|

भक्तपुर : एक वर्षअघि साझा यातायातले भक्तपुर प्रवेशका लागि यातायात व्यवस्था विभागमा निवेदन दियो। २० वटा बसका लागि रुट यस्तो बनाइएको थियो– १० वटा बस जडिबुटीबाट सानोठिमी–पुरानोठिमी–भक्तपुर हुँदै कमलविनायक भएर नयाँ बाटोमार्फत फर्किने। १० वटा बस जडिबुटीबाट नयाँबाटो–सल्लाघारी, सूर्यविनायक–कमलविनायक हँँदै पुरानो बाटो भएर निस्किने।

तर भक्तपुरमा गाडी चलाइरहेका व्यवसायीले विभिन्न समितिमार्फत भक्तपुरमा साझा बसलाई अाउन नदिन विरोध जनाए। व्यवसायीहरूले यातायात व्यवस्था विभागदेखि मन्त्रालयसम्म दबाब दिए। 'साझा'लाई भक्तपुरमा पस्नै नदिने अडान राखे।

साझाले गत वर्ष फागुन ३० मा यातायात व्यवस्था विभागमा निवेदन दिएको थियो। व्यवसायीको विरोधका बाबजुत भक्तपुरवासीको प्रसासपछि जेठ १० गतेदेखि नयाँ बाटोमा साझा बस गुड्न थाले। २० बस मनहरा खोला पार गरेर भक्तपुर प्रवेश गर्न त पाए तर नयाँबाटो हुँदै सूर्यविनायकसम्म। त्यही रुटबाट फर्किनेगरी।

जडिबुटीबाट पुरानो बाटो हुँदै सूर्यविनायक जानुपर्ने वा सूर्यविनायकबाट पुरानोबाटो हुँदै जडिबुटी भएर फर्किनुपर्ने साझाबसको रुट नै बदलियो। स्वयम्भुबाट सीतापाइला–कलंकी–रवीभवन–सोल्टीमोड–कालीमाट–टेकु–त्रिपुरेश्वर–शहीदगेट–सिंहदरबार–माइतीघर–बबरमहल–नयाँबानेश्वर–मीनभवन हुँदै कोटेश्वरसम्म चल्ने सबै बस नयाँबाटो हुँदै भक्तपुरको सूर्यवनायकसम्म चल्न थाले। त्यहीँबाट केही दिनअघिबाट साझाका बस काभ्रेको बनेपा पुग्न थालेका छन्।

‘भक्तपुरको राम्रो सडकमा मात्र नभई ग्रामीण भेगमा समेत सञ्चालनमा ल्याउनुपर्ने अड्को थाप्दै यातायात व्यवस्थामा उजुरी दिएका थिए’, साझा यातायातका निमित्त कार्यकारी प्रमुख महेन्द्रराज पाण्डे सम्झिन्छन्, ‘यसकारण धेरै कोसिस गर्दा पनि पुरानो बाटोमा प्रवेश गर्न सकिएन।'

पुरानो बाटोमा सधैँ सास्ती

कोटेश्वर–जडिबुटीबाट पुरानो सिनामंगल (पेप्सीकोला) सानोठिमी पुरानो ठिमी हुँदै सल्लाघारी निस्किने मार्गलाई पुरानो बाटो भनिन्छ। अरनिको राजमार्ग नबनुञ्जेल काभ्रे सिन्धुपाल्चोकलगायत काठमाडौंपूर्व जोड्ने बाटो यही हो। 

मध्यपुर यातायात सद्भाव समितिको (पहिले–पुरानोबाटो मिनिबस सेवा समिति) नाममा यहाँ वर्षौंदेखि ९ नम्बर रुटको गाडी चल्ने गरेको छ। यसका मालिकहरू विशेषगरी मध्यपुर ठिमीकै हुन्। थोरै बस, यात्रुहरूको चाप, बसका कर्मचारीहरूको दुर्व्यवहारका कारण अाजित भएर स्थानीयले अन्य सुविधाजनक गाडी चलाउन विभिन्न निकायमा पुगेर पहल गरेको वर्षौं भइसक्याे। एक स्थानीयले भने, 'प्रशासन व्यापारीकै सुन्छ। सर्वसाधारणले दु:ख पाएको नदेखेझैं गर्छ।

यहाँभन्दा धेरै पछि बनेका शहर बस्तीमा भने जस्ता सुविधाजनक रूपमा गाडी चल्छन्। एउटा भीड भए अर्कोमा, पहिलोमा चढ्न मन नलागे दोस्रोमा जाने विकल्प हुन्छ। छानीछानी सुविधा पाइन्छ। पहिले–पहिले अन्य समितिका गाडी (माइक्रो, हायस आदि) चलाउन नखोजिएको पनि होइन।चलेको दिनमै फोरेर चकनाचुर पारिने गरिएको थियो।

प्रशासनले केही गर्दैन। व्यवसायीकै पक्षपोषण गर्छ। त्यसैले जोखिम मोल्न कसैले आँट गर्दैन। नाम नबताउने सर्तमा सानोठिमीका एक बासिन्दा भन्छन्, 'मनोहरा खोला तरेर वारि आएपछि गाडी चकनाचुर हुने भएपछि कसले आँट गर्ने?,सरकारले सिण्डिकेट हटाएकाले अब केही होला कि!'

बस काठमाडौं जाँदा सानोठिमीमा र काठमाडौंबाट भक्तपुर फर्किँदा कोटेश्वरमा १०\१५ मिनेट रोकिने गर्छ। पछिल्लो गाडी अाएपछि मात्र अघिल्ला अघि बढ्छन्। यी ठाउँबाट कोचाकोच गरी यात्रु खाँद्ने, ड्राइभर खलाँसीले भनेजस्तो नभए यात्रुलाई दुर्वयवहार गर्ने, कछुवा गतिमा हिँड्ने र भाडामा मनपरि गर्ने ९ नम्बरको बसबाट आजित छन्, मध्यपुरका बासिन्दा।

मध्यपुर ठिमी सांस्कृतिक नगरी। शिक्षासम्बन्धी दर्जनौं सरकारी कार्यालय, प्रशिक्षण केन्द्र, विद्यालय, क्याम्पस भएकाले सानोठिमीको नाम बनेको छ, शैक्षिक नगरी। तरकारीबारीसमेत मासेर घडेरी बनाइएकाले यहाँ बसोबास गर्ने र शैक्षिक गतिविधिका लागि आउनेको चाप कति होला अनुमान गर्न सकिन्छ। तर यातायातको दृष्टिले सधैँ पिछडिएको। 'पेप्सीकोलासम्म अनेक रुटका बस चल्ने। मनाेहरापारि पुगेपछि ९ नम्बर गाडीकै हालीमुहाली', बोडे बस्ने सम्झना कोइरालाले भनिन्, 'एकाधिकार भएपछि यात्रुलाई जति दुर्व्यवहार गरे पनि भयो।'

भक्तपुरबाट सानोठिमी, कोटेश्वर हुँदै बागबजार, लगनखेल, नयाँ बसपार्क (गोंगबु) तीन तिरका गाडी चल्छन्। 'गाडी कति चल्छन्?, थाहाखबरको प्रश्नमा मध्यपुर यातायात सद्भाव समितिकाे अध्यक्ष शिवभक्त थापा श्रेष्ठले 'अण्टसण्ट' जवाफ दिए, '८०\९० वटा चल्छन् हाेला।'

'समितिमै बुझ्नु' भन्ने उनको सुझाव मान्दै फोन गर्दा कार्यालय प्रमुख केशव कारञ्जितले १०० को हाराहारीमा गाडी चल्ने जानकारी दिए। ‘गाडी १६० वटा हो, रिजर्भ, स्कुललगायतमा जाने हुनाले १०० जति नियमित छन्’, उनले भने।

उनका अनुसार नयाँ बसपार्कका लागि ३५\४० बस छुट्याइएका छन्। लगनखेल १५ वटा जान्छन्। सरस्वतीखेलतिरबाट जाने २५ वटासहित ७० वटा बस बागबजार जान्छन्। यात्रुको चाप, उनीहरूले पाएको हण्डर र कारञ्जितको भनाइमा तालमेल भने देखिँदैन।

स्थानीय सरकार मजबुत भइसकेको सन्दर्भमा मध्यपुरवासीले पाएको सास्ती हटाउन नगरपालिकाचाहिँ के गर्दै होला? यो प्रश्नको जवाफ खोज्न नगरपालिकामा फोन गर्दा प्रमुख मदनसुन्दर श्रेष्ठ बाहिर रहेको जवाफ दिइयो। पटक–पटक प्रयास गर्दा पनि श्रेष्ठले मोबाइल उठाएनन्।

तत्काल चल्दैनन् साझा बस

सरकारले देशभर यातायातमा सिण्डिकेट हटाउने घोषणा गरिसकेको सन्दर्भमा नयाँ यातायात समितिका गाडी आउने आश त गर्छन्, स्थानीय बासिन्दा। तर साझा बस भने तत्काल पुरानो बाटो नजाने भएको छ। 'पहिलेको प्रयास सफल नभएका कारण साझाका बस बनेपा पुग्न थालिसकेका छन्', साझा यातायातका निमित्त कार्यकारी प्रमुख महेन्द्रराज पाण्डेले भने,‘तत्कालका लागि साझा बस पुरानो बाटो लग्न सम्भव छैन।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.