|

इलाम : पछिल्लो तीन वर्षमा इलाम जिल्लामा ७६ जना महिला बलात्कृत भएका छन्। जिल्ला प्रहरी कार्यालय इलामले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको ८ महिनामा मात्रै १० महिला बलात्कृत भएका छन्। 

आर्थिक वर्ष २०७३/७४ मा ४५ र  ७२/७३ मा २१ जना महिला बलात्कारको सिकार भएको इलामका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपिन कर्मचार्यले बताए। शैक्षिक योग्यताको आधारमा बलात्कारका घटनाको विश्लेषण गर्दा पीडितहरू साधारण लेखपढ गरेका ४४ जना, एसएलसीसम्म अध्ययन गरेका ३० जना, १२ पास गरेका २ जना महिला बलात्कारको सिकार भएको उनले जानकारी दिए। उनले भने, ‘पीडकको हकमा पनि साधारण लेखपढ गर्ने ५३ जना, एसएलसीसम्मको अध्ययन गर्ने १७ जना, १२ पास गरेका ६ जना पुरुषहरू रहेका छन्।’ 

इलामको तथ्याङ्क केलाएर हेर्ने हो भने साधारण लेखपढ गरेका महिला र त्यस्तै वर्गका पुरुषरू इलाम जिल्लाको हकमा पीडित र पीडक भएको देखिन्छ। १६ वर्ष उमेर समूहसम्मका ४२ जना, १७ देखि २५ वर्ष उमेर समूहका १६ जना, २६ देखि ४० वर्ष उमेर समूहका १० जना, ४१ देखि ६० वर्ष उमेर समूहका ५ जना र ६१ वर्ष माथिका १ जना महिला बलात्कृत भएको तथ्याङ्क रहेको छ। यसैगरी पीडकको हकमा १६ वर्षसम्मका १३ जना, १७ देखि २५ वर्ष उमेर समूहका ३७ जना, २६ देखि ४० वर्ष उमेर समूहका १३ जना, ४१ देखि ६० वर्ष उमेर समूहका १० जना र ६१ वर्ष माथिका ३ जना पुरुष रहेका छन्।

जिल्ला प्रहरी कार्यालय इलामले आर्थिक अवस्थाका आधारमा पनि विगत ३ आर्थिक वर्षमा इलाम जिल्लामा घटेका घटनाहरूको विश्लेषण गरेको छ। निम्न वर्गका ४३ जना, मध्यम वर्गका ३१ जना र उच्च मध्यम वर्गका २ जना महिला पीडित बनेका छन्। त्यसैगरी निम्न वर्गका ३९ जना, मध्यम वर्गका ३२ जना र उच्च मध्यम वर्गका ५ जना पुरुष घटना संलग्न देखिएको छ। 

घटनास्थलको प्रकृति हेर्ने हो भने खुल्ला स्थानमा ५३ वटा घटना भएको र बन्द स्थानमा २३ वटा घटना भएको पाइएको तथ्यांक छ। जबरजस्ती करणी र जबरजस्ती करणी उद्योग अपराधको विद्यमान अवस्था, प्रवृत्ति र प्रकृति अध्ययन गर्दा केही समयसँगै जीवन बिताएर सम्बन्ध बिग्रिँदा प्रहरी समक्ष उजुरी पर्ने गरेको, पछिल्लो समय पार्टनरसीपमा काम गर्ने र शारीरिक सम्बन्ध पनि राख्ने तर, सम्बन्ध टुटेपछि प्रहरीमा जाहेरी हाल्ने, ‘लामो समयसम्म अफेयरमा बसेर केटाले अर्की केटीलाई विहे गर्दा पनि बलात्कारको अभियोग लगाउने गरेको जस्तो देखिएको' कर्मचायले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.