|

बुटवल : बुद्ध जन्मस्थल लुम्बिनीको अतिसंवेदनशील क्षेत्रमा मानिसको कपाल, रौँ, दाँत, नङ, हड्डी गाडेको भेटिएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत पूरातात्त्विकस्थल मायादेवी मन्दिर नजिकै ताइवानी नागरिकले सुरक्षाकर्मीलाई घुस दिएर यस्ता सामान गाडेको खुलासा भएको हो। 

उत्खनन्‌का लागि निषेधित क्षेत्रमा ४० जना ताइवानी नागरिकले मायादेवी मन्दिरको पश्चिमतर्फ बेलको रूख नजिकै २० सेन्टिमिटर गहिरो, ५० सेन्टिरमिटर चौडाइको खाल्डो खनेर कपालको रौँ, दाँत, नङ, हड्डी, बालुवा, खरानी, कोइला, सिक्का, चुरालगायतका सामान गाडेको भेटिएको हो। 

चैत १२ गते साँझ मायादेवी मन्दिरको सुरक्षामा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई घुस दिएर ती सामान गाडेको र त्यहाँको माटो लिएर गएको पुरातत्त्व विभागका अधिकृत हिमाल उप्रेतीले बताए। अधिकृत उप्रेतीका अनुसार खाल्डोबाट साना र ठूला गरी २५० वटा पोका सामान निकालिएको छ। ती सामान कुन उद्देश्यले गाडिएका हुन् भन्नेबारेमा भने खुल्न सकेको छैन। 

विदेशी नागरिकले कपालका रौँ र अरू केही वस्तु चढाएको भन्दै स्थानीय सुरक्षा निकायले सामान्य रूपमा लिएको पाइएको छ। सशस्त्र प्रहरी कार्यालय लुम्बिनीका प्रहरी नायव उपरीक्षक बद्रीनारायण चौधरीले मायादेवी मन्दिर परिसरमा सामान गाडिएको भन्ने थाहा भएलगत्तै आफू मातहतका सुरक्षाकर्मीसँग छलफल गरे पनि विदेशी नागरिकले कपालको रौँ र केही वस्तु चढाएको भन्ने जानकारी पाएपछि घटनालाई सामान्य रूपमा लिएको बताए। चौधरीले यति गम्भीर विषयमा सामान्य हिसाबले सूचना आएकाले त्यसैअनुसार पेस भएको बताउँदै भने, 'यसले हामीलाई पाठ सिकायो।’ 

सामान गाडेको बारेमा अर्को दिन थाहा पाए पनि बुद्ध जयन्तीको तयारी र लुम्बिनीमा चैत्र पूर्णिमा मेला चलेकाले आन्तरिक पर्यटकको भीडले गर्दा त्यता चासो दिन नपाएको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले बताए। भट्टराईले यस विषयमा छानविन गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन लुम्बिनी विकास कोषले पुरातत्त्व अधिकृत हिमाल उप्रेती र प्रशासकीय अधिकृत चूडामणि भट्टराईलाई जिम्मेवारी दिएको निमित्त सदस्य सचिव भट्टराईले जानकारी दिए।

लुुम्बिनीको सुरक्षामा सशस्त्र प्रहरी, दंगा प्रहरी, पर्यटन प्रहरी, ग्रुप फोर र विकास कोषका सुरक्षाकर्मीहरू खटिए पनि कहिले नक्कली टिकट काण्ड, पर्यटकको रकम चोरी तथा पर्यटकमाथि हिंसालगायतका धेरै घटनाहरू बाहिर आउन थालेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.