नेपाली साहित्यमा युवाको उपस्थिति दिन प्रतिदिन बढ्दो छ। यही भीडमा आएका छन्, विवेक अोझा। यस वर्षको दश उत्कृष्ट आख्यानभित्र पर्न सफल भएको छ उनको उपन्यास- 'ऐलानी।' वादी समुदायलाई केन्द्रमा राखेर उनले लेखेको 'ऐलानी' उपन्यास बजारमा आएको छ। अोझा राम्रा गजलकारका रूपमा पनि परिचित छन्। हाल एेलानी उपन्यासको प्रचारप्रसारका लागि उनी देश दौडाहामा व्यस्त छन्। व्यस्तताका बाबजुद पनि थाहाखबरकर्मी राजु पौडेलले अोझासँग ऐलानीमा आधारित रहेर गरेको कुराकानी :
तपाईं गजलकार कि उपन्यासकार?
यो वा त्योभन्दा पनि लेखनलाई पूजा गर्ने, लेखनलाई आफ्नो करियर बनाउन खोजिरहेको मान्छे हुँ। विधाहरू त प्रस्तुतिका माध्यम मात्र हुन्। सबै विधाको आआफ्नै महत्त्व हुन्छ। नढाँटी भन्ने हो भने मलाई सबैभन्दा प्रिय कविता लाग्छ। बेलाबेला लेख्न खोजिरहन्छु।
आजभोलि नेपाली लेखकहरू उपन्यास लेखनमा मरिहत्ते गरिरहेकाछन्, चर्चाको मोह कि पैसाको?
मरिहत्तेचाहिँ नभनिहालौँ, कडा कसरत भने देखिन्छ र यो एकदमै सुन्दर कुरा हो। जति बढी कसरत, उति नै सुन्दर सिर्जना। प्रश्नले उपन्यासकारको संख्यातर्फ पनि इंगित गरेको जस्तो लाग्यो, यो भनेको प्रतिस्पर्धामा वृद्धि हुनु हो। यो आफैँमा सकारात्मक भइहाल्यो। यद्यपि, लेखक गुणात्मक लेखनमा सचेत रहनुपर्छ। अर्को कुरा, उपन्यास लेख्नेवित्तिकै चर्चा र पैसा पाइन्छ भन्ने पनि त छैन। कति उपन्यासहरू तपाईं हामीले नामै नसुनेर बजारमै हराएका होलान्। तर केही कविहरू देश/विदेश भ्रमणमा कति व्यस्त छन्? के उनीहरूले चर्चा र पैसा कमाइरहेका छैनन्? समग्रमा यो स्वीकार्नुपर्छ कि सुन्दर सिर्जनाले चर्चा र र पैसा दुवै दिन सक्छ। उपन्यास नै हुनुपर्छ जस्तो मलाई लाग्दैन।
लेखक पाठक पनि हो। इमान्दारीका साथ पाठक भएर भन्नुस्, 'ऐलानी'भित्र केके कमजोरी भेट्नुभयो?
मैले 'ऐलानी' सयौँ पटक पढेँ। कयौँ पटक सच्याउँदै लगेँ, अहिले यहाँ त्यो कुरा नभनिहालौँ। जब मभित्रको लेखक र पाठक सन्तुष्ट भए अनि मात्र 'ऐलानी' आयो। यदि यसभित्रको कमजोरी मलाई थाहा भएको भए म सच्याइहाल्थेँ। यसो भनिरहँदा पुस्तकमा कमजोरी छैनन् भन्न खोजिएको होइन। सबै कुराहरू कमजोरीसहित हुन्छन्। मान्छे आफैँ पनि ईश्वरको कमजोरीसहितको रचना हो।
कम पुस्तक छपाएर छोटो समयमै दोस्रो संस्करण निकाल्ने होडबाजी देखिन्छ, तपाईंको पुस्तकको दोस्रो संस्करण पनि आउने हल्ला छ, पहिलो संस्करणमा कति प्रति छापिएको थियो?
कति पुस्तक छपाइलाई कम भन्ने? अनि कसको होडबाजी? लेखकको कि प्रकाशनगृहको? लेखकको होडबाजी हो भने यो पुस्तक मैले लेखेको मात्र हुँ, निकालेको होइन। 'ऐलानी' सांग्रिला प्रकाशनले प्रकाशन गरेको हो। मैले बुझेसम्म सांग्रिला नेपालमा फाइन प्रिन्टपछिको राम्रो प्रकाशनगृह हो। लेखकको होडबाजी भएको भए म यहाँ खुलस्त भनिदिन्थेँ। तपाईंले प्रकाशनगृहहरूकै होडबाजी देख्नुभएछ, त्यसैले म बोल्न ठीक नहोला। प्रकाशनगृहका केही कुराहरू होलान्, त्यसैले पुस्तकमा पनि संख्या लेखिएको छैन। तर म यी कुरा खुलस्त लेखिनुपर्छ र पारदर्शी हुनुपर्छ भन्ने मान्यता राख्छु।
पछिल्लो समयमा वादी समुदायको भाषा बिगारियो भनेर सामाजिक संजालमा विरोध देखियो। कुनै पनि समुदायको कथा लेख्दा स्थानीय लवजमा लेखिनुपर्छ कि लिपिमा आधारित भएर?
सामाजिक संजालमा मैले पनि त्यो देखेँ। प्रश्न त स्पष्ट छैन तथापि मैले बुझेँ। म पनि यसलाई स्पष्ट नपारौँ किनकि त्यसमा तपाईं (पत्रकार) बढी सक्रिय हुनुपर्ने हो (हाहाहा)। अँ, 'ऐलानी'मा भने त्यो स्थिति आएन। म आफैँ पनि त्यही भूगोलको भएकाले मैले चाहिनेजति आंचलिकताको कलर भरेँ। जहाँसम्म स्थानीय लवजको प्रयोगको कुरा छ, यो अनिवार्य होइन। जुन मूल भाषामा आख्यान लेखिँदै छ, सम्पूर्ण कुरा त्यसैमा लेखे पनि फरक पर्दैन। यद्यपि, स्थानीय भाषाको प्रयोगले माटोको बासना थपिएर आउँछ। अर्गानिकता थपिन्छ। त्यही मोहमा लेखक पर्छ नै। फेरि स्थानीय भाषा प्रयोग गर्नु जटिल काम हो। कलर र टोन समात्न नसके भाषा दुर्घटनामा पर्छ। माटोको सुगन्ध होइन दुर्गन्ध फैलिन्छ। यही मोहमा फसेर चर्चित लेखकहरू समेत दुर्घटनामा पर्नु दुखद् हो।
पुस्तकमा वादी समुदायका अनगिन्ती समस्या देखाउनुभएको छ। लेखकको काम समस्याको चाङ मात्र थुपार्नु हो?
यसमा म स्पष्ट छु। मैले समाजको चित्रण गर्न खोजेको हुँ। समस्याको चाङ लगाएको होइन। समाजको चित्रणमा समस्याका चाङ देखिनुले समाज साँच्चै समस्यामा छ। कुनै रोगीको रगतमा देखिएको रोग ल्याब टेक्निसियनले सच्याए/फेरबदल गरे के हुन्छ? डाक्टर र मेडिकल साइन्सले कसरी रोगको उपचार गर्छ? एउटा कुरूप समाजको चित्रलाई सुन्दर बनाउनका लागि मैले आवाज उठाएको हुँ। यसमा सरकारको ध्यान जाओस्। समस्याहरू सुल्झिऊन्। अँ, उपन्यास कला विधा हो। यसमा केके हुनुपर्छ भन्दा पनि केके छ र कस्तो छ भन्ने महत्तवपूर्ण हुन्छ। पाठकले उपन्यास मनपराइदिनुभएको छ, यो मेरो लेखनको सुन्दर पक्ष हो जस्तो लाग्छ।
'ऐलानी' पढिसकेपछि वादी समुदायप्रति आम पाठकको दृष्टिकोण कस्तो पाउनुभयो?
वादी समुदायप्रति पाठकका दृष्टिकोण त फरक फरक होलान्। कसैलाई निराश बनाउला, कसैमा विद्रोह गर्न बाँकी रहेको अनुभूति होला। यी त पाठकपिच्छे भिन्न होलान्। मसँग भेट हुने पाठकले वादीहरूले राज्यबाट सेवा सुविधा पाउनुपर्छ भन्ने खालका अभिव्यक्ति दिन्छन्, जो जायज पनि हो। राज्य व्यवस्थाले यहाँ दृष्टिगोचर गर्न जरुरी छ।
नेपाली साहित्यमा 'ऐलानी' उपन्यास किन जरुरी थियो?
वादी समुदायको पृष्ठभूमि बनाई फुटकर कथा, कविता नआएका होइनन्, तर उपन्यास भने लेखिएको थिएन। यो उपन्यास लेखनका लागि नौलो विषय थियो। उनीहरूको पहिचान र सामाजिक अस्तित्वबारे कोही त बोल्नु नै थियो। त्यो समुदाय, जो आजको युगमा पनि 'जात'ले दिएको नाममा देह व्यापार गर्छ। त्यो समाजलाई राज्यले समेत उपेक्षा गरेको छ। त्यसमा पनि आफ्नै सुदूरपश्चिमको समस्या हुनाले थप दृढता लिएँ अनि मैले 'ऐलानी' लेखेँ।
नेपाली साहित्यमा 'ऐलानी' उपन्यास जरुरी थियो वा थिएन? यो न मैले भन्न सक्छु, न त अहिलेको समयमा यो प्रश्नलाई कसैले उचित न्याय गर्न सक्छ। कुनै पनि एक पुस्तक साहित्यका लागि किन जरुरी हुन्छ, यो एक प्रश्न र उत्तरमा सकिने विषय होइन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।