|

दाङ : प्रदेश ५ का मुख्यमन्त्रीे शंकर पोख्रेलले यस प्रदेशलाई पर्यटन र कृषि क्षेत्रको हव बनाउने दिशामा आफू लागेको बताए। 

रिपोर्टर्स क्लव दाङले बुधबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार तथा सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोख्रेलले प्रदेश ५ सबै दृष्टिकोणले राम्रो सम्भावना भएको प्रदेश भएको भन्दै पर्यटन र कृषिको यस प्रदेशमा राम्रो सम्भावना रहेको बताए। ‘प्रदेश ५ सबै किसिमले धनी छ। कृषि र पर्यटन क्षेत्रको मात्र विकास गर्न सकियो भने यो प्रदेश समृद्ध प्रदेश हुन सक्छ’, उनले भने, ‘हाम्रो पहिलो प्रयास पनि यही हुने छ।’

उनले गरिवी निवारणका लागि कृषिमा यान्त्रिकीकरण गर्दै यहाँ विभिन्न कच्चा पदार्थ उत्पादन गर्ने र पर्यटनको पूर्वाधार विकास गरी बाह्य तथा आन्तरिक पर्यटन भित्र्याउने  बताए। यस विषयलाई मुख्य प्रथमिकतामा राखेको समेत उनले बताए। 

महाभारतमा हिमस्टेशन बनाउने, उपमहानगरभित्र बहुउद्देश्यीय पार्क निर्माण गर्ने र पूर्व–पश्चिम राजमार्गमा एजुकेसन पार्क निर्माण गरी पर्यटक भित्र्याउने योजना रहेको उनको भनाइ थियो। 

मुख्यमन्त्री पोख्रेलले विकासमा अब जनताको सहभागिता हुने गरी आफ्ना नीति तथा कार्यक्रमहरू ल्याउने बताए। अब देश आर्थिक समृद्धिको बाटोमा अगाडि बढेको बताए। उनले अब स्थिर सरकार गठन भएको र मुलुकको अर्थतन्त्रलाई समृद्धिको दिशातर्फ लैजाने विश्वाससमेत व्यक्त गरे। 

‘अब सबै तिनै तहका निर्वाचनहरू सम्पन्न भएका छन्। सबै तहमा अधिकारहरू पनि बाँडफाट भएको छ’, उनले भने, ‘जेठ १५ देखि अब सबै तहमा व्यवस्थित तरिकाले काम सुरु हुन्छ, आर्थिक समृद्धितर्फ देश जानेछ।’ 

मन्त्री पोख्रेलले प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न लागेको भारत भ्रमणले छिमेकी देशहरूसँगको सम्बन्ध सुधार हुने पनि दाबी गरे। उनले दुई देशबीच नयाँ शिराबाट सम्बन्ध व्यवस्थित हुने भन्दै प्रधानमन्त्रीको भारत भ्रमण सफल हुने पनि बताए। ‘यसअघि छिमेकीसँग विवाद गर्ने कि लम्पसार पर्ने भन्ने बहस चल्थ्यो, त्यो सबैबाट नयाँ शिराबाट सम्बन्धलाई व्यवस्थित गर्ने र सम्बन्ध स्थायित्व गर्ने काम हुनेछ’, उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.