|
File Photo

जनकपुरधाम : तराई मधेसका आठ जिल्ला समेटेर बनाइएको प्रदेश–२ को नामाकरण सम्बन्धमा सरकारको नेतृत्व गरेका दुई दल तथा सरकार समर्थक र प्रतिपक्ष दलबीच दलको फरक–फरक मत देखिएको छ।

प्रदेशको नाम र स्थायी राजधानी तोक्न प्रदेशसभामा औपचारिक प्रस्ताव नपुगे पनि सम्बन्धित दल र प्रदेश सदस्यबीच यी विषयमा अनौपचारिक छलफल सुरु भए पनि टुंगो लाग्न सकेको छैन।

नामकरणबारे कुनै छलफल भएको छैन : अर्थमन्त्री

प्रदेश–२ को सबैभन्दा ठूलो दलको हैसियतले संघीयता समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल सम्मिलित सरकारको आधिकारिक वेबसाइटमा मधेस प्रदेश नामकरण गरिएको छ। तर, संघीय समाजवादी फोरम नेपालबाटै अर्थमन्त्री बनेका विजयकुमार यादवले भने पार्टीमा प्रदेश नामाकरण सम्बन्धमा कुनै छलफल नभएको बताएका हुन्। यद्यपि, जनताको भावनाअनुसार नै प्रदेश नामाकरणमा सबै दलको सहमति जुट्ने विश्वास प्रकट गरे।

प्रदेश-२ को नामकरण सम्बन्धमा औपचारिक रुपमा पार्टीमा कुनै छलफल नभएपनि राष्ट्रिय जनता पार्टी नेपालले अनौपचारिक रुपमा मिथिला प्रदेश, मिथिला मधेश प्रदेशमा आन्तरिक रुपमा छलफल चलिरहेको पूर्वसञ्चार राज्यमन्त्री तथा प्रदेश सांसद सुरिता साहले जानकारी दिइन्।

उनले भनिन्,  ‘संसदमा प्रदेश नामकरण विधेयक पेस भएपछि व्यापक छलफल हुन्छ, तर अहिले विधेयक नै नआउँदा सांसदहरुले आ–आफ्नो व्यक्तिगत रुपमा विभिन्न नामहरु भए हुन्थ्यो जस्ता कुरा आउँछ।’

जनकपुर प्रदेश भन्दा उपर्युक्त : एमाले

यसैबीच, नेकपा एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले ऐतिहासिक, धार्मिक तथा पर्यटकीय हिसाबले प्रदेश–२ लाई जानकी प्रदेशको नामले नामकरण गर्दा उपयुक्त हुने बताउँछन्। उनी भन्छन्, ‘जानकी प्रदेश राख्ने वा नराख्नेबारे पार्टीको धारणा भने होइन, तर उपयुक्तताको हिसाबले जानकी वा मिथिला प्रदेशमा धेरै विवाद नआउला।’

अध्ययन गर्दै छौँ : कांग्रेस

नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले विधेयक नआएसम्म अहिले भन्न उपयुक्त नहुने बताउँदै आफूले विस्तृत अध्ययनका आधारमा मिथिला–भोजपुरा प्रदेशको अवधारणा अघि सार्ने बताउँदै यादवले यसमा वाम गठबन्धनसहित अन्य दलका सदस्यले समर्थन गर्ने विश्वास व्यक्त गरे। यादवले कतिपय पार्टीहरुले एकल जातीय नाम गर्ने प्रस्तावसमेत गर्न लागेको बताउँदै त्यस्तो भए अस्वीकार्य हुने बताए।

मिथिला वा भोजपुरा : माओवादी केन्द्र

यसैबीच, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता रामचन्द्र मण्डलले मिथिला भोजपुरा प्रदेश नामकरण गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘मिथिला प्रदेशले जनकपुर आसपासका जिल्लाहरुको प्रतिनिधित्वमा खासै असर नपार्ला, तर रौतहट, बारा र पर्सा जिल्लाका स्थानीयहरुको अपनत्वको भाषा भनेको भोजपुरी हो, त्यसकारण पनि प्रदेश–२ को उपयुक्त नाम मिथिला–भोजपुरा हुन जान्छ।’

मिथिला, मध्यमिथिला मधेस, मधेस, मध्यमधेस, मिथिला भोजपुरा, जानकी प्रदेशजस्ता नाम चर्चामा आए पनि ऐतिहासिकता, भूगोल, जाति, संस्कृति र साझा पहिचानका लागि नाम उपयुक्त हुने विश्लेषकहरुको तर्क छ।

प्रदेश राजधानीको नाम र प्रमुख आकर्षणको केन्द्र रहेको सहरको नाम उस्तै खालको रहेको नेपाल मात्र नभई अन्य मुलुकमा पनि अभ्यासमा देखिन्छ। हालसम्म प्रदेश–६ ले ‘कर्णाली प्रदेश’ को नामकरण गरिसकेको छ भने, अन्य प्रदेश सरकारले औपचारिक प्रस्ताव प्रदेशसभामा लगेका छैनन्।

प्रदेश–२ मा कुल १०७ प्रदेश सदस्यमध्ये संघीय समाजवादी फोरम नेपाल २९, राष्ट्रिय जनता पार्टी नेपाल २५ सदस्य गरी ५४ जनाको बहुमतसहितको हस्ताक्षर बुझाएका हुन्।

यसैगरी, प्रदेश–२ मा नेकपा एमाले २१, नेपाली कांग्रेस १९, नेकपा माओवादी केन्द्र ११, नेपाल संघीय समाजवादी पार्टी एक र स्वतन्त्र एक प्रदेशसभा सदस्य रहेका छन्। सरकार गठनका लागि १०७ मध्ये ५४ सिट आवश्यक रहेकोमा फोरम र राजपाको ५४ जना प्रदेशसभा सदस्य रहेका छन्।

कुल २० हजार ३ सय वर्गकिलोमिटर क्षेत्रफल (नेपालको कुल भूभागको १४ प्रतिशत) ओगटेको यस प्रदेशमा ५५ लाख २९ हजार ४ सय ५२ जनसंख्या र ३० लाख ७४ हजार ४ सय १२ मतदाता छन्। यो प्रदेशमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी आठ जिल्ला छन्। यहाँ बोलिने मुख्य भाषा मैथिली, भोजपुरी तथा नेपाली हो। यो प्रदेशको भूगोल दक्षिणी छिमेकी भारतको सिमानाकासँगजोडिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.