 'अर्घाखाँचीको विकट गाउँदेखि शिक्षाको खोजी गर्दै नयाँ किरण र जीवनको आशामा फैलिएको जिवनरूपी लहरो झाङ्गिँदै र मौलाउँदै काठमाडौंको लेबोरेटरी स्कुलमा आइपुगेर लटरम्म फल लाग्यो।'

अध्ययनका दिनहरू

वि.सं. २०३३ फागुन ८ गते लेबोरेटरी स्कुल प्रवेश गरी २०४२ सालमा आईएड प्रथम वर्ष पृथ्वीनारायण क्याम्पस पोखराबाट उत्तीर्ण गरे उनले। पोखराको भौगोलिक अवस्थामा भिज्न सकेनन्। त्यसैले उनी महेन्द्र रत्न क्याम्पस ताहाचलबाट दोस्रो वर्ष पनि उत्तीण गरे। २०४९ सालमा कीर्तिपुर (त्रिविवि)बाट स्नातक तह र २०५३ सालमा नेपाली विषयमा स्नातकोत्तर तह पास गरी पुन: एमएडमा भर्ना भई २०५५ मा एमएड उत्तीर्ण गरेका छन्। उनले अपांगलाई कसरी पढाउने भन्ने विशेष शिक्षामा एक वर्षे बीएडको अध्ययन पूरा गरेका छन्। कानुन पढ्ने उनको धोको पूरा गर्न उनले अहिले ल क्याम्पसबाट कानुन पढ्दै छन्।

विभिन्न पत्रपत्रिकामा कविता, निबन्ध, कृति विश्लेषण र समालोचनात्मक लेखहरू प्रकाशित छन्। 'सिमाना र चराहरू' कवितासंग्रह २०६९ लाई साझा प्रकाशनले छापेको छ। उनी विभिन्न संघसस्था प्रगतिशील लेखक संघ, अपांगता अनुसन्धान केन्द्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन्। विद्यावारिधिको अन्तिम चरणमा रहेका उनी भन्छन्, 'विगतमा जे जस्ता तीता मीठा दिनहरू भोगियो, त्यो समाज, परिवार,भौगोलिक र मान्छेको सोचाइको परिणाम हो।'

जसले आफ्नो भगवान देख्न पाउँदैनन्

चिया लिएर आएकी महिला उनकी श्रीमती रहिछन्। उनले आफ्नो प्रेम प्रसंग पनि जोडे। आचार्य विद्यार्थीकालमा राजनीतिमा लागे। २०४६\०४७ को आन्दोलनको क्रममा उनको भेट पद्यमकन्यामा पढ्दै गरेकी विष्णुकुमारी नेपालसँग त्रिचन्द्र कलेजमा भयो। उनले भने, 'उनी पनि विद्यार्थी आन्दोलनमा पद्यमकन्याबाट नेतृत्व गर्थिन्।' 

आफ्ना बाबुआमाका प्रेम प्रसंग निस्किएपछि छेउमा ल्यापटपमा आफ्नो कलेजको काम गर्दै गरेकी आचार्यकी जेठी छोरीले ल्यापटपको कि दबाउन बन्द गरिन् र कान ठाडा पारिन्। उनले थपे, 'मन मिल्यो अनि हामीले बिहे गर्‍यौँ, २०५१ सालमा।' जसलाई समाजले, घर परिवारले आशाको उज्यालोबाट हेर्न चेष्टा गरेनन्, त्यही मान्छेको जिन्दगीको सारथि बनेकी छन् उनी। एउटा दृष्टिविहीन केटासँग के देखेर विहे गर्नु भयो? भन्ने प्रश्नमा आचार्य श्रीमतीले तत्कालै जवाफ दिइन्, 'जुन कुरा उहाँको यो दुनियाँले देख्न र बुझ्न आवश्यक ठानेन, मैले त्यही कुरा देखेँ।' अनुहारमा देखिएको हाँसोलाई नियन्त्रण गर्दै उनले आफ्नी छोरीतिर हेरिन्।

त्यसपछि मलाई आफ्नै प्रश्न देखेर दया जाग्यो। उनले आफ्नी श्रीमतीलाई भगवान् मान्छन्। उनले भने, 'यदि मैले अहिले आँखा देख्ने भए म संसारको त्यस्तो भाग्यमानी मान्छे हुन्थेँ, जसले आफ्नै घरमा भगवानको अनुहार देख्न पाउँथ्यो।' उनको कुरा सुनिरहेकी उनकी श्रीमतीका आँखाबाट आँसु अनियन्त्रित भयो।

प्राध्यापन पेसामा रमाउँदै

१७ वर्षदेखि देशकै प्रतिष्ठित क्याम्पस रत्न राज्यलक्ष्मी क्याम्पसमा प्राध्यापन पेसा गर्दै आएका उनी जिन्दगीमा दुई अनुभवका बीचमा गुज्रेका अनुभवमध्ये पछिल्लो अनुभव सम्झनलायकको बताउँछन्।सायद अथक संघर्षको परिणाम बडो लोभलाग्दो हुँदो हो। उनी भन्छन्, 'सबैको नजरमा यो मान्छे बन्ला जस्तो नलागेको, कसैले नपत्याएको, सबैको मनले त्यागेको, धेरैको गालीको स्वाद चाखेको मलाई कतै तालीले स्वागत गर्दा हिजोका गालीले के सोच्दा हुन्?' उनी आफैँ कहिलेकाहीँ गम्छन्।

वि.सं. २०५७ बाट रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपाली पढाउँदै आएका उनी यसभन्दा पहिले नियुक्तिपत्र लिएर ०५४ सालमा अनल ज्योति बोर्डिङ स्कुल पढाउँथे। सर्टिफिकेट हातमा भएपछि स्थायी जागिर खान सकिने हुनाले विभिन्न निकायमा आवेदन दिए। तर देशको राजनीतिक अस्थिरताका कारण उनको सरकारी जागिर खाने रहरमाथि तुषारापात भयो। 'रात रहे अग्राख पलाउँछ' भन्ने ठानेर त्रिभुवन विश्वविद्यालयमा पियनको लागि आवेदन दिए उनले। तर उनको सर्टिफिकेट पियनको जागिर खाने स्तरको थिएन। यस कारण उनको नाम निस्केन। उनले हाँस्दै भने, 'धैरे पढेर पनि जागिर पाइएन।'

पछि ०५७ सालमा आरआर क्याम्पसमा उपप्राध्यापकको माग गरेपछि उनले पनि आवेदन दिए। उनी त्यहाँ पुगे। खुसीको कुरा के भने, उनले जागिर पाए। त्यसबेला आरआर क्याम्पसका नेपाली पढाउने डा. कुलप्रसाद कोइराला उहाँलाई अवसर दिनुपर्छ भनेछन्, नभन्दै उनको नाम निस्कियो।

०६४ सालसम्म आरआरमा पार्ट टाइम बिहानी क्लास लिँदै गर्दा दिउँसो भने कीर्तिपुरको मंगल स्कुल पढाउँथे उनी। ०६४ सालमा आरआरमा स्थायी जागिरे भएपछि दुईतिर सरकारी जागिर खान नमिल्ने भएर मंगल स्कुल छाडे उनले। विगत १७ वर्षदेखि हजारौँ विद्यार्थीको सुन्दर भविष्यको साक्षी बन्न पाएका छन् उनी।

अन्त्यमा

दृष्टिविहीनलाई सही तरिकाले व्यवस्थापन गर्न सके उनीहरूको भविष्य उज्यालो छ। यसैका उदाहरण हुन्, आचार्य। तर राज्यले उनीहरूका लागि लगानी गर्न किन सकिरहेको छैन? आश्चर्य मान्छन् उनी। उनी भन्छन्, 'दृष्टिविहीनलाई समग्र अपांगको परिभाषाभित्र राखेर मात्र हुँदैन, उनीहरूलाई उचित शिक्षा दिनु राज्यको दायित्व हो।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.