बाकसबारे सिडियो भन्छन्, म बुझुँला

|

उदयपुर : जिल्ला मालपोत कार्यालय उदयपुरमा रहेका ५४ वर्ष पुराना फलामे बाकसअझै खोलिएका छैनन्। सदरमुकाम उदयपुरगढी हुँदा राजस्व जम्मा गर्ने फलामे सेभ भनिने बाकस सदरमुकाम गाईघाट आएको ५४ वर्ष पुग्दा पनि नखोलिएको हो।

२०२८ साल जेठ ८ गते आइतबार उदयपुरगढीबाट गाईघाट सदरमुकाम सरेको अहिले ५४ वर्ष पुगिसकेको छ। त्यसैवेला भरिया लगाएर बोकाई ल्याइएको बाकस नखोलिएको कार्यालय एक कार्यालय सहयोगीले बताए। ‘यहाँ मालपोत अड्डा आएपछि बोकेर यहाँ ल्याएको बाकस अझै खोलिएको छैन,’ उनले भने, ‘एउटा बाकस अफिसबाहिर छ। अर्को गोदाममा छ। ती बाकसमा के छ, कसैलाई थाहा छैन।’

कार्यालयका सूचना अधिकारी केशव आचार्यले बाकसबारे आफूलाई विस्तृत थाहा नभए पनि बाकस जतनका साथ राखेको जानकारी दिए। ‘गाईघाट सदरमुकाम आएको आधा शताब्दी भइसक्यो। त्यसवेला ल्याएको बाकस अझै खोलिएका छैनन् सुरक्षित छन्,’ उनले भने, ‘जे भए पनि त्यहीँ सुरक्षति छ, हामीले जतनासाथ राखेका छौँ।’

२०२८ साल अगाडि उदयपुरको सदरमुकाम हालको उदयपुरगढी गाउँपालिका-५ मा पर्ने गाउँपालिका केन्द्र रहेकै ठाउँमा थियो। त्यस ठाउँलाई अहिले उदयपुरगढी भनिन्छ। उदयपुर जिल्लाको तत्कालीन सदरमुकाम उदयपुरगढीबाट पूर्वी क्षेत्रमा पञ्चायती अगुवाहरूले सदरमुकाम सारेका थिए। त्यही सदरमुकाम गाईघाट ल्याउँदासँगै ल्याइएको ऐतिहासिक बाकस अझै नखोलिएको तत्कालीन मालपोत कार्यालय सहयोगी (७४ वर्षे) डम्बरबहादुर विकले बताए। ‘मैले उदयपुरगढीमा मालपोत अड्डा हुँदा विस २०२५ साल अन्तिमबाट कार्यालय सहयोगीमा जागिर पाएको थिएँ।’ 

उदयपुरगढी गाउँपालिका-२ धमलटार घर बताउने विकले भने, ‘मालपोत अड्डा गाईघाट आएदेखि यो बाकस खोले रे भन्ने सुनेको छैन, उदयपुरगढीमा हुँदा यो बाकसमा मालपोतमा आउने राजश्व संकलन गरिन्थ्यो‍।’ मालपोटमा अड्डामा उठेको पैसा बाकसमा हालेर राखिन्थ्यो। मालपोत गाईघाट सर्दा अन्य विभिन्न कार्यालय समेतसँगै ल्याइएको थियो। गाईघाट क्षेत्रका स्थानीयले बोकेर रातरात सदरमुकाम सारेका थिए। ‘म कार्यालय सहयोगी भएका समयमा मालपोत सरेको हो,’ उनले भने,‘अझै पनि मलाई याद छ, छापामार शैलीमा यताबाट मान्छेहरू गएर बाकस ल्याएका थिए।’अड्डा सरेपछि मलाई पनि जागिरबाट हटाइयो, उनले पुन: भने।

गाईघाटवासी अगुवाको राजनीतिक शक्ति र केन्द्रमा पहुँच बढ्दै गएपछि सदरमुका सारिएको थियो। त्यसैवेला आएका विभिन्न कार्यालयका कति सामान थिए, कहाँ कहाँ पुगे भन्ने लेखाजोखा कतै छैन। मालपोत कार्यालयका प्रमुख नवराज खड्काले कसरी खोज्ने, के गरी खोल्ने जानकारी नभएको बताए। ‘मभन्दा पहिले पनि धेरै कार्यालय प्रमुखहरूआए, गए कसैले पनि थाहा पाएन, थाहा पाए पनि मलाई जानकारी छैन,’ उनले भने, ‘यो अड्डा सरेसँगै आएको बाकसमा के छ, त्यो हामीलाई पनि थाहा छैन, सुरक्षितसाथ राखेका छौँ।’

बाकसबारे यसो भन्छन् सिडियो

उदयपुरबारे विभिन्न पुस्तकमा प्रकाशन भएकाे जानकारीअनुसार तत्कालीन पृथ्वीनारायण शाहले बृहत्त नेपाललाई काठमाडौं उपत्यकाभन्दा बाहिरका १२ क्षेत्रमा विभाजन गरेका थिए। त्यसवेला नै उदयपुरको चौदण्डीगढी विशेष ठाउँ मानिन्थ्यो। चौदण्डीबाटै जिल्लाको प्रशासनिक केन्द्र सञ्चालन हुन्थ्याे। वि.सं. १८७२ मंसिरभन्दा अगाडिको कालखण्डमा उदयपुरको सदरमुकाम चौदण्डीगढी नै थियो।

पृथ्वीनारायण शाहले एकीकरणका वेला उदयपुरको चौदण्डीगढीलाई छाडेर उदयपुरगढीलाई मान्यता दिएकाले उदयपुर जिल्ला कायम गरेको पुष्टि विभिन्न पुस्तकहरुमा भेटिन्छ। गढीलाई उदयपुर जिल्लाको सदरमुकामका रूपमा १८७२ मंसिरमै सरकारी मान्यता दिइएको थियो। अनि १८७२ मंसिरदेखि २०२८ साल जेठसम्म उदयपुरगढीमा उदयपुरको सदरमुकाम थियो।

२०० वर्षसम्म उदयपुरको सदरमुकाम उदयपुरगढीमा नै थियो। त्यही २०० वर्षसम्म राजस्व संकलन गर्ने पुरानो बाकस मालपोत कार्यालयमा बेवारिसे बनेको उदयपुरका बुढापाकाहरुको भनाइ छ। उदयपुरका प्रमुख जिल्ला अधिकारीले ५४ वर्षे पुरानो बाकसभन्दा अचम्म मान्दै त्यसलाई खोल्ने प्रक्रिया थाल्ने बताए। ‘त्यस्ता पुराना सामानहरू खोल्न, हेर्न केही सरकारी प्रक्रिया छन्,’ उनले भने, ‘यसबारे म बुझाैँला।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.