|
फाइल फाेटाे

काठमाडाैं : विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियानलाई सफल बनाउन प्रभावशाली संयन्त्र बनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रदेश सरकारसँग आग्रह गरेका छन्। 

मन्त्री पोखरेलले आइतबार सबै प्रदेशका सामाजिक विकासमन्त्रीहरूसँग काठमाडौंमा सामूहिक छलफल गरी अभियानलाई सफल बनाउन आवश्यक संयन्त्र निर्माण गर्न पनि आग्रह गरेका छन्।

शिक्षा मन्त्रालयमा भएको छलफलमा मन्त्रीले अभियानलाई सफल बनाउन सबै प्रदेशले आफू मातहतका सबै जनप्रतिनिधि, राष्ट्रिय जीवनका व्यक्तित्व, नागरिक समाजका अगुवालाई परिचालन गर्न पनि गम्भीर ध्यानाकर्षण गराए। देशभरका सबै विद्यार्थीलाई विद्यालय पहुँचमा पुर्‍याउने उद्देश्यका साथ सरकारले आगामी बैशाख २ गतेदेखि विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक अभियान संचालन गरिँदै छ। सोही अभियानलाई सफल बनाउन मन्त्री पोखरेलले सम्बन्धित प्रदेशका सामाजिक विकासमन्त्रीहरूसँग सामूहिक छलफल गर्दै सबै विद्यार्थीलाई विद्यालयको पहुँचमा ल्याउन अभियान संचालन गर्न लागिएको पनि स्पष्ट पारे।

मन्त्री पोखरेलले एक वर्षभित्र अनिवार्य शिक्षा ऐन निर्माण गरी विद्यालय नपठाउने अभिभावकलाई समेत कारवाही गर्ने कानुनी व्यवस्था गर्ने चेतावनी पनि दिए। सरकारले पाँच महिनाभित्र संघीय शिक्षा ऐन निर्माण गर्ने योजना पनि बनाएको छ। मन्त्री पोखरेलले संवैधानिक व्यवस्थाअनुसार सबै तहको अधिकार र कर्तव्य स्पष्ट उल्लेख हुनेगरी संघीय शिक्षा ऐन निर्माण हुने पनि स्मरण गराए।

कार्यक्रममा बोल्दै प्रदेशका सामाजिक विकासमन्त्रीहरूले जनशक्तिको उचित व्यवस्थापन गरेर शैक्षिक अभियानलाई प्रभावकारी बनाउन सुझाव दिए। प्रदेश ७ का सामाजिक विकासमन्त्री दीर्घ सोडारीले जनशक्ति व्यवस्थापन नभई सरकारले तय गरेका अभियानलाई संचालन गर्न कठिनाइ हुनेतर्फ मन्त्री पोखरेलको गम्भीर ध्यानाकर्षण गराए।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दलबहादुर रावलले मुलुक संघीय शासनमा प्रवेश गरे पनि सोहीअनुसार प्रशासनिक संयन्त्र बनाउन ढिलाइ गर्न नहुनेमा जोड दिए। प्रदेशका सामाजिक विकासमन्त्रीहरूले शैक्षिक क्षेत्रको उत्थानका लागि आवश्यक बजेटको व्यवस्था गर्न पनि मन्त्री पोखरेलसँग आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.