|

बुटवल : रुपन्देही देवदहका व्यवसायी वसन्त पौडेल ‘बलु’को हत्यामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पौडेललाई गोली हानेको अभियोगमा लमजुङ बांग्रे घर भई कास्की पोखरा महानगरपालिकामा बस्दै आएका २१ वर्षीय सुभाष गुरुङलाई प्रहरीले पक्रेको हो।

‘घटनास्थलदेखिको अध्ययन र अन्य सुराकीको आधारमा सुभाष गुरुङ नै सुटर हुन् भन्ने पुष्टि भएको छ,’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख श्याम ज्ञवालीले बुटवलमा आयोजित पत्रकार सम्मेलनमा भने।

मंगलबार पोखराबाट पक्राउ परेका गुरुङलाई ज्यान मुद्दा, हातहतियार खरखजाना र संगठित अपराधअन्तर्गतको मुद्दा चलाउने उनले बताए। गत पुस २१ मा रुपन्देहीको देवदहका फर्निचर व्यवसायी पौडेलको हत्याका लागि गुरुङले एक लाख रुपैयाँ लिएको खुलेको प्रहरीले जनाएको छ।

‘संगठित अपराधका नाइके मनोज पुन र सोम आलेको प्रहरीसँगको मुठभेडमा मृत्यु भएपछि उनीहरुसँगबाट बरामद सामग्री र त्यसबाहेकका सूचनाहरुको आधारमा हामीले खोजी अभियान चलाएका थियौँ, प्रहरी प्रमुख ज्ञवालीले भने, त्यसैक्रममा गुरुङलाई पक्रिन  सफल भएका हौँ।’

गुरुङ पक्राउ परेसँगै पौडेल हत्याकाण्डमा प्रत्यक्ष संलग्न भएकाहरु सबै कानुनी दायरामा आएका छन्। ‘वसन्त पौडेल हत्यामा प्रत्यक्ष संलग्नहरु सबै पक्राउ परिसके, दुईजना प्रहरीसँगको मुठभेडमा मारिए, दुईजना थुनामा छन् र सुटरलाई पनि पक्राउ गर्‍यौँ,’ उनले भने,यो सँगै पौडेल हत्याको एकखालको च्याप्टर क्लोज भएको छ।’

वसन्त पौडेलको हत्या र युवा संघ रुपन्देहीका नेता दुर्गा तिवारीको हत्याको कनेक्सनबारे भने खोजी जारी रहने उनले बताए। ‘दुर्गा हत्यामा संलग्न सबै पक्राउ नपरेकाले यो केसका सूचनाहरु अझै पनि उपयोगी छन् र हामी विस्तारै त्यसका पाटाहरु खोल्दै जानेछौं,’ उनले भने, ‘अपराध गर्नका निम्ति सघाउनेहरु र सूचना पाएर पनि नदिनेहरुमाथि पनि छानबिन थालिनेछ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.