|

काठमाडौं : नेपाली सेनाको सञ्चारमाध्यममा अाएको ‘सेनाको भान्सामा पकाएको बंगुरको मासु नखाँदा सैनिकको जागिर गयो’ भन्ने शीर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी गरी समाचारप्रति अापत्ति जनाएको हो।

'भान्छामा पाकेको बंगुरको मासु नखाँदा जागिर गयो' भन्ने समाचार आधारहीन र कपोलकल्पित भएको विज्ञप्तिमा उल्लेख छ। सम्पूर्ण भाषाभाषी, जातजातिका व्यक्तिहरुको धर्म, संस्कृति, रीतिरिवाज तथा परम्पराको उच्च सम्मान गर्दै अाएको सेनाले जनाएको छ। कुखुरा तथा खसीको मासु तथा अण्डा नखाने शाकाहारी सैनिकलाई उक्त स्केल बराबरको रकमबाट फलफूल, दूध-दहीजस्ता खाद्य वस्तुको व्यवस्था गर्ने गरिएको भन्दै सेनाले कसैलाई पनि जबरजस्ती अण्डा वा मासु खान अनिवार्य नगरेको स्पष्ट पारेको छ।

'बाँके जिल्लाको राँझास्थित श्री नं. ४ बाहिनी अड्डामा कार्यरत प्युठ मोहम्मद जाबिर खाँले घरायसी समस्या दर्शाई उपदानमा राजीनामा जान पाऊँ भनी राजीखुसी सिलसिलेवार पेस गरेको राजीनामाको कागजातअनुसार नै नियमानुसार उपदानमा राजीनामा स्वीकृत भएको हुँदा ‘दबाब र योजनाबाट जागिर गएको’ भनी प्रेषित तथ्यहीन समाचारबाट भ्रममा नपर्न नेपाली सेना सम्पूर्ण पाठकवर्गमा अनुरोध गर्दछ', विज्ञप्तिमा भनिएको छ। 

समाचार प्रकाशन\प्रसारण गर्दा नेपाली सेनाको सम्बन्धित निकायमा सोधपुछ गर्न सकिने व्यवस्थालाई बेवास्ता गरी एकतर्फी समाचार प्रकाशन गरेको सेनाले बताएको छ। सबै जात, जाति, भाषाभाषीहरु तथा धर्मका व्यक्तिहरु सदिऔंदेखि एक–आपसमा मिलेर बसेको समाजमा यस्ता आधारहीन र अतिरञ्जित समाचारबाट सामाजिक एकता र सद्भावमा खलल पुग्ने कुरामा ध्यान दिन सेनाले अाग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.