|

  • वसन्त लिम्बू-

ताप्लेजुङ : ताप्लेजुङको एक मात्र नगरपालिका फुङ्लिङ नगरपालिकामा समस्यै समस्या बढेपछि जिल्लावासीले गुनासो गर्न थालेका छन्। सुदूर पहाडीनगर फुङ्लिङमा समस्यै समस्या बढेकाले नगरवासीले दिगाे समस्या समाधानका लागि आग्रह गरेका हुन्।

अहिले जिल्लाका अधिका‌ंश गाउँमा टेलिफाेनलगायतका सेवा पुगिसकेकाेे भएता पनि एक मात्र  नगरपालिका मै टेलिकमले प्रदान गरेको थ्रीजी र एडिएसएल सेवा गुणस्तरहीन भएको नगरवासीले गुनासो गरेका छन्। उनीहरूले नगरपालिका र टेलिकमले टेलिफोन, मोबाइल र इन्टरनेटको गुणस्तर विस्तारमा ध्यान नदिँदा अहिले पनि मोबाइलमा थ्रीजी नेटवर्कले काम नगरेकाे स्थानीयले बताएका छन्।

फुङ्लिङ नगरपालिकाका स्थानीय पून्य बराल अझै पनि सामान्य कुराकानी र जानकारी लिन नगरपालिका क्षेत्रकै डाँडा र ल्याण्डलाइन भएको स्थानसम्म दौडनुपर्ने बाध्यता रहेको बताउँछन्। टेलिकमले थ्रीजी सेवा सबै टावरमार्फत विस्तार नगर्दा नगरपालिकाका १, २, ३ र ८ का स्थानीय सबैभन्दा बढी मारमा परेको बरालको भनाइ छ। 

अर्का स्थानीय नारायण बरालको भनाइ पनि उस्तै रहेको छ। सबै वडासम्म मोबाइलको टावर नआउने समस्या रहेकाले अझै पनि नगरपालिकाको केही वडाका स्थानीय ल्याण्डलाइन राखेको केन्द्रतर्फ धाउनुपर्ने अवस्था रहेको बताउँछन्।

सञ्चार र सामाजिक संझालको जमानामा पनि फुङ्लिङ नगरपालिकाभित्रका स्थानीय नै यस्तो सेवाबाट वञ्चित हुनुपरेको बताउँदै उनले नगरपालिकालाई फ्री वाइफाई जोन बनाउने घोषणा गरेर स्थानीय तहको निर्वाचनमा भोट मागेका उम्मेदवारले अहिले आएर वाइफाई मात्र नभई मोबाइल टावरको समेत कुरा भुलेको स्थानीयको गुनासो रहेको छ।

वर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे सडक अझै उस्तै

फुङ्लिङ नगरपालिका क्षेत्रभित्र कच्ची र पक्की धेरै सडक सञ्झाल छन्। पाँच वर्षभित्र सबै वडाका कार्यालयसम्म कालोपत्रे सडक पुर्‍याउने योजना बनाएका  मेयरको योजना अनुरुप नै काम भइरहेको नगरपालिकाले बताए पनि सदरमुकाम भित्रकै मध्य सडकमा चौवीसै घण्टा धुँलो उड्दा मुख छोपेर हिड्न बाध्य भएको स्थानीय भरत लिम्बुले बताए।

सदरमुकाम भित्रको पुरानो बैक लाइन क्षेत्रमा कोही पनि स्थानीय मुख नछोपी हिड्न र बस्न सक्दैनन्, सडक पक्की भए पनि आसपासका कच्ची सडकबाट आउने हिलो र धुँलोले सो सडक पनि ढाक्दा चौविसै घण्टा धुँलो उड्छ, कसरी हिड्ने लिम्बु प्रश्न गर्छन्। नगरपालिकाले सडकको स्तरउन्नति, निर्माण र मर्मतमा ध्यान दिनुपर्ने उनको सुझाव रहेको छ।

पाथिभरा क्याम्पसका प्राध्यापक तथा स्थानीय सजन पौडेलले सडक निर्माणसँगै ढल निकास नहुँदा समस्या अझै बढेकाे बताउँछन्। यसैगरी सदरमुकाममा मात्र होइन दोभान, सिवा, सुकेटार, नाङ्खोल्याङ हुँदै थेचम्बु जाने सडकको पनि स्तर उन्नति नहुँदा हिउँद र वर्षात दुबै समयमा स्थानीयले समस्या बोहोर्नु परेको स्थानीय खगेन्द्र चाँगेलीको गुनासो रहेको छ।

अस्पतालको स्तरउन्नति नहुँदा समस्या

फुङ्लिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले जिल्ला अस्पताल ताप्लेजुङका कर्मचारी र चिकित्सकलाई सेवामा सुधार गर्न बारम्बार आग्रह गर्दै आएका छन्। अस्पतालमा उपचारमा पुगेका आफ्ना आफन्तदेखि स्थानीयसम्मको उपचारमा लापरबाही भएको मेयरको भनाइलाई लिएर अस्पताल र नगरपालिकाबीच भित्रभित्रै चर्काचर्की परे पनि अस्पतालको सुधार र व्यवस्थापनमा गुनासो नघटेको नगरपालिका कै कर्मचारी बताउँछन्। अस्पतालको फोहोर व्यवस्थापन, शौचालय र बाथरुम सरसफाइ,बिरामीलाई गर्ने व्यवहारमा अझै पनि परिवर्तन नभएको स्थानीयको गुनासो छ।

स्थानीयवासी दीपक थापा जिल्ला अस्पतालमा अति आवस्यक पर्ने एक्स रे मेसिन, सिटी स्क्यान सहितको सेवा विस्तारमा पनि नगरपालिकाले ध्यान दिनुपर्ने बताउँछन्। अस्पतालकै फार्मेसीमा सबै प्रकारका औषधि नपाइने तर फार्मेसीको नजिकै रहेको निजी क्लिनिकमा सबै औषधि पाइने बेतिथिको अन्त्यमा पनि अहिलेसम्म नगरपालिका र प्रशासनको ध्यान नगएको थापाको गुनासो रहेको छ। जिल्ला अस्पतालमानै पनि सरकारले निशुल्क भनी तोकेको औषधि पर्याप्त मात्रामा नपाउनु नगरपालिकाका मात्रै नभइ जिल्लाका स्थानीयको लागि दुखत भएको उनको भनाइ छ।

पार्किङस्थल निर्माण र टहरा व्यवस्थापन मुख्य चुनौति 

ताप्लेजुङ मेचीको अन्तिम जिल्ला हो। झापा, इलाम, पाँचथरबाट आउँने सबारीको अन्तिम बिन्दु फुङ्लिङ बजार नै हो। तर, नगरपालिका भित्र पार्किङ गर्ने क्षेत्र निर्माण नहुँदा सानु सडककै दायाँ बायाँ बस, ट्याक्सीर ट्रक रोकेर राख्ने गरिएको छ। यसले गर्दा सवारी सञ्चालनदेखि लिएर पैदल यात्रुलाई यात्रा गर्न समेत समस्या हुने गरेको छ।

सानो सडक आसपासमानै सडकसम्म फैलने गरी पसल गर्ने, टहरा निर्माण गर्ने र चिया देखि तरकारीसम्म विक्री गर्नेहरुको संख्या बढेकाले दुर्घटनाको जोखिम अझै बढेको स्थानीय योगेश्वर निरौलाको भनाइ छ। सबै ठाउँमा समान सडक विस्तारमा ध्यान नदिदा र पार्किङ र बजारलाई व्यवस्थापन नगर्दा नगरपालिका भएको अनुभूति अझै हुन नसकेको निरौलाले गुनासो गरे।

केही महिना अघि नगरपालिका कार्यालय, ट्राफिक प्रहरी र यातायात व्यवसायीवीच पार्किङका विषयमा जग्गा निर्धारण गरी सोही स्थानमा पार्किङ गर्ने सहमति भए पनि अझै कार्यान्वयनमा आउन सकेको छैन। सुविधा सम्पन्न पार्किङको व्यवस्था भए स-शुल्क नै भए पनि पार्किङ गर्न नगरवासी तयार रहे काे देखिन्छ। तर सम्बन्धित निकायले यस विषयमा अझै ध्यान नपुगेको स्थानीय सजन पौडेल बताउँछन्। यता फुङ्लिङ नगरपालिकाले भवन र टहरालाई व्यवस्थापन गर्न सूचना प्रकाशित गर्दै काम सुरु गरेको बताइएको छ।

घर, टहरा, भवन लगायतका संरचना बनाउँदा नगरपालिकाको निर्माण इजाजत लिनुपर्ने र त्यसो नगरे जरिवाना गर्ने तयारी भएको नगरपालिकाले जानकारी दिएको छ। घर टहरा व्यवस्थापन गरे केही हदसम्म सडक अतिक्रमण रोकिने स्थानीयकाे बुझाइ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.