|

काठमाडौं : अर्थमन्त्री डा.युवराज खतिवडाले सरकारले जारी गरेको श्‍वेतपत्रमा समग्र अर्थतन्त्रको फेयरिस्त जानकारी नभई नकारात्मक पक्ष र समस्याको विषयमा मात्रै जानकारी गराइएको कुरा स्वीकार गरेका छन्। पूर्वअर्थमन्त्री तथा अर्थविद्हरुले अर्थतन्त्रका नकारात्मक पक्ष केलाइएको र तथ्यांक नै तोड मोड गरिएको आरोपसमेत लगाइरहँदा श्‍वेतपत्रमा नभएका र नपुगेका विषय समेटिएको खतिवडाले बताएका हुन्।

'राम्रा पक्षहरू छदै छैनन् भनेको हैन नभएको नपुगेका पक्षहरूलाई त्यहाँ हाइलाइट गरेको हो',बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँगको भेटघाटको क्रममा खतिवडाले भने।

डाक्टरले जे समस्या छ त्यो समस्या मात्रै लेख्छन् हामीले पनि त्यस्तै गरेका हौँ

उनले राम्रा पक्ष चर्चा गर्न जरुरत नभएको समेत बताएका छन्। 'हामी कहिलेकाही डाक्टर कहाँ गयौँ भने उसले यहाँ यो समस्या छ भन्छ। हात ठिक छ, खुट्टा ठिक छन्, टाउको ठिक छ, भनेर भन्दैनन्', खतिवडाले भने, 'डाक्टरले जे समस्या छ त्यो समस्या मात्रै लेख्छन् हामीले पनि त्यस्तै गरेका हौँ।'

अर्थतन्त्रको आकार ठूलो बनेको, सामाजिक क्षेत्रमा गरेको लगानीको प्रतिफल आउन थालेको, वित्तीय प्रणालीको विस्तार भएका जस्ता धेरै राम्रा कामहरू पनि भएको खतिवडाले बताए। उनले राम्रा कामको निरन्तरता दिँदै नभएका/नगरेका पक्ष केलाएर  आगामी एजेण्डा बनाइएको समेत बताए।

'हामीले श्‍वेतपत्रमा जे समस्या देखायौँ, यो हामीले सुधार गर्छौँ भनेर एजेण्डा बनाएको हो' खतिवडाले भने। उनले धेरै पुरानो  तथ्यांकसँग दाजेर फराकिलो भयौँ प्रगति धेरै गर्‍यौँ भन्न पनि नहुने बताएका छन्। '२००८ सालको बजेटसँग तुलाना गर्न थाल्यो भने हामी कही पुग्दैनौँ', खतिवडाले भने, 'हामी जस्ता मुलुक आजभन्दा २५ वर्ष पहिले कहाँ थिए अहिले कहाँ छन् भनेर तुलना गर्ने पो हो।'

साढे १२ सयको थ्रेसहोल्ड हामीले पूरा गर्न नसकेको कुरा त कतै लुकेको छैन नि

प्रतिव्यक्ति आयमा थ्रेसहोल्ड पुर्‍याउन नसकेको कारण विकसित राष्ट्रको सूचीमा स्तरोन्नति  हुन नसेको तथ्य नलुक्नेसमेत बताएका छन्। 'अहिले पनि हाम्रो साढे आठ सय डलर वरिपरि प्रतिव्यक्ती आम्दानी छ तर, साढे १२ सयको थ्रेसहोल्ड हामीले पूरा गर्न नसकेको कुरा त कतै लुकेको छैन नि?', खतिवडाले भने।

उनले अहिले सरकारले श्‍वेतपत्रमार्फत देखाएका समस्या सरकारका आगामी काम भएको समेत बताएका छन्। यी समस्यामध्ये कति काम भयो भनेर आगामी दिनमा समीक्षा गर्नुपर्ने खतिवडाले बताए।

यसअघि पूर्वअर्थमन्त्री डा.रामशरण महत, अर्थविद् दिपेन्द्रबहादुर क्षेत्री, डा. विश्‍व पौडेललगायतले सरकारले जारी गरेको श्‍वेतपत्रमा नकारात्मक पक्ष मात्रै देखाएर गर्ने कामको जस लिन खोजेको आरोप लगाएका थिए। उनीहरूले तथ्यांक तोडमोड मात्रै नगरी गलत तथ्यांकसमेत प्रस्तुत गरिएको आरोप लगाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.