|

लहान : दलितभित्रका पनि अत्यन्त कमजोर र पुछारमा रहेका अल्पसंख्यक डोमहरुले स्थानीय तहबाट नै राजनीतिक प्रतिनिधित्व सुनिश्चिततासहितको माग गरेका छन्। सिरहाको लहानमा शनिबार बिहान सम्पन्न राष्ट्रिय डोम उत्थान समाज, प्रदेश–२ स्तरीय डोम भेलाले सामजिक, सांस्कृतिक, राजनीतिक रुपले सबैभन्दा पुछारमा रहेका डोमहरुलाई मूलधारमा ल्याउन राजनीतिक प्रतिनिधित्वसहित ११ बुँदे माग गरेको हो।

छुवाछुतदेखि बंगुरपालनसम्म

भेलाले कानुनी रुपमा दण्डनीय रहेको जातीय छुवाछुत कायमै रहेकाले छुवाछुत गर्नेलाई कारबाहीका लागि सामजिक अगुवा र राजनीतिक दलका नेताहरुको सहयोगको माग गर्दै भनेको छ, ‘डोमहरुमाथि हुँदै आएको भेद्भाव अन्त्य गर्न रक्षात्मक र अन्तरक्रियात्मक दुवैखाले अभियान सञ्चालन गरिनुपर्छ।’

शिक्षामा सबैभन्दापछि रहेका डोमहरुको शिक्षा तथा सारक्षरताका लागि स्थानीय तह तथा विद्यालयहरुको भूमिका बढ्नुपर्ने माग गर्दै भेलाले बाँसजन्य सामग्री निर्माण तथा बंगुरपालन गर्ने डोमहरुको सीपको आधुनिकीकरणका लागि राज्यको सहयोगको माग गरेको छ।

त्यसका अतिरिक्त बालविवाहको कुरीतिमा फसेको डोम समुदायको जागरणका लागि राज्यले नै विशेष ध्यान दिनुपर्ने आग्रह गर्दै शिक्षा मन्त्रालयमार्फत चिकित्सक र इन्जिनियर अध्ययनका लागि निजी विद्यालयबाट पढेकाहरुलाई पनि अवसर दिइनुपर्ने माग गरिएको छ।

१५ सदस्यीय प्रदेश समिति

भेलाले सप्तरीका डोम अगुवा युक्तिलाल मरिक अध्यक्षतामा राष्ट्रिय डोम उत्थान समाज, नेपालको १५ सदस्यीय प्रदेश समिति गठन गरेको छ। समितिमा उपाध्यक्ष लिलियादेवी मरिक (सिरहा), महासचिव रामचन्द्र मरिक (सिरहा), सचिव युगल मरिक (सिरहा), कोषाध्यक्ष सरोज मरिक (धनुषा) रहेका छन्। प्रदेश समिति सदस्यहरु सिसकन्दर मरिक (सप्तरी), रौतहटका वीरेन्द्र मरिक, दिनेश मरिक, उर्मिलादेवी मरिक, बाराबाट विश्वनाथ मरिक, सीताराम मरिक, विजय मरिक  (सर्लाही), शान्तिदेवी मरिक (सिरहा), निरसु मरिक (महोत्तरी) चयन भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.