|

पुँजीवाद आएकोमा धेरै नेपालीहरू खुसी भयौँ तर पुँजीवाद सबैभन्दा स्वार्थी, अपराधी र जनविरोधी राजनीतिक प्रणाली हो। संवेदना र भावना मरेको राजनीतिक प्रणाली हो। पुँजीवादमा धनीहरू झनझन् धनी हुँदा छन् र गरिवहरू झनझन् गरिव भइरहेका छन्। यो चक्र पुँजीवादी व्यवस्था भएसम्म रहिरहनेछ।

पुँजीवादलाई मनपर्ने चरित्र भनेको युद्ध हो। पहिलो विश्वयुद्ध युरोपका उपनिवेशवादी मुलुकहरूको आपसी झगडाका कारण भएको थियो। दोस्रो विश्वयुद्धले संसारलाई दग्ध बनायो। तर राम्रो के भयो भने विश्वयुद्धका थालनीकर्तालाई पराजित गरे प्रतिपक्षीहरूले। सुरु भएको झण्डै छ वर्षपछि त्यसको अन्त्येष्टि भयो। तर दुःखको कुरा विश्वयुद्धसँग कुनै सरोकार नभएको नेपालका साठी हजार युवाहरूले विश्वयुद्धको बलिबेदीमा आफूलाई होम्नुपर्‍यो। नेपाली सेना हुँदैनथ्यो भने हिटलरलाई बेलायती सेनाले हराउन सक्ने थिएन। तर पुँजीवादको बलियो खम्बा भएको बेलायतले कहिल्यै नेपाली सेनाको यस्ता वीरतापूर्ण कारवाहीको सम्मान गरेन।

त्यसैले कम्तीमा पनि नेपाली सेनाको कामको सम्मान होस् भनेर अहिले पनि भूतपूर्व गोर्खा सैनिकहरूले बेलायतमा शान्तिपूर्ण आन्दोलन गरिरहनुपरेको छ।
दोस्रो विश्वयुद्धको समाप्ति नै पुँजीवादी युद्धको समाप्ति भएन। अमेरिकाले भियतनाममा आक्रमण गर्‍यो। उसले त्यहाँ दोस्रो विश्वयुद्धमा खसालेको भन्दा दोब्बर बम खसाल्यो। बस्तीका बस्ती, गाउँमा खसालेका ती बमका गोलाहरू कति जनधनको विनास गर्‍यो होला, अहिले अनुमान गर्न सकिन्न। तर अमेरिका भियतनाममा पराजित भयो र आफ्ना आधा लाख सैनिक चिहानमा पुर्दै फनक्क फर्किएर अमेरिकातिर लाग्यो। 

त्यसभन्दा अघि अमेरिकाले उत्तर कोरियाली भूभागमा बम खसाल्यो। ध्वस्त भए शहरहरू। बमले उडाइए गाउँहरू। अन्त्यमा कोरियालाई विभाजित गरेपछि अमेरिका चुप लागेर बस्यो। अहिले राजनीतिक र नैतिक हिसाबले पराजित भइसक्दा पनि अमेरिकाले उत्तर कोरियाका विरुद्ध आफ्नो भाषण युद्ध छोड्न सकेको छैन। सबैभन्दा पछिल्लो समय मध्यपूर्व दनदनाएर बलेको छ। यसको पछाडि पनि अमेरिकाको हात छ।

किन? कोही पनि यसको उत्तर दिन तयार छैनन्। दोस्रो विश्वयुद्धका विजेता राष्ट्रहरूले बनाएको संयुक्त राष्ट्रसंघ पनि यस्ता नरसंहारकारी युद्धप्रति मौन दर्शक भएर अमेरिकाको म्यानहटनमा ठिंग उभिएको छ। किन? किनभने अहिले पनि पुँजीवादी मुलुकहरू विश्वलाई आफ्नो क्रीडास्थल ठान्छन् र विश्वको जुनसुकै कुनामा रैँदालो मच्चाउनु आफ्नो अधिकार हो भन्ने तर्क अघि सार्छन्। 

एकपटक बलियो भएको अन्तर्राष्ट्रिय असंलग्न आन्दोलन सारतः साम्राज्यवादविरोधी थियो। तर तत्कालको समाजवादले यसलाई बुझ्न र सघाउन सकेन। त्यसैले पुँजीवादलाई पराजित गर्ने एउटा अवसर समाजवादले गुमायो।

समाजवादी चिन्तकहरूले समाज विकासको वैज्ञानिक नियमको आधारमा पुँजीवादपछि समाजवाद आउँछ भने। तर तिनले भनेजसरी पुँजीवादको गर्भबाट समाजवाद जन्मिएन। पुँजीवादको गर्भबाट पुँजीवादै जन्मियो। पुँजीवादले पुँजीवादलाई नै जन्माएको हुनाले पुँजीवाद मरेन। कहिले त्यो उदार भयो, कहिले त्यो अतिवादी भयो, कहिले त्यो राष्ट्रवादी भयो। धेरैजसो त्यो आक्रमणकारी भयो।

पछिल्ला समाजवादीहरूले पुँजीवादको यो नाटकलाई बुझ्न सकेनन्। त्यसैले समाजवादी मुलुकले पुँजीवाद तथा साम्राज्यवादविरोधी शक्तिलाई बल प्रदान गर्न सकेनन्। एकपटक बलियो भएको अन्तर्राष्ट्रिय असंलग्न आन्दोलन सारतः साम्राज्यवादविरोधी थियो। तर तत्कालको समाजवादले यसलाई बुझ्न र सघाउन सकेन। त्यसैले पुँजीवादलाई पराजित गर्ने एउटा अवसर समाजवादले गुमायो।

ढललाई पानीमा मिसाएर त्यसलाई पानी हो भन्ने क्षमता पुँजीवादसँग छ। समाजवादसँग त्यो क्षमता छैन। ऊ आफ्ना राम्रा कामहरूको प्रचार गर्न पनि जान्दैन। यो कुनै आरोप होइन। पुँजीवादीहरूले प्लास्टिकको प्रवर्द्धन गरे। सारा संसार प्लास्टिकमय भयो। आफूले प्लाष्टिक उत्पादनबाट खर्बौं डलर कमाइसकेपछि पुँजीवादका वैज्ञानिकहरूले प्लास्टिक संसारको सबैभन्दा फोहोर, स्वास्थ्यविरोधी उत्पादन हो भनेर आतंक पैmलाए। के तिनलाई उत्पादनको आरम्भमै यो जानकारी थिएन? थियो। तर तिनले पुँजीवादी साहुहरूका लागि सत्य लुकाएर प्लास्टिक प्रवर्द्धन गरे।

मैले चिनी रोगसम्बन्धी अनुसन्धानको एउटा रिपोर्ट पढेको थिएँ कुनै अंग्रेजी खबर कागजमा। पहिले ‘सुगर लेभल’ १४० थियो रे! अर्थात् १३० हुँदासम्म पनि डराइहाल्नु नपर्ने। पछि त्यो लेभल १२५ मा झरेछ अनायास। कारण खोज्दै जाँदा के पत्ता लागेछ भने त्यो सुगर लेभल नाप्ने नयाँ अनुसन्धाताको एघार जनाको टिममा आठ जनाचाहिँ सुगर औषधि उत्पादन गर्ने कम्पनीका सल्लाहकार थिए रे! यो मैले पढेको कुरा हो।

पुँजीवाद यस्तो अपराधलाई अपराध मान्दैन तर समाजवादीहरू आफ्ना राम्रा कामहरूको प्रचार पनि गर्न सक्दैनन्। क्युवाको स्वास्थ्य सेवा संसारको सबैभन्दा उन्नत छ रे! यो मैले क्युवा भ्रमण गरेर फर्किएका डाक्टरहरूबाट सुनेको कुरा हो। तर धनी र सरकारी नेपालीहरू आफ्नो रोगको उपचार गराउन अमेरिकाको न्यूयोर्क जान्छन् तर जाँदैनन् कोही क्युवा। 

उत्तर कोरिया (प्रजातान्त्रिक जनगणतन्त्र कोरिया)को वर्तमान परिचय एउटा डरलाग्दोे तानाशाहको शासन भएको छ। तर मैले १० जनाजति सर्जकको संस्मरण पढेँ उत्तर कोरिया भ्रमणको। उनीहरूको लेखनीअनुसार उत्तर कोरिया केटाकेटीहरूको स्वर्ग हो। मान्छे हँसिला खुसिला नै देखिन्छ। जता गयो त्यतै फराकिलो बाटो मात्र देखिन्छ। ठूलाठूला होटलहरू छन्। नाचगान पनि भएकै छन्। यो ती सर्जकहरूको व्यक्तिगत भोगाइको अभिव्यक्ति हो। उसै पनि अन्तर्राष्ट्रिय खेलहरूमा उत्तर कोरियाको स्थिति हाम्रो जस्तो निराशाजनक छैन। खानै नपाउने गरिब भएका भए तिनले यस्तो उपलब्धि पाउने पनि थिएनन्।

म स्वयम्ले दुई शत्रु राष्ट्र उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाको भ्रमण गरेको छु। उत्तर कोरियामा म गाडीमा गुडेँ। रेल चढेँ। ढुंगाबाट कपडा उत्पादन गर्ने कारखाना पनि देखेँ र एउटा गहु्रँगो सेतो साडी पनि किनेँ। म गाउँ पुगेँ। गाउँको रेल स्टेशनमा झण्डै एक घण्टा आराम गरेँ। लुम्फिनी (भनेको हाम्रो लुम्बिनी) पार्क पनि पुगेँ। तर, मैले कतै माग्ने भेटिनँ। 

सन् २००० मा म अमेरिका पुगेँ। वासिंटनको डुपोण्ट सर्कलमा ‘वन डलर प्लिज’ भन्ने माग्ने भेटेँ। तातो पानीका ढलहरूमाथि वाफ तापिरहेका बुढाबुढीहरू पनि भेटेँ। 

अर्थात् पुँजीवाद पिठो बेच्न सिपालु छ, समाजवाद चामल बेच्न पनि जान्दैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.