|

रौतहट : वैज्ञानिक वन व्यवस्थापन गर्ने लक्ष्य लिएर रौतहटका तीनवटा सामुदायिक वन उपभोक्ता समूहमा रूख कटान कार्य सुरु भएको छ। चन्द्रपुर नगरपालिका-२ मा रहेको नमुना सामुदायिक वन, वडा- ४ मा रहेको जन एकता सामुदायिक वन र वडा ६ मा रहेको हातेमालो सामुदायिक वनको सयौँ सालका रूख काटिँदै छन्।अग्नि रेखा निर्माण, वैज्ञानिक तवरले वन संरक्षण गर्ने लक्ष्यका साथ ती सामुदायिक वनहरूमा माउ, ढलेका तथा मक्केका रूख कटान गर्न लागिएको जिल्ला वन कार्यालय रौतहटका जिल्ला वन अधिकृत दीर्गनारायण कोइरालाले जानकारी दिए।

जिल्ला वन कार्यालय रौतहटले दिएको जानकारीअनुसार वैज्ञानिक वन व्यवस्थापनको लागि नमुना सामुदायिक वनको ५१७, हातेमालो सामुदायिक वनको ३१५, जन एकता सामुदायिक वनको २१२ वटा र राष्ट्रिय वनअन्तर्गतको धन्सार प्लट फरेस्‍टमा ९७१ वटा गरी २ हजार १५ वटा साललगायतका विभिन्न रूख काटिने भएका छन्।

रूख कटानबाट नमुना सामुदायिक वनबाट करिब ६ हजार ५०० क्युफिट, जनएकता सामुदायिक वनबाट ४ हजार ५०० क्युफिट र हातेमालो सामुदायिक वनबाट ४ हजार क्युफिट काठ उत्पादन हुने जिल्ला वन अधिकृत कोइरालाले जानकारी दिएका छन्। यसैगरी, सो कटानबाट ८१ चट्टा दाउरासमेत उत्पादन हुने वन कार्यालयले जनाएको छ। सामुदायिक वनमा धमाधम रूख काटिँदै छन्।

नमुना सामुदायिक वनमा ५ हजार ४०० मिटर र हातेमालो सामुदायिक वनमा ३ हजार ८९७ मिटर लामो अग्नि रेखा बनाउने योजना रहेको छ।अग्नि रेखा बनाउने स्थान र पुराना रूख गरी सो संख्यामा साललगायतका विभिन्न जातका रूखहरू काट्न लागिएको हो। केही सामुदायिक वनमा उपभोक्ताले विरोध जनाएको भएता पनि रूख काटिने क्रम रोकिएको छैन। यता, जिल्ला वन अधिकृत कोइरालाले भने वैज्ञानिक वनबाट उपभोक्तालाई नै फाइदा हुने दाबी गरेका छन्।

सामाजिक,आर्थिक तथा वातारणीय हिसाबले उपयुक्त र वनले प्रदान गर्ने वस्तु तथा सेवाको निरन्तरता वा वृद्धि हुने गरी गरिने वन व्यवस्थापन नै वैज्ञानिक वन व्यवस्थापन भएको जिल्ला वन अधिकृत कोइरालाले जानकारी दिए। वन व्यवस्थापनबाट उपभोक्तालाई ठूलो लाभ र समाजको विकास हुने भएकोले पनि सरकारले यस नीतिलाई अवलम्बन गरेको उनले जानकारी दिएका छन्। 

जिल्ला वन अधिकृत कोइरालाले भने, ‘वैज्ञानिक वन व्यवस्थापनले काठ चोरी नियन्त्रण, आगलागी नियन्त्रण, उपभोक्ताले सहज रूपमा काठ दाउरा पाउने भएको हुँदा पनि यो वनको नीति उपभोक्ता कै हितमा छ।’ यसैगरी, वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमबाट आफनो वन क्षेत्रको संरक्षण गर्न सहज भएको हातेमालो सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामलाल ठोक्करले बताए। 

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा काटिएको रूखको सही सदुपयोग गरी उपभोक्तालाई काठ उपलब्ध गराउन र त्यसको आम्दानीबाट सामुदायिक वनको संरक्षण गर्न सहज हुने अध्यक्ष ठोक्करले बताएका छन्। यता, केही उपभोक्ताले भने वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम वन मास्ने कार्यक्रम भएको बताएका छन्।सालको रूख भएको सामुदायिक वनमा मात्र यस्तो कार्यक्रम सञ्‍चालन गरेको जुडिबेलाका स्थानीय मनोजकुमार चौधरीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.