वर्षको तीन/चार लाखका लागि विदेश नजान युवाहरूलाई सुझाब
वर्षको तीन/चार लाखका लागि विदेश नजान युवाहरूलाई सुझाब
सुर्खेत : प्रेम सुनार २९ वर्षका भए। सुनार जुन समूहमा जान्छन्, त्यही ठाउँमा सर्वसाधारणहरू उनका कुरा सुन्न भेला भइहाल्छन्। उनी पनि आफूले जानेका, सिकेका र ज्ञान, अनुभव सबैलाई बाँडिहाल्छन्। सुनारका कुरा नसुनून् पनि कसरी? उनी निर्वाचित वडासदस्य पनि हुन्। प्रेमले वडा सदस्यसम्म पुग्न जीवनमा धेरै मोड पार गरेका छन्।
सुर्खेतको भेरी गंगा नगरपालिका-६ ठूलाखालीका प्रेम पाँच भाइमध्येका साइला हुन्। उनका बुबा सुनको गरगहना बनाउने काम गर्थे। उक्त पेसाबाट अाएको कमाइले घर व्यवहार राम्रै चलिरहेको थियो। तर, प्रेमका बुबा मानसिक बिरामी भए। घर खर्च चलाउने व्यक्ति नै बिरामी भएपछि उनकाे व्यापार लथालिंग भयो। दुई छोरी र पाँच भाइ छोरा हुर्काउन, पढाउन र घर खर्च चलाउन परिवारमा समस्या हुन थाल्याे। दिन प्रतिदिन आर्थिकरूपमा नाजुक बन्दै एकछाक खान हम्मेहम्मे भयो।
५० हजार सापटीमा घुम्ती व्यापार
‘विपत्का वेला सरसापट माग्दा पनि कसैले दुई पैसा पत्याएनन्,’ प्रेमले विगत सम्झिए, ‘कति दिन त एकछाक खाएर पनि काटेकाे छु।’ कथित दलितको छोरा, त्यसमाथि पनि झन् गरिब परिवारकाे छोरा भएपछि जीवनमा पाउनु दु:ख भाेगे प्रेमले। तर, अहिले प्रेमको जीवन फेरिएको छ।
नेपाल दलित तथा जनजाति विकास केन्द्र (कोडेड) र गरिबी निवारण कोषको साझेदारीमा कार्यक्रमले प्रेमको जिन्दगीमा परिवर्तन ल्याएको हो।अति गरिबको सूचीमा परेका उनले एकता सामुदायिक संस्थामार्फत ५० हजार रुपैयाँ ऋण लिएर घुम्ती व्यापारको सुरुवात गरे। प्रेमले घुम्ती व्यापारमा खसी, बोका, भैँसी र राँगा बेचविखन गर्न थाले। घुम्ती व्यापार सुरु गरेपछि उनलाई पैसाको लागि अरूसँग हात फैलाउन परेन। बरु अरूलाई परेका बेला अार्थिक सहयाेग गर्न थाले।
पहिले अार्थिक अवस्था नाजुक भएकाले प्रेमले ९ कक्षा पढ्दापढ्दै कामको खोजीमा भारतका विभिन्न सहरसम्म पुगे। काठमाडाैंका इँटाभट्टामा पनि काम गरे। दुईचार वर्षपछि उनी गाउँमै फर्केर र गाउँकै लागि केही गर्न सुरु गरे।अहिले सुनारले राम्राे अाम्दानी गरिरहेका छन्। सुनार भन्छन् ‘वर्षको तीनलाख कमाइका लागि विदेश जानुपर्दैन। हामीले आफ्नै गाउँ ठाउँमा मिहिनेत गरे राम्रै हुनेरहेछ। कृषि र पशुपालन क्षेत्रमा पनि नयाँ तरिकाले काम गर्नसके खाडीमा कमाउने पैसा आफ्नै गाउँमै कमाउन सकिन्छ। अहिले मआफ्नाे कामप्रति सन्तुष्ट छु।’
सुनारले भने, ‘अहिले मैले घुम्ती व्यापारबाटै जात्री भन्ने ठाउँमा जग्गा किनेकाे छु। खानको लागि समस्या पनि छैन। घुम्ती व्यापारले गर्दा गाउँ वरपर सबैतिर चिनजान र सम्बन्ध राम्रो बनेकाे छ। हिजोका दिनमा एक पैसा नपत्याउनेहरू दौँतरी भएका छन्। परेका वेला सकेजति सहयोग पनि गर्छन्।’
सुनार अहिले स्थानीय तहको निर्वाचनमा भेरी गंगा नगरपालिकाका वडा सदस्यमा निर्वाचित छन्। वडा प्रतिनिधि सुनार भन्छन्, ‘कुनै पनि काम गर्दा व्यवसायमा लाग्दा इमानदार निरन्तर लाग्ने हो भने कुनै न कुनै दिन त सफल भइँदोरहेछ, म अहिले जे छु त्यो घुम्ती व्यापारकै याेगदान हो।’ ‘एकचोटि सबैका दिन आउँछन् भन्थे,अहिले हो रहेछजस्तो लागेको छ।’
इमानदार भएर लागे अवश्य सफलता
नगरपालिकाका जनप्रतिनिधिमा निर्वाचित भइसकेपछि सुनारले घुम्ती व्यवसायलाई भने निरन्तरता दिन सकेनन्। जनप्रतिनिधि भइसकेपछि जनताको काममा कहिले कता कहिले कता जानु पर्ने भएकाले गर्न नभ्याइने भएर अहिले घुम्ती व्यापार गर्न छोडेको सुनारले बताए। अहिले सुनारले करिब तीन लाख लगानीमा बाख्रा पालन सुरु गरेका छन्। बाख्रा पालनको लागि आर्थिक स्रोत भने त्यही घुम्ती व्यवसाय भएको सुनार बताउँछन्।
सुनार भन्छन्, ‘जनप्रतिनिधि भएबाट घुम्ती व्यापार गर्ने समय नै पाउन सकिएको छैन, जनताको काममा हिँडनुपर्ने, बरु अहिले बाख्रापालनको सुरुवात गरेको छु सबै गरी अहिले ५४ वटा बाख्रा छन्।’ सुनार भन्छन्, ‘आफ्ना छोराछोरीलाई उनीहरूले मागेको कुरा पुर्याउन सकिएको छ।’ यति भन्दै गर्दा सुनारले आफ्नो बाल्यकाल पुन: सम्झे, ‘कसैको घरमा मीठो मसिनो खाना पाक्यो भने पनि हामीले कहिले खान पाउँला र भन्ने लाग्थ्यो। घरमा कोही दुःख बिरामी पर्दा ओखतीमूलो गर्ने अवस्था पनि हुँदैनथ्यो।’
सुनार भन्छन्, ‘एकचोटि ज्वरो आएर बिरामी पर्दा सरकारी अस्पतालमा नाम लेखाउने पाँच रुपैयाँ नभएर एक हप्तासम्म घरमै थलिएर बसेको छु। काठे जडीबुटी ओखती खाएर मात्र निको भयो।’ उनले अघि थपे, ‘दुःखका दिन सम्झने हो भने त अहिले पनि आँसु आउँछन्।
स्कुल जाँदा खुट्टामा लगाउने जुत्ता चप्पल थिएन ‘खाली खुट्टा देखेर गिज्याउलान् भनेर अगाडिको सिटमा पनि बसिनँ।’ छुट्टी हुनुभन्दा पहिले क्लासबाट बाहिर निस्कन सक्दैनथेँ, लाज लाग्थ्यो।’ उनी अघि थप्छन्, ‘मलाई कोडेकले केही गर्न पनि सिकायो, आत्मनिर्भर हुन पनि सिकायो। दुईचारजनाको अगाडि कुराकानी गर्नसक्ने पनि भएको छु।’
अहिले सुनारले इज्जत र प्रतिष्ठाको जीवन जिइरहेका छन्। उनी भन्छन्, ‘युवा विदेश गएर जीवनको ग्यारेन्टी छैन। परिवारसँगै बसेर आफ्नै देशमा केही उद्यम गरे राम्रो हुन्छ। मैले सबैलाई आफ्नै गाउँमा केही गर्न सुझाब दिन्छु।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।