एउटै खोरको करिब दुई हजार कुखुरा मरे

|

चितवन : केही दिनदेखि रोग लागेर धमाधम लेयर्स कुखुरा मरिरहेको चितवनमा पछिल्लो समयमा ब्रोइलर कुखुरामा समेत रोग देखिन थालेको छ। शनिबार मात्रै पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ स्थित सिम्रेनीको ध्रुवतारा एकीकृत कृषि फर्मका सयौं ब्रोइलर कुखुरा मरेका छन्। 

रामशरण थापाको फर्ममा कुखुरा यसरी मरेको हो। ‘चैत १९ गतेदेखि रोग लाग्न थालेको हो, २३ गतेसम्ममा एक हजार ५०० कुखुरा मरिसक्यो,’ थापाले भने, ‘आज मात्रै दुई तीन सय कुखुरा मरे।’ शनिबार बिहान उनले फर्ममा पुग्दा मरेका कुखुरा गाड्ने तयारीमा थापा थिए। तीन हजार ५०० कुखुरा पालेका थापाको फर्ममा बाँकी रहेका करिब एक हजार ५०० कुखुरा पनि अधिकांश झोक्राएका छन्। 

‘अब एक दुई दिनमा सबै कुखुरा मर्छ,’ थापाले दुखेसो पोखे, ‘१०/१५ हजारको औषधिले पनि काम गरेन।’ भरतपुरस्थित पशु अन्वेषण प्रयोगशालामा परीक्षण गराइए पनि उपचार सफल हुन नसकेको उनले बताए। थापाका अनुसार डाक्टरले औषधि नचलाउन भनेकाले सिटामोल मात्रै दिएर राखिएको छ।

चल्ला हालेको २५ दिनमा चैत १९ गते छ सात वटा कुखुरा झोक्राएका थिए। २० गते कुखुरा मर्न थालेपछि सोही दिन औषधि दिइएको थियो। तर कुखुरा मर्न नरोकिएको थापाले बताए।स्थानीयले गाउँमा चरा र हाँस समेत मरेको बताएका छन्। कुमरोजका विष्णु भण्डारीले चरा समेत मरेको देखेको बताए।

कुखुरा मर्न थालेपछि  स्थानीयहरु भने बर्डफ्लु लागेको दावी गर्दै आएका छन्। तर, पशु सेवा कार्यालय चितवनले भने अहिलेसम्म बर्डफ्लु नदेखिएको दावी गरेको छ। यसअघि मरेका लेयर्स कुखुरामा भने एच ९ रोग लागेको देखिएको पशु चिकित्सक डा. विकास श्रेष्ठ बताए। 

पूर्वी चितवनको रत्ननगरस्थित लामिछाने पोल्ट्री फर्मका ४ हजार ५०० लेयर कुखुरा मरिसकेका छन्। अन्य फर्ममा समेत धमाधम कुखुरा मरिरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.