|

ओखलढुंगा : जिल्लाको चम्पादेवी गाउँपालिकाले मोटरसाइकल खरिदका लागि विनियोजन गरेको रकमले स्वास्थ्य केन्द्रसम्म पुग्ने तीन किलोमिटर सडक निर्माण गरिएको छ। चम्पादेवी गाउँपालिका-७ का वडाअध्यक्ष सुरेश थापाले कार्यालय व्यवस्थापनका लागि गाउँपालिकाबाट विनियोजित बजेटबाट स्वास्थ केन्द्र पुग्ने तीन किलोमिटर बाटो निर्माण गरेका हुन्।

वडा अध्यक्षको सहजताका लागि गाउँपालिकाले मोटरसाइकल किन्न पाँच लाख रुपैयाँ बजेट बिनियोजन थियो। तर, उनले सो बजेटबाट आफ्नो वडामा रहेको स्वास्थ्य केन्द्रसम्म पुग्ने बाटो निर्माण गरेका हुन्। ‘स्वास्थ्य केन्द्रसम्म पुग्ने बाटो थिएन मोटर साइकलभन्दा सर्वसाधारणको स्वास्थ्य ठूलो भएकोले मोटरसाइकलको बजेट बाटोमै खर्च गरेको हुँ,’ वडा अध्यक्ष थापाले भने।

साविकको फूलबारी गाविस हाल चम्पादेवी गाउँपालिका-६ र ७ भएकाले ७ नं. वडामा स्वास्थ्य चौकी नभएपछि स्वास्थ्य केन्द्र स्थापना गर्नसमेत थापाले जग्गा व्यवस्थापन र भवन निर्माणका काममा अगुवाइ गरेका थिए। ‘फूलबारीमा स्वास्थ्य केन्द्र स्थापनापछि आफू जनप्रतिनिधि भएपछि अगुवाइ त गर्नु स्वाभाविक भयो तर त्यहाँसम्म सडक थिएन वृद्धवृद्धा, महिला र बालबालिकालाई ध्यान दिएर सडक निर्माण गरिएको हो,’ उनले भने।

आफू मोटरसाइकल चढ्नुभन्दा पनि गर्भवती महिलालाई स्वास्थ्य संस्थामा छिटो र सहजै पुर्‍याउन सकेमा जनतालाई राहत हुने थापाको भनाइ छ। चम्पादेवीका अन्य वडाले भने उक्त रकम सवारीसाधनमै खरिदमा खर्च गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.