|

रौतहट : रौतहटका आधा दर्जन सामुदायिक वन उपभोक्ता समूहहरूले आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार अनुसन्धान दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। काठ कटान तथा बिक्री वितरणमा आर्थिक अनियमिता गरेको आरोपमा जिल्लाका विभिन्न छवटा सामुदायिक वन उपभोक्ता समूहविरुद्ध आयोगमा उजुरी परेको जिल्ला वन कार्यालय रौतहटले जनाएको छ। 

सामुदायिक वनको संरक्षण गर्ने लक्ष्यका साथ राष्ट्रिय वन समुदायमा हस्तान्तरण गरेको भए तापनि समूहका पदाधिकारीहरूआर्थिक प्रलोभनमा परी अनियमितता कार्यमा लागेपछि स्थानीयवासी अख्तियार सामु गएका हुन्। रौतहटकै सबैभन्दा पुरानो सामुदायिक वनको रूपमा स्थापित चन्द्रपुर नगरपालिका- १० मा रहेको खुरकुटी सामुदायिक वन उपभोक्ता समूहमाथि पनि अख्तियारमा उजुरी परेको छ। 

समितिका अध्यक्ष शंकर थापासहित अहिलेको २४ जनाको समिति र पूर्व अध्यक्ष गंगा साहसहित २५ जनाविरुद्ध खोरकुटी सामुदायिक वन उपभोक्ता समितिको सम्पत्ति हिनामिना गरेको आरोपमा अख्तियारमा उजुरी परेको हो। चेतनगर विर्ता समितिका अध्यक्ष थापाले समितिका नाममा रहेको एम्बुलेन्सबाट आएको रकम हिनामिना गरेको आरोप पनि लागेको छ। अध्यक्ष थापाले एम्बुलेन्स मात्रै नभएर काठ बिक्रीबाट आएको लाखौँ रकम पनि हिनामिना गरेको स्थानीयको आरोप छ। 

खोरकुटी सामुदायिक वन उपभोक्ता समितिको विगत पाँच वर्षदेखिको हिसाबकिताबसमेत नराखिएको, कार्ययोजना र विधान संशोधनसमेत आफ्नै ढंगले गरिएको स्थानीयले बताए। उक्त सामुदायिक वनका अध्यक्ष शंकर थापाले भने यी सबै आरोप मात्र भएको बताए। समितिको एम्बुलेन्सले ठक्कर दिँदा एक जनाको ज्यान गएपछि एम्बुलेन्सको आम्दानी रकम उपचारमा खर्च भएको उनको भनाइ छ। यसैगरी चन्द्रपुर नगरपालिका- २ कलटोलमा रहेको हातीदमार सामुदायिक वन उपभोक्ता समितिमाथि पनि उजुरी परेको छ। समितिका पदाधिकारीहरूले काठ बेचेर लिएको पैसा समितिमा नबुझाएपछि निजहरूमाथि स्थानीयले अख्तियारमा उजुरी गरेका हुन्। 

उक्त समितिका ४७ जनाको बेरुजुमध्ये ३१ जनाले समितिमा पैसा बुझाएको समितिका एक पदाधिकारीले बताए। ३१ जनाबाट करिब एक लाख १३ हजार रुपैयाँ असुल भएको उनी बताउँछन्। यसैगरी चन्द्रपुर नगरपालिका- १ पौराईको जनजागृति महिला सामुदायिक वन उपभोक्ता समितिमाथि पनि अख्तियारमा उजुरी परेको छ। समितिका पदाधिकारीहरूले आर्थिक अनियमिता गरेको भन्दै अख्यिारमा उजुरी परेको जिल्ला वन कार्यालय रौतहटका विकास फाँटका सहायक वन अधिकृत अखिलेश गुप्ताले जानकारी दिए। 

सहायक वन अधिकृत गुप्ताले दिएको जानकारीअनुसार साविक कनकपुर गाविस हाल गुजरा नगरपालिका- ६ मा रहेको अन्जुमन सामुदायिक वन उपभोक्ता समितिमाथि पनि आर्थिक अनियमिता भएको भन्दै उजुरी परेको छ। यसैगरी लालभित्ते सामुदायिक वन उपभोक्ता समितिमा पनि काठ बिक्री वितरण तथा कटानमा व्यापक रूपमा रकम दुरूपयोग गरेको आरोपमा अख्तियारमा उजुरी परेको जिल्ला वन कार्यालय रौतहटले जनाएको छ। उक्त सामुदायिक वनविरुद्ध अख्तियारमा उजुरी परेको भए तापनि भेला गरी यसको नयाँ उपभोक्ता समिति गठन भइसकेको छ। यता, महादेवस्थान सामुदायिक वन उपभोक्ता समितिमाथि उजुरी परेको करिव सात वर्ष बित्दा पनि अझै मुद्दा किनारा लाग्न सकेको छैन। 

अनियमिता भएपछि यो सामुदायिक वनविरुद्ध रौतहटमा पहिलो पटक अख्तियारमा उजुरी दर्ता भएको हो। यी उजुरी परेका सामुदायिक वनहरू प्राय:का कार्ययोजना सकिएका छन्। यता, सामुदायिक वन उपभोक्ता महासंघले भने समितिका पदाधिकारीहरूको अज्ञानताका कारण यस्तो प्रतिफल आएको बताएको छ। 

महासंघका महासचिव कमला ढकालले जुन सामुदायिक वन उपभोक्ता समितिले सामुदायिक वनको मर्मअनुसार काम गर्दैनन्, त्यस्ता सामुदायिक वन मात्र अख्तियारको ढोकामा पुगेको बताएकी छन्। 

समितिका पदाधिकारीहरूले सामुदायिक वनसम्वद्ध नीति नियम नबुझ्दा यस्तो किसिमको समस्या आएकाे महासंघका स्थायी समिति सदस्य ईन्द्र उप्रेतीले बताए। ४३ वटा सामुदायिक वन रहेको रौतहटमा अधिकांश सामुदायिक वन निष्क्रिय छन्। तीनवटा सामुदायिक वनले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमअनुसार काम गर्दै आएका छन्। 

हातेमालो, जनएकता र नमुना सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन गर्ने लक्ष्यका साथ धमाधम रूख काटिँदै आएका छन्। अन्य तीनवटा सामुदामिक वनमा कार्वन उत्सर्जन गर्ने लक्ष्यका साथ योजना भइरहेको जिल्ला वन कार्यालय रौतहटका जिल्ला वन अधिकृत दीर्घनारायण कोइरालाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.