फिचर

समाजसेवादेखि रंगमञ्‍चसम्म चम्किँदै ‘जुनकिरी’
SHARES

अबको योजना : जिन्दगी जिन्दावाद!

बैशाख १, २०७५

    काठमाडौं : जीवन लक्ष्यविना चलेको हुँदैन। कुनै न कुनै तबरबाट मान्छेले जीवनको लक्ष्य बनाएकै हुन्छ। जीवनमा यो बन्छु भरेर सबैले सानैदेखि लक्ष्य लिएको हुन्छ तर उनले जीवनमा कुनै लक्ष्य लिएकी थिइनन्। यही बन्छु भन्ने उनले जीवनमा कुनै लक्ष्य र योजना बनाइनन्। त्यसैले त नानी थापा अहिले बहुप्रतिभाशाली भइन्। सामाजिक सेवासँगै रंगकर्मीको परिचय उनले बनाइन्। उनले सानैदेखि एउटा मात्र लक्ष्य लिएकी थिइनन्। समाजसेवाका क्षेत्रमा काम गर्ने उनको लक्ष्य थियो। त्यहीअनुसार उनी नाटक र सामाजिक सेवाका क्षेत्रमा काम गरिरहेकी छन्।

    एकल नाटकको क्षेत्रमा उनलाई नचिन्ने सायदै होलान्। २०७३ सालमा मंचन भएको नाटक 'जुनकिरी'बाट उनले निकै चर्चा कमाइन्। सानैदेखि थापालाई नाटक असाध्यै मनपर्थ्यो। विद्यालय तहमा पनि उनी सानैदेखि नाटक लेख्ने र खेल्ने गर्थिन्। विद्यालयमा हुने प्रत्येक कार्यक्रममा उनी सहभागिता जनाउने गर्थिन्।

    ‘सानैदेखि गीत, कविता, गजलल लेख्थेँ, कार्यक्रममा पनि सहभागी हुन्थेँ', नानी भन्छिन्, 'प्रतियोगितामा पहिलो पुरस्कार कहीँ जाँदैनथ्यो। पछि नाटकमा प्रवेश गरेँ।’

    त्यसबेला गाउँगाउँमा गैरसरकारी संस्था बढ्दै थिए। गाउँमा भएका हिंसाको अन्त्य गर्न यस्ता संस्थाले काम गर्ने गर्थे। थापा भन्छिन्, ‘त्यसबेला गाउँमा एनजिओ पनि आएका थिए। चेतनामूलक नाटक पनि गर्थे। हामी पनि यस्ता नाटकमा भाग लिन्थ्यौँ। महिला अधिकार, बालबालिकाको हिंसाविरुद्धका नाटकमा म पनि अभिनय गर्थेँ तर मैले नाटकचाहिँ स्कुलको स्टेजबाट नै सुरु गरेको हो।’

    यसरी बन्यो ‘जुनकिरी’

    उनले स्नताकमा थिएटर पढेकी हुन्। सानैदेखि नाटक लेखनमा ध्यान दिने भएका कारण पनि उनी थिएटर पढ्न प्रेरित भइन्। उनले स्नातकमा वरिष्ठ नाट्यकर्मी अशेष मल्लसँग थिएटर पढ्ने मौका पाइन्। त्यसबेला भर्खर परीक्षा सकिएको थियो। ५० पूर्णांकको सैद्धान्तिक प्रश्न हुन्थ्यो भने ५० पूर्णांकको प्रयोगात्मक।

    ‘प्रक्टिकलका लागि मैले एकल नाटक गर्ने निर्णय गरेँ। त्यसबेला एकल नाटकको चार्म पनि थियो। नाटक देखाएपछि क्याम्पस प्रमुखदेखि सहभागी सबै रुनुभयो', थापा भन्छिन्, 'अशेष सरले पनि एकदमै मनपर्‍यो भनेर एकल नाटक त तिमीले  सर्वनाम थिएटरमा पनि गर्नै पर्छ भन्नुभयो।’

    उनले आफ्ना गुरुलाई हुन्छ भन्ने जवाफ दिइन्। त्यसबेला भर्खर सर्वनाम थिएटर खुलेको थियो।

    उनको स्नातकको पढाइ पनि सकिएको थियो। त्यसपछि उनले स्नातकोत्तर सुरु पनि गरिन् तर गुरुलाई दिएको बचन भने बिर्सन सकिनन्। उनले गुरुलाई दक्षिणा स्वरूप एउटा एकल नाटक उपहार दिने योजना बनाइन्। ‘मैले उहाँलाई बचन दिएर पनि होला, उहाँले भेट्दैपिच्छे खोइ नाटक भन्न थाल्नुभयो’, उनले मुस्कुराउँदै सुनाइन्। मल्लबाटै दीक्षित भएका कारण पनि उनले गुरुलाई दक्षिणा स्वरूप एकल नाटक दिनुपर्ने नै थियो।

    त्यसपछि उनले आफैँ नाटक लेख्ने र आफैँ अभिनय गर्ने योजना बनाइन्। उनले भनिन्, ‘उहाँलाई आफैँ अभिनय, निर्देशन र लेखन गरेर दक्षिणा स्वरूप सुम्पने अठोट गरेकी थिएँ तर के विषय गर्ने भन्ने थाहा थिएन।’

    विषयको खोजी गर्दै जाँदा जन्मियो- 'जुनकिरी।' जुनकिरीभित्र कसरी काठमाडौंमा उच्चतहका व्यक्तिहरूको यौन धन्दा हुन्छ भन्ने विषय समावेश गरिएको छ। ‘यसमा मैले हाइप्रोफाइल कल गर्लको कथालाई समेटेकी छु', नानी भन्छिन्, 'यसबारेमा जोकोहीलाई थाहा थिएन। मान्छेले रत्नपार्क र ठमेलमा मात्र यौन धन्दा हुन्छ भन्ने सोचेका थिए।’

    यो विषय उनले एउटा संस्थामा काम गर्दा थाहा पाएकी थिइन्। अध्ययनका क्रममा तथ्यांक संकलनमा जाँदा यौन धन्दामा संलग्नका बारेमा थाहा पाइन् उनले। ‘त्यहाँ एक किसिमको द्वन्द्व देखेँ। यौनकर्मीबीच जहिल्यै द्वन्द्व हुँदोरहेछ', थापाले सुनाइन्, 'उनीहरू बैँकमा पैसा जम्मा भएको एसएमएस आएपछि मात्र जाँदा रहेछन्।’  त्यसपछि थापा उनीहरूसँग घुलमिल भइन्। उनले उनीहरूलाई नजिकबाट चिनिन् र यो कथा तयार पारिन्। तर उनको पढाइका कारण तत्काल नाटक देखाउने अवस्था थिएन। फेरि यो विषयमा नाटक देखाउन आफूसँग परिपक्वता पनि छैन कि जस्तो लाग्थ्यो रे उनलाई।

    ‘नाटकमा सबै कुरा पुगेको छ। गीत छ, नृत्य छ, कविता छ। सबै कुरा समावेश भएको छ', नाटक जुनकिरीको रचनागर्भबारे नानीले भनिन्, 'हुनचाहिँ नाटक कल गर्लको बारेमा भए पनि उनी गाउँदेखि कसरी शहर आइन् र कसरी १० वर्ष संघर्ष गरिन् भन्ने सबै कुरा समावेश भएको छ।’

    यो नाटक लेखेपछि उनले गुरु मल्ललाई उनले देखाइन्। धेरै पटक मल्लले पुनर्लेखन गर्नसमेत लगाए। उनले यो नाटक तयार पार्न तीन वर्ष लागेको सम्झिइन्। 

    जुनकिरीबाट उठेको सबै रकम समाजसेवामा खर्च गरेकी थिइन् नानीले। जुनकिरी हेर्नका लागि एमाले महासचिव शंकर पोखरेल, तत्कालीन संचारमन्त्री मोहनबहादुर बस्नेत, पत्रकार/राजनीतिकर्मी रवीन्द्र मिश्र, युवा नेतृ नविना लामा, नायक राजेश हमाललगायत आएका थिए।

    उनले २०६१ सालतिर बाल यौन दुर्व्यवहारमा परेकी बालिकाका बारेमा तयार पारिएको ‘पुतली’ एकल नाटक पनि गरिन्।

    ‘रोल मोडल’का रूपमा स्थापित हुने चाहना

    जुनकिरी अर्थात् नानी थापा नेपाली समाजकी एक चम्किली तारा हुन्। उनी नाट्य क्षेत्र, समाज सेवा तथा पढाइमा पनि सधैँ अब्बल हुन्छिन्। उमेरले अढाई दशकमा मात्र प्रवेश गरेकी थापा विद्यालय तहको पढाइमा सधैँ पहिलो नै बन्ने गरेकी थिइन्। उनले तीनवटा विषयमा स्नातकोत्तर गर्दैछन्। मनोविज्ञानमा उनले स्नातकोत्तर गरिसकेकी छन् भने कानुन र राजनीतिशास्त्रमा स्नातकोत्तर गर्दै छन्। उनी विभिन्न विद्यालय, सरकारी तथा गैरसरकारी संस्थामा तनाव व्यवस्थानका क्षेत्रमा तालिम पनि दिन्छिन्।

    उनी आफू समाजमा रोल मोडल बन्न चाहन्छिन्। ‘मलाई यो समाज परिवर्तन गरेर रोल मोडल बन्नु छ। किशोर\किशोरीको रोल मोडल त जो पनि बन्छ। उनीहरू जसले जे भन्यो, त्यतै लाग्छन्। उनीहरु बहकिन्छन्', नानी भन्छिन्, 'म बुढाबुढीको पनि रोल मोडल बन्न चाहन्छु। मेरो पुस्ताका मान्छेका लागि त उत्प्रेरक बनेकै छु।’

    उमेरले  डेढ दशक मात्र नाघेकी भए पनि उनको संगत भने ५० वर्ष कटिसकेकासँग छ। भन्छिन्, ‘तर मलाई धेरैले उमेर मात्र त्यति हो, व्यवहार त त्यसको ठ्याक्कै उल्टो उमेरको जस्तै छ भन्ने गर्नुभएको छ। तिमी मेरो उत्प्रेरक हो भन्नुहुन्छ, त्यसबेला धेरै खुसी लाग्छ।’ 

    पूर्वमन्त्रीले भने : तिम्रो फोटो देख्दा ऊर्जा आउँछ

    गत वर्ष एक जना पूर्वमन्त्री बिरामी भएर अस्पताल भर्ना भएका थिए। त्यसबेला उनले नानीलाई भेटे। उनीमा छुट्टै उर्जा आएको बताए रे। नानी भन्छिन्, ‘पोहोर साल उहाँ बिरामी हुनुभयो। उहाँलाई मैले भेटैँ। त्यसबेला उहाँलाई छुट्टै ऊर्जा आयो रे!’ नानीको व्यक्तित्व देखेर आफूलाई ऊर्जा आउने गरेको बताउँछन् रे केही मानिस! भन्छिन्, 'सायद मेरो फोटोमा पनि मानिसलाई ऊर्जा दिने केही चिज होला। किनकि म सधैँ नयाँ काम र समयको सदुपयोगका लागि क्रियाशील रहन्छु।'

    त्यसबेला डाक्टरले ती मन्त्रीलाई २२ दिन अस्पताल राख्नुपर्छ भनेका थिए रे! तर नानी गएको भोलिपल्ट उनी डिसचार्ज भए। त्यसपछि ती पूर्वमन्त्रीले उनलाई मेल लेखेछन्। ‘डिस्चार्ज भएको भोलिपल्ट उहाँले मलाई धेरै लामो मेल लेख्नुभयो', नानी भन्छिन्, 'मलाई अत्यन्तै खुसी लाग्यो किनभने मेरा कारणले उहाँको अस्पताल बसाइ छोटियो।'

    ती पूर्वमन्त्रीले मात्र यसो भनेका होइनन् उनलाई। यस्ता घटना धेरै पटक भएको उनी बताउँछिन्। भन्छिन्, ‘उहाँले मात्र होइन धेरैले नै भन्नुहुन्छ। कतिले त टेन्सन भएको बेला फेसबुकमा मेरो प्रोफाइल हेरेर मेरो व्यक्तित्व र सक्रियता देखेर यसै रिलिफ भएको पनि सुनाउनुभएको छ। काउन्सिलिङ गरेको कति लिन्छेस् भनेर धेरैले सोध्नुहुन्छ। यसबेला मलाई धेरै खुसी लाग्छ।’ उनी अहिले क्याम्पस पढाउनुका साथै मनोपरामर्शदाताको पनि काम गर्छिन्।

    'मनोपरामर्शदाता पीडामा डुब्न सकेन भने बिरामीलाई उतार्न सक्दैन'

    उनीसँग भएको शक्ति आफूसँग परामर्शमा आउनेकै लागि बचाएर राखेको जस्तो लाग्छ रे उनलाई। मनोपरामर्शदाताको काम भनेको पीडैपीडाको सागरमा डुब्नु भएको उनको बुझाइ छ। ‘हाम्रो काम भनेको बिरामीको व्यथैव्यथाको सागरमा डुब्नु नै हो र डुब्नु नै पर्छ', भन्छिन्, 'यदि म उहाँहरूको पीडामा डुब्न सकिनँ भने उहाँहरूलाई उतार्न सक्दिनँ। यो धेरै संवेदनशील काम हो।’

    बाहिरबाट हेर्दा जति सजिलो छ, परामर्शदाताको काम त्यतिकै गाह्रो भएको उनी बताउँछिन्। भन्छिन्, ‘हुनत मान्छेले यो कामलाई सल्लाह दिने कामका रूपमा मात्र लिने गरेका छन् तर त्यो सत्य होइन। हामीले बिरामीलाई सुन्ने, उहाँहरूलाई बुझ्ने र उहाँहरूद्वारा नै उपचार गर्ने गर्नुपर्छ। जादूको छडीले छोएजस्तो होइन।’

    झन् नेपालमा त मानसिक रोगी भनेपछि घृणाका रूपमा हेरिने गरेको बताउँदै नानी भन्छिन्, 'अस्पताल चहार्दा चहार्दा मानसिक रोगी झनै तनावमा पर्छन्। बल्ल डिप्रेसनभन्दा माथि आएपछि मात्र उनीहरू हामीकहाँ आउँछन्। यसले गर्दा हामीलाई पनि धेरै गाह्रो पर्छ।’

    नाम नानी, व्यवहार परिपक्व

    किशोर अवस्था भर्खर सकिएर जवान हुन लाग्दाको हो उनको उमेर। यस अवस्थामा मान्छेले धेरै कुराको अनुभव गरेको हुन्छ। साथीसँग खेल्ने, हिँड्ने, रमाइलो गर्ने उमेरका रूपमा यस अवस्थालाई लिइन्छ।

    तर उनले यो उमेरको अनुभव नै गर्न पाइनन्। सानैदेखि समाजसेवा र रंगमंचमा लागेका कारण पनि सानैदेखि उनी परिपक्व बन्नुपर्‍यो। ‘मैले खाने, खेल्ने उमेरचाहिँ मिस गरेकै हो। अहिले पनि मेरो उमेरका कतिपय साथीहरू कलेज जाँदा पनि घरमा गाडी भाडा मागेर जान्छन् तर मचाहिँ घरमा सब्जी छ कि छैन भन्ने सोच्छु', भन्छिन्, 'यसमा मलाई कुनै गुनासो छैन। मैले अहिले नै जीवन र जगतलाई बुझ्न पाएकी छु।’

    परिवार र साथीभाइलाई नजिक राख्न समय धेरै चाहिन्छ तर उनीसँग समय पर्याप्त छैन। त्यसले गर्दा कहिलेकाहीँ उनलाई यी समय गुमाएजस्तो लाग्छ रे!

    विवाह नगरी समाज नै बुझिँदैन

    विवाह सामाजिक संस्था हो। विवाह गरेपछि सामाजिक काममा आउन नसकिने धेरैको बुझाइ छ। विवाहअघि चर्चामा आएका मानिसहरू विवाहपछि हराउने गरेका छन्।

    त्यसमा पनि नेपाल जस्तो पुरुषवादी समाजमा महिलालाई विवाहपछि धेरै समस्या हुन्छ तर नानीको भने त्यसमा सोचाइ फकर छ। विवाह समाजको एउटा पाटो भएकाले विवाहबाट धेरै कुरा सिक्न सकिने उनी बताउँछिन्। भन्छिन्, ‘मेरो त्यो अवस्था नआउला किनकि अहिलेसम्म सबै कुरालाई सन्तुलन गरेकै छु। विवाह एउटा सामाजिक संस्था हो। यसभित्र मैले प्रवेश गरिनँ भने त मैले कसरी समाजलाई बुझ्छु र!’

    अहिले पनि नेपाली समाजमा महिला र पुरुषबीच धेरै विभेद छ। कुनै घरमा पनि छोरा र छोरीबीच विभेद हुन्छ नै। उनी यस विषयमा भने सन्तुलन गर्न सक्ने बताउँछिन्। ‘सबै घरमा छोराभन्दा छोरीप्रति आशा हुन्छ। छोराले खाएको थाल नमाझी हिँड्दा केही हुन्न तर छोरीले माझिन भने कस्तो मात्तिएकी भन्छन्', नानी भन्छिन्, 'तर यही थाल माझ्ने काम मात्र गर्नुपर्छ भन्ने मेरो भनाइ होइन। हुनत मलाई पनि थाल माझ्न आउँछ, घाँस काट्न सक्छु, धान रोप्न आउँछ। त्योबाहेक अरू बौद्धिक काम गर्न समय खर्चन सक्छु। त्यसले केही पृथक कुरा उत्पादन हुन्छ।'

    अबको योजना : जिन्दगी जिन्दावाद!

    अब २०७५ सालको उनको योजना 'जिन्दगी जिन्दावाद' हो। उनले आफ्नो छैठौँ एकल नाटक 'जिन्दगी जिन्दावाद' लिएर आउने योजना बनाएकी छन्। अहिले उनी त्यहीअनुसार तयारी पनि गरिरहेकी छन्। यस्तै, अन्य सामाजिक कार्य गर्ने उनको लक्ष्य छ। अहिले पनि समाजमा धेरै असमानता छ। समाजमा धेरै विभेद छ। नेपाली समाजमा जात, लिंग र वर्गका हिसाबले पनि धेरै असमानता छ।

    थापालाई पनि समाजमा काम गर्न धेरै रुचाउँछिन्। यसलाई चिर्नका लागि उनी लागिपर्ने बताउँछिन्। ‘आउँदा दिनमा पनि म समाजको सेवा गर्ने सोचमै छु’, उनी भन्छिन्, ‘समाजमा धेरै द्वन्द्व छ। म परामर्शदाता भएकाले पनि धेरै द्वन्द्वलाई नजिकबाट बुझेकी छु। यहाँ धेरै सामाजिक कथा भेटिन्छ। त्यसलाई अहिले थिएटरको माध्यमबाट बाहिर ल्याउनेछु। त्यहाँ धेरै इमोसन हुन्छ। त्यसलाई कन्ट्रोल गर्नुपर्छ। मैले थिएटरको माध्यमबाट इमोसन पोख्ने ठाउँ पाएकी छु। थिएटर मेरो थेरापी भएको छ। यो एकअर्कासँग सम्बन्धित छ।’

    समाजमा अहिले पनि कथन छ, दुईवटा डुंगामा खुट्टा राख्यो भने गन्तव्यमा पुगिँदैन। उनलाई पनि यही प्रश्न दोहोरिने गर्छ। उनी त झनै चारवटा डुंगामा खुट्टा टेकेकी छन्। उनी समाजसेवा, रंगमंच, कानुनी क्षेत्रसँगै शिक्षण पेसामा छन्। उनलाई धेरैले सबैतिर हात हाल्दा सफल हुन गाह्रो हुँदैन भनेर प्रश्न गर्ने गरेका छन्। तर उनी आफू भने नयाँ इतिहास बनाउन चाहन्छिन्। भन्छिन्, ‘दुईवटा डुंगामा खुट्टा राखेर सफल भइन्छ भनेर धेरैले प्रश्न गर्ने गर्छन् तर अहिलेसम्म सफल भएका छैनन् भने म सफल भएर देखाउँछु। इतिहास बनाउँछु।’

चिरञ्जिबी घिमिरे

पत्रकार घिमिरे थाहाखबरका लागि राजनीति, साहित्य र समाजबारे लेख्छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]