|

काठमाडौं : नेपाल सरकारको सचिवबाट अवकाशप्राप्त पूर्वसचिव सुरेशमान श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघमा महासचिवमा नियुक्ति भएको नौ महिनामा राजीनामा दिए। राजीनामा दिएको १८ दिनपछि मात्रै उनले सञ्‍चारमाध्यम तथा सामाजिक सञ्‍जालमा राजीनामाको कारण र महासंघको अवस्था औँल्याएका छन्। 

महासंघमा नयाँ नेतृत्व आएसँगै २०७४ साउनमा तीन वर्षको लागि नियुक्ति भएका श्रेष्ठले २ चैतमा राजीनामा बुझाएका छन्। यद्यपि, कार्यसमितिले राजीनामा अझै स्वीकृत भएको छैन। उनले २ गते कार्यसमितका सबै पदाधिकारी र सदस्यहरुको मेलामा राजीनामा पठाएर महासंघ छोड्ने जानकारी गराएका थिए। 

श्रेष्ठले नेतृत्वसँग काम गर्न असजिलो भएका कारण राजीनामा दिएको बताएका छन् भने पदाधिकारीहरुले श्रेष्ठको कार्यशैली राम्रो नभएको र अन्य कर्मचारीहरुलाई काम गराउन नसकेको कारण राजीनामा दिन आफैँ बाध्य भएको आरोप लगाएका छन्।

अहिले महासंघ कमजोर बनाउन केही शक्ति लागेका छन्, त्यसैअन्तर्गतको चाल महासचिवको राजीनामापछिको प्रचार र अभिव्यक्ति हो

उनले मुख्यतय अध्यक्ष भवानी राणा र वरिष्ठ उपाध्यक्ष शेखर गोल्छासहितका पदाधिकारीबीच मिलेर काम गर्ने शैली नभएको आरोप लगाएका छन्। तर, सबै पदाधिकारीहरुले राजीनामा दिएको व्यक्तिले महासंघभित्रको आन्तरिक विषयमा बोल्नु अर्थ नरहने बताएका छन्। 

राजीनामा दिएको व्यक्तिले १३ पन्ने सुझाब दिनु र ती सुझाबलाई प्राचर गर्नु महासंघभित्रको हस्तक्षेप भएको महासंघका पदाधिकारीहरुको आरोप रहेको छ।

'अहिले महासंघले कमजोर बनाउन केही शक्ति लागेका छन्, त्यसैअन्तर्गतको चाल महासचिवको राजीनामापछिको प्रचार र अभिव्यक्ति हो,' महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भने। 

उनले श्रेष्ठको काम गर्ने शैली नहुँदा नहुँदै पनि महासंघलाई एक बनाउन अध्यक्षले सहयोग गर्दै आएको समेत दाबी गरेका छन्। तर, श्रेष्ठले भने आफूले छोड्ने पहिलो कारण नै अध्यक्षको कार्यशैली रहेको बताएका छन्। 

काम गर्ने वातावरण नै बनेन नेपाल सरकारमा रहँदा पनि निजी क्षेत्रमैत्री भनेर चिनिएको व्यक्ति भएका कारण महासंघमा गएको हुँ

'काम गर्ने वातवरण नै बनेन नेपाल सरकारमा रहँदा पनि निजी क्षेत्रमैत्री भनेर चिनिएको व्यक्ति भएका कारण महासंघमा गएको हुँ, तर मेरो महत्व बुझिएन,' श्रेष्ठले भने, 'सुझाब दिँदा पनि वास्तै गरिएन।' 

महासंघका पदाधिकारीहरुले भने श्रेष्ठले सुझाब नदिने गरेको र माग्दासमेत सामान्य व्याकरणमा मात्रै ख्याल गरेको आरोप लगाए। 'हामी उहाँसँग समन्वयन नगरी काम गर्ने कुरै आउँदैन, तर उहाँले ह्रस्‍व दीर्घ हेर्ने मात्रै काम गर्नुभयो, जुन लक्ष्यका साथ काम होला भनेका थियौँ त्यो नभएको हो,' महासंघका एक पादाधिकारीले भने, 'हामीसँग उहाँ मात्रै होइन अरू ५० जना कर्मचारी छन् कसैलाई पनि विश्‍वासमा लिएर काम गर्न सक्नुभएन।  

उनीहरुले आफू त सचिवजस्तो मान्छे हुँ भनेर दंग परेर बस्ने मात्रै काम गरेको तर महासंघलाई सहयोग नगरेको आरोप लगाएका छन्। साधारणसभाबाट निर्वाचित पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेलाई पुरानो मुद्दा ब्युताएर कानुनी झन्‍झट सुरु गरेदेखि नै महासंघमा राजनीति बढी हाबी देखिएको छ।

महासंघले संस्थालाई थप सशक्त बनाउनका लागि भने थप अभियान चलाएर अघि बढ्ने पदाधिकारीहरुले बताएका छन्

प्रदीपजंग पाण्डेपछि अध्यक्ष बनेका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले महासंघलाई एक बनाएर लैजान पहल गरे पनि अपेक्षित रूपमा महासंघले आफ्नो पहिचान दिन सकेको छैन। महासंघकै पूर्वअध्यक्ष विनोद चौधरीको नेतृत्वमा निजी क्षेत्रको अर्को प्रतिनिधिमूलक संस्था नेपाल उद्योग परिसंघ अहिले सक्रिय भएको छ भने दुई संस्थाबीच अहिलेसम्म पनि समन्वयन भएर काम हुन सकेको छैन। 

महासंघकै सदस्य तथा निजी क्षेत्रकै पुरानो संस्था नेपाल चेम्बर अफ कमर्स र महासंघबीच पनि समन्वयनकारी काम हुन सकेको छैन। बरु महासंघकै पूर्ववरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार चेम्बरको उपाध्यक्ष बनेका छन्। पदाधिकारीहरू भने महासंघलाई थप सशक्त बनाउनका लागि अभियानै चलाएर अघि बढ्ने  बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.