|

रौतहट  : भनिन्छ बगरमा केही उत्पादन हुँदैन। बर्खामा खेतमा खोला पस्यो भने अब केही उत्पादन हुँदैन भनेर किसान चिन्तित हुन्छन्। तर, रौतहटका किसानले भने बगरमा खेती गर्न सुरु गरेका छन्। 

बागमती नदीको बगरलाई सदुपयोगमा ल्याएर रौतहटका किसानहरूले तरबुजा खेती सुरु गरेका छन्। बागमती नदीले पुरेर बगर बनाएको खेतमा विभिन्न किसिमका तरकारी तथा तरबुजा फलाएर किसानहरूले मनग्य आम्दानी गर्न थालेका छन्। वर्षामा सधैँ बाढी बग्ने बगरमा हिउँदमा भने तरकारी खेतीबाट त्यहाँका किसानहरूले प्रसस्त आम्दानी लिँदै आएका छन्। 

गढीमाई नगरपालिका–१ समनपुरमा दुई दाजुभाई मिलेर सोही बगर भाडामा लिएर तरकारी खेती गर्दै आएका छन्। प्रति कठ्ठा पाँच सयको दरले पाँच बिगा बगर खेत भाडामा लिएर उनीहरू विभिन्न प्रकारका तरकारी खेती, खरबुजा तथा तरबुजा खेती गर्नतर्फ आकर्षित भएका छन्। आफ्नो जमिन नभएका नन्दकिशोर र विजय सहनीले बगरमा खेती सुरु गरेका हुन्।

गर्मीको मौसममा तरबुजाको धेरै माग हुने भएकोले आधा क्षेत्रमा तरबुजा खेती गरेको दाजु नन्दकिशोरले थाहाखबरलाई बताए। बगर मै मोटर गाडेर खेती गरेका सहनीले अहिलेसम्म करिब तीन लाख रुपैयाँभन्दा बढी लगानी गरेको बताएका छन्। गत असोज महिनामा रोपेको तरबुजा केही टिप्ने बेला भएको र जेठसम्म फलिरहने सहनी बताउँछन्। 

तरबुजा गर्मीमा एकदमै बिक्री हुने फलफूल हो। बगरमा उत्पादन गरेको तरबुजा जिल्लाको समनपुर, चन्द्रनिगाहपुर, गरुडा, गौरलगायतका बजारहरूमा बिक्री गर्न लैजाने उनका भाई विजय सहनीले जानकारी दिए। सो बगरमा लौका, गोलभेँडा, बोडी खोर्सानीलगायतका तरकारीहरू उत्पादन गर्ने गरेको सहनी बताउँछन्। 

यसरी आफ्नै लगानीमा बगरमा तरकारी उत्पादन गर्ने लक्ष्यका साथ काम गरेको भएता पनि अहिलेसम्म कुनै पनि निकायले कुनै सहयोग नगरेको विजय सहनीले बताएका छन्। बिउ–वीजनदेखि सिँचाइमा समेत कुनै पनि निकायले सहयोग नगरेको सहनीको गुनासो छ। भन्छन्,‘कसैले सहयोग गरेनन्, आफ्नै बलले काम थालियो।’

तरकारी रोप्ने, फलाउने प्राविधिक रूपमा कृषि विज्ञहरूले सहयोग नगर्दा आफूहरूले घाटाको काम गर्नु परेको उनीहरूको भनाइ छ। कृषि विज्ञहरूसँग सुझाव माग्दासमेत बेवास्ता गरेको कारण यसपालीको तरकारी खेतीमा घाटा व्यहोर्नुपरेको सहनीद्वयले बताए।  यस वर्ष बढी चिसो मौसमले बिरुवामा रोग लागेपछि उत्पादन घटेको उनीहरूले बताए।

अन्य स्थानमा जिल्ला कृषि विकास कार्यालय, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले लगानी गरेर यस्ता खेती गरेको भए पनि सहनीद्वयले आफ्नै लगानीमा बालुवामा पैसा फलाएका हुन्। रौतहटको बागमती नदी, चाँदी नदी, लाल बकैया नदीका बगरहरूमा किसानहरूले यसरी विभिन्न प्रजातिका तरकारी खरबुजा, तरबुजा, काँक्रोलगायत उत्पादन गरेर मनग्य आम्दानी गर्न थालेका छन्।

केही बगरहरूमा केरा खेतीसमेत गर्दै आएका छन्। वर्षाभरि खोला हिँड्ने जमिनलाई सदुपयोगमा ल्याएर तरकारी उत्पादन गर्ने किसानलाई सम्बन्धित निकायले प्राविधिक, बिउ–वीजन तथा बिमाको सुबिधा उपलब्ध गराउनुपर्ने स्थानीय सरोकारवाला किसान भरत आचार्यले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.