|

जाजरकोट : नलगाड नगरपालिका-९ का हरिबहादुर विक टाउको दुख्नासाथ त्रात्रस्थित स्वास्थ्य संस्थामा नगई निजी मेडिकलमा गए। निजी मेडिकलबाट एकैछिनमा उपचार गरी विक घर फर्किए। टाउको दुखेको औषधिलाई उनले मेडिकलमा ८३२ रुपैयाँ तिरे।

मेडिकल सञ्चालक कुनै मान्यता प्राप्त स्वास्थ्यकर्मी होइनन्। औषधि बिक्री गर्ने अधिकार मात्र पाएका मेडिकल पसलेले हरिबहादुर विकलाई जाँच गरी हजार रुपैयाँभन्दा बढीको औषधि थमाएपछि छिटो सञ्चो हुने आसले औषधि खरिद गरी लिएका हुन्।

उनीजस्तै सोही वडाकै जय खत्री पेट दुखेको औषधि उपचार गरिदिन अर्को मेडिकलमा पुगे। उनको पनि त्यस्तैगरी मेडिकल पसलेले अनुमानको भरमा पेट छामेर एक हजार ३०० को औषधि हातमा थमाइदिए। उनले केही नबोली औषधिको रकम तिरेर घर फर्किए।

यस्तै, दैनिक यहाँका मेडिकलमा दर्जनौँ बिरामी यसरी आएर उपचार गरी जाने गरेका छन्। मेडिकलबाट कडा डोजको औषधि बिरामीले लिएर सेवन गर्दा आजभोलि खत्री र विकलाई सरकारी स्वास्थ्य संस्थाको औषधिले काम गर्दैन।

उनीहरु बिरामी हुनेबित्तिकै निजी मेडिकलमा मात्र गएर औषधि सेवन गर्दै आएका छन्। सरकारी स्वास्थ्य संस्थाभन्दा दैनिक निजी मेडिकलमा बिरामीको भीड लाग्ने गर्दछ। सरकारी स्वास्थ्य संस्थाभन्दा आजभोलि दैनिक निजी मेडिकलमा मात्र बिरामीको भीड लाग्ने गर्दछ।

सरकारीमा औषधि उपचार नै छैन : स्थानीय

सरकारीमा जाँदा औषधि नै नहुने र दिएको औषधिले पनि राम्रोसँग काम नगर्ने भएकाले आफू जान छाडेको बारेकोट गाउँपालिका-५ का चन्द्र शाहीले बताए।

पैसा खर्च गरेर भए पनि छिटो सञ्चो हुने उनको भनाइ छ। सरकारीमा राम्रो सेवासुविधा पाइने भएमा किन हामी पैसा खर्च गरी मेडिकलमा गई उपचार गराउने थियौँ र?, बस्नेतले प्रश्न गरे।

जाजरकोटका ग्रामीण क्षेत्रदेखि जिल्ला अस्पतालसम्म बिरामीले विश्वास नमानेपछि निजी स्वास्थ्य संस्थामा गएर उपचार गराउने गरेको बताउँछन्। जाजरकोटको जिल्ला अस्पतालभन्दा २० किलोमिटर टाढा, रुकुमको चौरजहारी अस्पतालमा उपचार गराउनेको ठूलो भीड रहेको छ। गाउँ–गाउँमा रहेका स्वास्थ्य संस्थाभन्दा निजीस्तरबाट खुलेका औषधि पसलमा बिरामीको ठूलो भीड हुने गरेको छ।

नियमित स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नहुनु र औषधि पनि सबै प्रकारको नपाउनु सरकारी स्वास्थ्य संस्थाको ठूलो समस्या हो। सरकारी स्वास्थ्य संस्थामा उपचार गराउन आउने बिरामीलाई स्वास्थ्यकर्मीको रुखो बोलीले समेत पीडित बनाएको बिरामीको भनाइ छ।

बिरामी सरकारी स्वास्थ्य संस्थामा उपचारका लागि गएपछि खासै बिरामीप्रति ध्यान नदिँदा थप पीडा हुने गरेको स्थानीयवासीको गुनासो छ। तोकिएको समयमा उपचार नगर्ने, यदि गरिहाले पनि बिरामीको आत्मबल कमजोर हुने गरी केरकार गर्दा उपचारभन्दा पीडा बढी हुने गरेको भेरी नगरपालिका-१ की हजारी पानमती विकले बताइन्। गाउँका स्वास्थ्य संस्थामा भनेको समयमा स्वास्थ्यकर्मी नै नभेट्दा समस्या हुँदै आएको छ।

घण्टौँ हिँडेर स्वास्थ्य संस्थासम्म आउने बिरामीहरु स्वास्थ्यकर्मी नै नभेट्दा थप पीडा हुने गरेको बताउँछन्। पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुँदा निजी मेडिकल र धामी, झाँक्रीको भरपर्नुपर्ने बाध्यता छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.