|

दमक(झापा) : झापाको दमकस्थित निजी ‘मिनी दरबार’मा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहा दरबार नजिकै दमकको मुख्य बजारमा रहेको पशुपति मन्दिरमा पुगेर पूजा गरेका छन्।
 

दमक–६ स्थित पशुपति मन्दिरमा बुधबार साँझ करिब ७ बजे उनी पूजाका लागि पुगेका हुन्। लामो बसाइका क्रममा पारिवारिक तथा शुभचिन्तकहरूसँग दमकमै भेटघाट गर्दै आएका उनले नगरको मुख्य धार्मिक क्षेत्रमा पूजा गर्ने इच्छा राखेको पूर्वराजा निकट स्रोतले जनाएको छ। १५ मिनेट जति मन्दिरमा रहेका उनलाई राजावादीहरूले उनको पक्षमा नारावाजीसहित स्वागत गरेका थिए।

पूर्वराजा पुग्दा त्यहाँ पशुपति मन्दिर व्यवस्थापन समिति, पशुपति आध्यात्मिक महिला समूह र दिव्य आरती समूहले स्वागत गरेका थिए। मन्दिर पुगेका पूर्वराजा शाहाले कुनै पनि अभिव्यक्ति भने दिएनन्। पूर्वराजा आउने थाह पाएपछि उनको पक्षधरहरूको ठूलो उपस्थिति रहेको थियो भने सुरक्षा सतर्कता पनि उच्च बनाइएको थियो।

पूर्वरानी कोमलसहित पुगेका शाहलाई आरती गर्ने क्रममा उनले पनि साथ दिएकी थिइन्। झापा बसाइका क्रममा पूर्वराजा ज्ञानेन्द्रले पूर्वका अन्य विभिन्न धार्मिक क्षेत्रमा पनि पूजा गरेका छन्। उनले मोरङको विराटनगर र सुनसरीको इनरुवामा रहेका धार्मिक स्थलहरूको भ्रमण गरेको उनका स्वकीय सचिव सागर तिम्सिनाले जानकारी दिए।

दमक बसाइका क्रममा राजनीतिक चासोसमेत देखाउँदै आएका शाहाले केही दिनअघि पूर्वराजा निकट मानिने विभिन्न दलका नेताहरूसँग छलफल समेत गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.