|

काठमाडौं : काठमाडौं-दिल्ली चल्ने एक पर्यटकीय बसबाट प्रहरीले ११ किलो रक्तचन्दनसहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बसका चालक काभ्रे घर भई हाल नैकाप बस्ने झिल्केमान रुम्वा र बुटवल घर भएका बसका सहचालक सुजन पुन रहेका छन्।

दिल्लीबाट नेपालगन्जको रुपौडिया हुँदै मंगलबार काठमाडौं पुगेको ४ ख ४५१६ नम्बरको सो बसमा विभिन्न अवैध सामानहरु राजस्व छली गरी काठमाडौं आउँदै गरेको गोप्य सूचना पाएपछि महानगरीय प्रहरी वृत्त कालीमाटीले कंलकीमा चेक प्वाइन्ट खडा गरेको थियो। महानगरीय प्रहरी परिसर टेकु ल्याएर बस खानतलासी गर्दा बसको विभिन्न भागमा लुकाएर ल्याएको रक्तचन्दनको १० किलो ७७५ ग्रामका भाँडा रक्तचन्दनबाट मालामा प्रयोग गर्न बनाएको गेडा एक हजार ३०२ दाना ४७० ग्राम गरी ११ किलो रक्तचन्दनसमेत बरामद गरेको परिसर प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।

सोहीबसबाट प्रहरीले राजस्व छली गरी ल्याएका कुर्था टप्स दुई हजार ९८८ पिस, कुर्था सुरुवाल ६० पिस, सिल्क साडी १४३ पिस, सिल्क बनारसी साडी ६४ पिस, सिफन साडी ६९ पिस, लेडिज सेन्डिल १८ जोर, जेन्स सर्ट र अन्य बिजुलीका सामानसमेत बरामद गरेको प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।

बरामद भएका रक्त चन्दनका सामान आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि जिल्ला वन कार्यालय  हात्तीसार पठाइएको उनले बताए।  कुर्था सुरुवाल र अन्य सामान, सवारीसाधन, पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पुल्चोक पठाइने पोखरेलले जानकारी दिए। रक्तचन्दन कसको हो भन्ने अझै नखुलेको र बसका धनीसमेत फरार रहेको पोखरेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.